Logo

अब सातै प्रदेशमा सीप विकास तालिम प्रतिष्ठान

वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्कियो : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कोरोना भाइरस महामारीले बिथोलेको वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्केको बताए छन् ।
आइतबार राष्ट्रिय सभामा बिनियोजन विधियक २०७९ को श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेटबारे सांसदहरुले गरेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले पछिल्लो समय वैदेशिक रोजगारी पुरानै लयमा फर्किसकेको उल्लेख गरेका हुन् । वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या पछिल्लो चार वर्ष निरन्तर घटेकोमा यो वर्ष २०७४ सालअघिको अवस्थामा पुगिसकेको मन्त्री श्रेष्ठले जानकारी दिए । वैदेशिक रोजगारीमा श्रमिक पठाउने मुलुकहरुमध्ये महामारीपछि पुरानै लयमा फर्केको देशमध्ये नेपाल अग्रस्थानमा रहेको उनको भनाइ छ ।
ठूलो संख्यामा विप्रेषणमा आश्रित परिवार रहेको र मुलुकको वैदेशिक मुद्रा आर्जनको प्रमुख श्रोत वैदेशिक रोजगारी भएका कारण अब मुलुकको विप्रेषण आप्रवाहमा वृद्धि हुने उनले बताए । आफ्नो कार्यकालमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सेवा प्रवाहलाई ‘लाइनबाट–अनलाइनतर्फ’ रुपान्तरण गरिएको जानकारी दिँदै उनले ठगि नियन्त्रणलाई पनि प्राथमिकता दिइएको बताए । मन्त्री श्रेष्ठले सातै प्रदेशमा सीप विकास तालिम प्रतिष्ठान तथा श्रमिक अस्पताल निर्माणलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए ।

“कोरोना भाइरस महामारीले बिथोलेको वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्कन थालेको कुरा यहाँहरुलाई जानकारी गराउन चाहन्छु” मन्त्री श्रेष्ठले भने, “कोरोना महामारीका कारण धेरैले विदेशमा काम गुमाए भने वैदेशिक रोजगारीमा जाने अवसर पनि पाएका थिएनन् तर पछिल्लो समय वैदेशिक रोजगारी फेरि पुरानै लयमा फर्किसकेको छ ।”
उनले वैदेशिक रोजगारीमा जाने श्रमिकको तथ्यांक हेर्ने हो भने, पछिल्लो चार वर्ष निरन्तर घटेकोमा यो वर्ष २०७४ सालअघिको अवस्थामा पुगिसकेका जनाएका छन् । अघिल्लो वर्ष २ लाखले कमि आएकोमा यो वर्ष ३ लाख ६८ हजारले वृद्धि भएर ५ लाख ३४ हजार बढीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीमा श्रमिक पठाउने मुलुकमध्ये महामारीपछि पुरानै लयमा फर्केको देशमा नेपाल अग्रस्थानमा रहेको उनले बताए ।
उनले मुलुकभित्र उल्लेख्य मात्रामा रोजगारीका अवसरहरूको सिर्जना नभइसकेको वर्तमान अवस्थामा वैदेशिक रोजगारीको माध्यमबाट भएपनि जनताले जीवनस्तरमा सुधार गरिरहेको जनाएका छन् । उनका अनुसार गरिबी निवारण, स्वदेसी अर्थतन्त्र विस्तार, अन्तर्राष्ट्रिय व्यापारजस्ता क्षेत्रमा मुलुकमा भित्रने विप्रेषणले ठूलो भूमिका खेलेको छ ।

प्रतिक्रिया दिनुहोस्