‘नेपाल–भारत सम्बन्ध राजनीतिक कारणले बिग्रिनु हुँदैन’ «

‘नेपाल–भारत सम्बन्ध राजनीतिक कारणले बिग्रिनु हुँदैन’

बदलिँदो राजनीतिक परिस्थितिमा नेपाल र भारतबीचको जनस्तरको सम्बन्ध सुदृढ बनाइराख्न चनाखो हुनुपर्ने नेपाल–भारत सीमाञ्चलका सरोकारवालाहरुले जोड दिएका छन् । मिडिया फोर बर्डर हार्मोनी नामक संस्थाले आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा भारत नेपाल सम्बन्ध, चुनौती एवं निदान’ विषयक नेपाल–भारत गोष्ठीमा बोल्ने वक्ताहरुले नेपाल र भारतबीच सदियौंदेखिको सम्बन्ध रही आएकोले राजनीतिक कारण अथवा विश्वमा बदलिएको परिस्थितिले नेपाल र भारतका जनस्तरको सम्बन्धलाई कमजोर हुन दिन नहुने बताएका हुन् ।

भारतको बिहार राज्यको वैशाली जिल्लामा रहेको ऐतिहासिक पर्यटकीय स्थल वैशाली गढको थाई अतिथि सदनमा शनिबार आयोजना गरिएको कार्यक्रममा भारतका सांसद तथा पूर्व केन्द्रीय मन्त्री अखिलेशप्रसाद सिंहले १७ किलोमिटरभन्दा लामो नेपाल र भारतको खुल्ला सिमाना दुई देशबीचको विशिष्ट र अभिन्न सम्बन्ध रहेको बताए । नेपाल र भारतको सीमामा कहिलेकाहीँ असहज परिस्थिति आउने गरेकोमा त्यसलाई विवेकपूर्ण ढंगले समाधान गर्नुपर्ने बताए । उनले दुई देशको सरकारस्तरको सम्बन्ध र जनताबीचको सम्बन्ध खल्बलिन नदिन नेपाल र भारतबीचको सम्बन्धलाई मजबुद बनाउन आवश्यकता रहेको बताए ।
भारतका अर्का सांसद अजय निषादले नेपाल र भारतको सम्बन्धलाई बलियो र प्रगाढ बनाइराख्न नागरिक समाजले अहम भूमिका निर्वाह गरेको भन्दै औपचारिक सम्बन्धहरुका बीच जनस्तरीय अन्तरक्रिया र संवादले पनि थप सद्भाव कायम राख्न सहयोग पुग्ने बताए ।
नेपालबाट प्रतिनिधित्व गरेका लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका मधेस प्रदेशका संसदीय दलका नेता एवं पूर्वमन्त्री जितेन्द्र सोनलले नेपाल र भारतबीच विश्वनाथ र पशुपतिनाथ, राम र सीताको प्राचीन कालदेखिको सम्बन्ध नयाँ र बदलिँदो कालखण्डमा पनि अझ प्रगाढ बनाउदै लैजान आवश्यक रहेको बताए । यस्तो विशिष्ठ सम्बन्धलाई जोगाउन राज्य, समाज र जनता सबैको साझा कर्तब्य रहेको उनको भनाइ थियो । सो अवसरमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ दास र होटल तथा पर्यटन ब्यवसायी संघ, वीरगन्जका अध्यक्ष हरि पन्तलाई नेपाल भारत अन्तराष्ट्रिय मैत्री सम्मानबाट सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्