स्थानीय निर्वाचनमा गठबन्धनले राम्रो परिणाम दिएको छ : नेपाल «

स्थानीय निर्वाचनमा गठबन्धनले राम्रो परिणाम दिएको छ : नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा गठबन्धनले राम्रो परिणाम दिएको बताएका छन् । अखिल नेपाल महिला संघ (समाजवादी)को तेस्रो पूर्ण बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले भने, ‘निर्वाचनमा गठबन्धन आवश्यक थियो, त्यसले राम्रो परिणाम दिएको छ, कहीँकतै समस्या भए होलान्, त्यसलाई आगामी दिनमा व्यवस्थापन गरेर जानुपर्छ, पार्टी सही ढंगले चलेन भने के हुन्छ?’
आफूहरूलाई कमजोर नठान्न आग्रह गर्दै उनले भने, ‘हामीले पार्टी विभाजनको छोटो समयमा धेरै काम गरेका छौँ, पार्टीलाई विधान र विधिमा चलाएका छौँ । सामूहिक छलफल र निर्णयका आधारमा पार्टी चलेको छ ।’ अध्यक्ष नेपालले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) जस्ताको तेस्तै पास हुनबाट आफ्नो पार्टीले रोकेको दाबी गरे । ‘केही पार्टी एमसिसी जस्ताको तस्तै पास गर्ने पक्षमा थिए । हामीले विद्रोह गरेर नयाँ पार्टी बनाएपछि त्यसको विरोध ग¥यौं । माओवादी पनि विपक्षमा उभियो,’ उनले भने, ‘हाम्रो अडानले ब्याख्यात्मक घोषणा गरेर पास गर्न सफल भयौं ।’

अध्यक्ष नेपालले कम्युनिस्ट पार्टी जोगाउन र संविधानको रक्षा गर्न तत्कालीन नेकपा (एमाले)बाट विद्रोह गरेको बताए । समाजको वर्गीय दृष्टिलाई सही ढङ्गले बुझ्नु आवश्यक रहेको बताउँदै अध्यक्ष नेपालले समाजमा भएका महिला हिंसाका घटनाका विरोधमा अनेमसंघ सक्रिय हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्