सेयर कारोबारमा ‘एओएन’ हट्ने «

सेयर कारोबारमा ‘एओएन’ हट्ने

नेपाल धितोपत्र बोर्डले सेयर खरिद तथा बिक्रीमा अल और नन् (एओएन) सम्बन्धी व्यवस्था हटाउने भएको छ । सेयर बजार घटेको विरुद्ध आन्दोलित पुँजी बजार संघर्ष समिति र धितोपत्र बोर्डबीच आइतबार भएको कार्यान्वयन समितिको पहिलो बैठकमा भएको सहमतिबमोजिम एओएनको व्यवस्था हटाइने धितोपत्र बोर्डले जनाएको छ ।
हाल सेयर बिक्रीमा अल और नन्को व्यवस्था रहेको छ । यसै व्यवस्थाका कारण सेयर बजार निरन्तर घटिरहेको आन्दोलनकारीको भनाइ छ । साथै, उपत्यका बाहिर शाखा कार्यालय खोल्न पूर्वाधार तयार गरेर बसेका ब्रोकरहरुलाई तत्कालै शाखा खोल्न अनुमति दिने निर्णय भएको पनि बोर्डले जनाएको छ ।


आगामी साताबाट लगानीकर्ताले अघि सारेका १९ बुँदे मागलाई कार्यतालिका बनाएरै कार्यान्वयन गर्दै अघि बढ्ने समझदारी गर्दै आइतबारको बैठकले पुँजी बजार सम्वद्ध विषयहरुमा नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डबीच निरन्तर समन्वय गर्दै जाने वातावरण बनाउने पनि जनाएको छ ।
सम्झौतासंगै तीन सातादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक आइतबार उच्च अंकले वृद्धि भएको छ ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ९४.९२ अंक बढेर १९५६.९८ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १७.९३ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ६.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.६६ अंकले बढेको छ ।
आइतबार कारोबारमा आएका २३० कम्पनीको ६३ लाख ६३ हजार कित्ता सेयर २ अर्ब १९ करोड ६१ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आइतबार नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधार भएको छ । अघिल्ला कारोबारहरुमा १ अर्ब बराबरको कारोबार हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्