साउदीमा एक्जिट भिसा नाममा अलपत्र श्रमिकसँग लाखौ असुली «

साउदीमा एक्जिट भिसा नाममा अलपत्र श्रमिकसँग लाखौ असुली

Riyadh skyline at night #1, Showing Olaya Street Metro Construction

साउदी अरबमा अलपत्र परेर स्वदेश फर्कने प्रक्रियामा रहेका नेपाली श्रमिकलाई ठग्ने गिरोह नै सक्रिय भएको छ ।
नेपाली दूतावास रियादले एक्जिट भिसा मिलाइ दिने वा सेटिङ गरेर नेपाल पठाइदिने आश्वासन दिएर अलपत्र नेपालीलाई ठगी गर्ने गिरोह सक्रिय रहेको जनाएको छ । गिरोहले एक्जिट भिसा प्रोसेसिङ (वर्हिगमन भिसा प्रक्रिया) मिलाई छिटो नेपाल पठाइदिने जनाउँदै ठगी गर्ने गरेको दूतावासले जनाएको छ । बर्हिगमन भिसा प्रक्रिया निःशुल्क हुने भएपनि गिरोहले लाखौ पैसा असुल्ने गरेको पीडितले गुनासो गरेका छन् । “बर्हिगमन भिसा प्रक्रियाका लागि बापत एक पैसा पनि कहिँ कतै बुझाउनु पर्दैन” दूतावासले सूचना गरी गर्दै भनेको छ, “एक्जिट भिसा मिलाई दिन दूतावासमा चिनेका मान्छे छ भन्दै पैसा असुली गर्ने व्यक्तिको पछि कदापि नलाग्नु होला ।” त्यसैगरी, दलालले सेटिङ गरेर नेपाल पठाइदिने जनाउँदै अलपत्र श्रमिकबाट पैसा उठाउने थालिएको दूतावासले जनाएको छ ।
दूतावासले आफनै कार्यालय वा महावाणिज्यदूतावासले श्रमिकको एक्जिट भिसा प्रोसेसिङ गरिदिने जनाउँदै ठगीमा नपर्न सचेत समेत गराएको छ । तर एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ । दूतावासले इकामाको म्याद सकिएको ३ महिना भन्दा बढि भइसकेको वा साउदी आएको ३ महिना भन्दा बढि समयसम्म पनि कम्पनीले इकामा नबनाइदिएको तथा कम्पनीले हुरूब लगाइदिएको अवस्थामा वर्गिगमन भिसा जारी गरेर फर्कन सकिने जनाइएको छ । तर इकामाको म्याद भएकाहरूको एक्जिट भिसा प्रोसेसिङ दूतावासबाट गर्न नमिल्ने जनाइएको छ । त्यसैगरी, जुन ठाउँबाट आफ्नो इकाममा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयमा मात्र एक्जिट भिसाको लागि प्रोसेसिङ गर्नुपर्ने साउदी नियम छ ।

साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नवनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएकामध्ये हालसम्म लगभग ४०० सय नेपालीलाई दूतावासले नेपाल फर्काएको छ । साउदीस्थित नेपाली दूतावासले जुन महिनामा १८६ र मेमा २११ नेपाली स्वदेश फर्किएको जनाएको छ । वैदेशिक रोजगार विभागले सार्वजानिक गरे पछिल्लो प्रगती विवरणमा समेत साउदी अरबबाट धेरै नेपालीलाई उद्धार गर्नु गरेको जनाएको छ । विभागका महानिर्देशक शेषनारायण पौडेलले यो विगत ११ महिनामा सबै भन्दा बढी साउदी अरबबाट उद्धारको लागि उजुरी आएको जनाएका छन् । दूतावासले एक्जिट भिसा अनुमति पाएका श्रमिकले अनुमति पाएको ६० दिन भित्र अनिवार्य रूपमा साउदी अरब छोड्नु पर्ने जनाएको छ ।
रोजगारीका लागि अरब साउदी जाने युवासँग म्यानपावर र एजेण्टले चर्को सेवा शुल्क र सम्झौता विपरित काममा पठाएपछि पल्लिो समय त्यहाँ अलपत्र पर्ने श्रमिकको संख्या हजारौं पुगेको छ । यसअघि नै साउदीस्थित नेपाली दूतावासले पछिल्ला दिनमा साउदी अरबमा रोजगारीमा आएका उल्लेख्य संख्याका नेपाली युवालाई म्यानपावर र एजेण्टले तोकिएको शर्त पालना नगरी काममा पठाएको जनाएको थियो । दूतावासले रोजगारीका लागि त्यहाँ गएका युवाले काम र तलब नपाएको, तोकिए भन्दा बढी पैसा तिरेर गएको जनाउँदै युवाले दःुख पाएको गुनासाहरु आएको जनाएको छ ।
आफ्नै चिनजानका मानिस एजेन्ट बनेर ठगी गरेका घटनाहरू पनि धेरै देखिएका दूतावासको भनाइ छ । नेपाल सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउन एजेण्टको भूमिकालाई गैरकानूनी मानेको भएपनि पछिल्लो समय समुह नै बनाएर युवासँग करोडौ असुलेको पाइएको छ । साउदी जाने युवामा ठगीका घटना बढ्न थालेपछि दूतावासले एजेण्टको पछि नलाग्न अनुरोध गर्दै राम्रा म्यानपावर कम्पनीमार्पmत प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ । विदेशी श्रमिक लैजान साउदी रोजगारदाताले ठूलो धनराशी खर्च गर्ने भएकाले रोजगारदाताले करार सम्झौता नसकी स्वदेश फर्कन अनुमति दिने गरेको छैन ।
नेपाल सरकारले साउदी अरबमा आउने नेपाली कामदारका विभिन्न पदका लागि पद अनुसारको पारिश्रमिकको व्यवस्था गरेको छ । जसअनुसार अदक्ष कामदारका लागि न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल १ हजार र खाना सुविधा वापत साउदी रियाल ३ सय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्