मध्यनेपाल नगरपालिकाको बजेट चालू आवभन्दा चार करोड बढी «

मध्यनेपाल नगरपालिकाको बजेट चालू आवभन्दा चार करोड बढी

लमजुङको मध्यनेपाल नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको तुलनामा झण्डै चार करोड बढी बजेट विनियोजन गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको भन्दा तीन करोड ९९ लाख ६० हजार रुपैयाँ बढी बजेट सार्वजनिक गरेको हो ।
मध्यनेपाल नगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षका लागि ७१ करोड ८७ लाख ६९ हजार रुपैयाँ बराबरको बजेट पास गरेको हो । गतवर्ष नगरपालिकाले चालू आर्थिक वर्षका लागि ६७ करोड ८८ लाख नौ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । नगरसभामा प्रस्तुत बजेटअनुसार आगामी आर्थिक वर्षका लागि वडाहरूको समानुपातिक विकासका लागि एक करोड, संघीय सरकारबाट प्राप्त समपूरक आयोजनाका लागि दुई करोड ७५ लाख रुपैयाँ विनियोजन भएको छ ।
सोबाहेक नगरपालिकाले वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ ५० लाख, शिक्षा र स्वास्थ्य स्वास्थ्यसहित समग्र सामाजिक विकासतर्फ दुई करोड ६६ लाख, समग्र नगरको आर्थिक विकासको क्षेत्रका लागि १५ लाख विनियोजन भएको छ । यसैगरी ४० हजारसम्मका फुटकर आयोजनाका लागि १६ लाख रुपैयाँ विनियोजन भएको छ ।
मध्यनेपाल नगरपालिकाले पूर्वाधार विकासतर्फ समपूरक कोषसहित १० करोड ६८ लाख ३१ हजार विनियोजन गरेको छ । संस्थागत सुधार सेवाप्रवाह र सुशासन तथा क्षमता विकासतर्फ आर्थिक सहयोगको ४० लाखसहित ७१ लाख विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले संघीय सरकार सशर्त कार्यक्रमतर्फ सामाजिक सुरक्षाभत्ता सहित ४० करोड ९७ लाख सशर्त शीर्षकहरूमा नै राखेको छ । वडा कार्यालयसहित सम्पूर्ण प्रशासनिक खर्चतर्फ आठ करोड ६४ लाख ३८ हजार विनियोजन भएको छ ।
नेपाल सरकार विशेष कार्यक्रमको अनुदान एक करोड ७० लाख सोही शीर्षकमा राखेको नगरपालिकाले जनाएको छ भने आगामी आर्थिक वर्षमा सवारी साधन खरिदतर्फ ७० लाख विनियोजन भएको छ ।
नगरपालिले मातहतका कर्मचारीको मनोबल बढाई सार्वजनिक सेवालाई थप प्रभावकारी बनाउन नगर कार्यपालिका कार्यालय र वडा कार्यालयमा कार्यरत सम्पूर्ण जनप्रतिनिधरु र कर्मचारीहरुलाई दुर्घटना बिमा र स्वास्थ्य बिमा प्रिमियमवापतको रकम नगरपालिकाले बेहोर्ने व्यवस्था मिलाएको छ । सोबाहेक आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुनेगरी नगरपालिका मातहतका कर्मचारीको सुरु तलबमा १५ प्रतिशतले वृद्धि गरेको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि आयतर्फ संघतर्फको समानीकरण अनुदानबाट ११ करोड तीन लाख, राजस्व बाँडफाँड अनुदान आठ करोड ७२ लाख १७ हजार, सशर्त अनुदान ३० करोड ९७ लाख, विशेष अनुदान एक करोड ७० लाख, समपूरक अनुदान दुई करोड ७५ लाख अनुमान गरेको छ ।
त्यसैगरी प्रदेश सरकार समानीकरण अनुदान एक करोड २४ लाख ४८ हजार, सवारी साधन कर बाँडफाँट एक करोड ७१ लाख चार हजार, विशेष अनुदान, ५० लाख, समपूरक अनुदान ५० लाख, आन्तरिक राजस्व एक करोड २५ लाख अनुमान गरेको छ । नेपाल सरकार सामाजिक सुरक्षाअन्तर्गत १० करोड आयहुने अनुमान गरेको नगरपालिकाले बैंक मौज्जादमात्रै पनि एक करोड ५० लाख रहेको जनाएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कृषि, स्वास्थ्य, शिक्षा आर्थिक, सामाजिक र पूर्वाधार विकाससँगै वन वातावरण र विपद् व्यवस्थापन, संस्थागत विकास र सेवाप्रवाह, वित्तीय व्यवस्थापन र सुशासनलाई प्राथमिकतामा राखेर आगामि आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको जनाएको छ ।

बेसीसहर नगरपालिकाको बजेट ७५ करोड ५३ लाख
लमजुङ सदरमुकामसमेत रहेको बेसीसहर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । शुक्रबार बेसीसहरस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित नगरसभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।
बेसीसहर नगरपालिका प्रमुख गुमानसिँह अर्यालको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख पद्मा गुरुङले नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षका लागि अनुमानित आयव्यय विवरण प्रस्तुत गरेकी हुन् । कार्यक्रममा उपप्रमुख गुरुङले आगामी आर्थिक वर्षका लागि ७५ करोड ५३ लाख तीन हजार रुपैयाँ बजेट विनियोजन भएको बताइन् ।
आगामी आर्थिक वर्षका लागि नगरपालिकाले विनियोजन गरेको बजेटअनुसार कुल बजेटको ४३ दशमलव ०३ प्रतिशत बजेट सामाजिक विकासमा खर्च गर्ने प्रस्ताव गरिएको छ । कुल बजेट मध्ये ३४ करोड पाँच लाख रुपैया सामाजिक विकासमा खर्च गर्नेगरी प्रस्ताव गरिएको हो ।
त्यसैगरी नगरपालिकाले कुल बजेट मध्ये भौतिक पूर्वाधार विकासतर्फ १८ करोड एक लाख तीन हजार, सँस्थागत विकास र सुशासनका लागि १३ करोड ८३ लाख विनियोजन गरेको छ भने ६ करोड ८० लाख रुपैया आर्थिक विकासतर्फ प्रस्ताव गरिएको छ । त्यसैगरी नगरपालिकाले वातावरण तथा विपद् व्यवस्थापनका लागि दुई करोड ८४ लाख रुपैयाँ नगरसभामा प्रस्ताव भएको छ ।
नगरपालिकाले विनियोजन गरेको बजेटअनुसार चालूतर्फ १७ दशमलव २१ प्रतिशत अर्थात् १३ करोड, पुजिगततर्फ २५ करोड ९४ लाख तीन हजार अर्थात् ३४ दशमलव ३४ प्रतिशतर सशर्ततर्फ २९ करोड नौ लाख अर्थात् ३८ दशमलव ५१ प्रतिशत विनियोजन गरेको छ । सोबाहेक समपूरक, विशेष र अन्यतर्फ ९ दशमलव ९३ प्रतिशत अर्थात् सात करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ ।
बेसीसहर नगरपालिकाले चालू आर्थिक वर्षको तुलनामा ३ दशमलव ९३ प्रतिशतले बढी बजेट विनियोजन गरेको हो । आगामी आर्थिक वर्षका लागि गतवर्षको तुलनामा दुई करोड ८७ लाख ६२ हजार रुपैयाँ बढी विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।
बेसीशहर नगरपालिकाको बजेटअनुसार अनुमानित खर्च बेहोर्ने सशेतमध्ये आठ करोड ५६ लाख ८१ हजार आन्तरिक स्रोत तथा स्थानीय राजस्वबाट बेहोर्ने उल्लेख छ । सोबाहेक संघीय र प्रदेश राजस्व बाडफाँटबाट १३ करोड ५० लाख ७२ हजार, संघ र प्रदेश समानीकरण अनुदानबाट १६ करोड ८६ लाख ५० हजार, संघ र प्रदेश सशर्त, समपूरक र विशेष अनुदानबाट ३६ करोड ५९ लाख बेहोर्ने उल्लेख छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षको व्यय अनुमानसँगै नगरपालिकाको आर्थिक विधेयक २०७९ पनि जारी गरेको छ । गत आर्थिक वर्षको यथार्थ आय र चालू आर्थिक वर्षको प्रस्तावित आय, चालू आर्थिक वर्षको जेठसम्मको यथार्थ आय तथा संशोधित आय अनुमान पनि पेस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्