कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै इलाम नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक «

कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै इलाम नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै इलाम नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । नगरवासीसँग प्रत्यक्ष जोडिएका बिषय भएकाले नगरपालिकाले कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग, वनवातावरण, सामाजिक एवम् आर्थिक विकास र शुसासनलगायत क्षेत्रलाई महत्व दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
११औं नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रमलाई शनिबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो । नगरवासीको जीवनस्तर उकास्दै मुलुकमै नमुना नगरपालिका बनाउन नगरपालिकाको योजना रहेको मेयर केदार थापाले जानकारी दिए । उनले ११औं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रमले नगरवासीका समस्या समाधान र प्रत्यक्ष सरोकारसँग जोडिने खालका कार्यक्रम ल्याएको समेत बताए ।
बिहीबार र शुक्रबार चलेको नगरसभामा उपमेयर विष्णु दाहाल लिम्बुले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पूर्वप्रधानमन्त्री विपी कोइरालाप्रति सम्मानका लागि गरिबसँग महामानव विशेश्वर कृषि विकास कार्यक्रम सञ्चालन गरी कृषि क्षेत्रलाई प्रवद्र्धन गर्ने उदघोष गरिएको छ । यसअन्तर्गत गाईपालन, माछापालन र मौरी पालन साथै चिया, किवी, सुन्तलालगायतका कृषि उत्पादनलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीसँग नाम जोडिएरसमेत नगरवासीलाई फाइदा पुग्ने कार्यक्रम ल्याइएको बताइएको छ ।
पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि नगरको पाटेनागीसहित छिमेकी स्थानीय तहसँग पर्यटकीय क्षेत्र प्रर्वधनकालागि सहकार्य गर्ने समेत नीति तथा कार्यक्रममा समावेश गरिएको नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर चारका वडाध्यक्ष नुतनदेव दुलालले जानकारी दिए ।
इलाम अस्पतालमा स्थापित हेल्प डेक्सलाई व्यवस्थित ढंगले संचालन गर्ने र इलाम मेडिकल कलेजको स्थापनाका लागि नगरपालिकाको दायित्वमा पर्ने जग्गा व्यवस्थापन गर्ने कार्यलाई अगाडी बढाइने बताइएको छ । इलाम नगरपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सुझाव पेस गर्ने समितिको प्रतिवेदनलाई कार्यान्वयन गर्दै लगिने र शैक्षिक गुणस्तर बढाउन अनुगमन तथा मूल्यांकन प्रणालीलाई प्रभावकारी कार्यान्वयन गराउने नीति नगरपालिकाले लिएको छ ।

विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति सहयोगका लागि ‘मेयर छात्रवृत्ति कार्यक्रम’ सञ्चालन गरिने बताइएको छ । स्थानीय तहको दोस्रो निर्वाचनपछि भएको पहिलो नगरसभामा महिलाको क्षमता विकासका लागि उपप्रमुख महिला सीप विकास कार्यक्रमलाई निरन्तरता दिने नगरको योजना रहेको छ । इलाम नगरपालिकाको आर्थिक समुन्नतिका लागि वडा हाकिम गजराजसिंह थापाको स्मृति प्रतिष्ठान स्थापना गरिने भएको छ ।
दलित समुदायका युवा वर्गको विकास तथा विगतमा दलित वर्गको उत्थानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने समाजसेवी कमलबहादुर शिवाको सम्मानका लागि कमलबहादुर शिवा युवा विकास कार्यक्रम सञ्चालन गरिने भएको छ । नगरको स्वास्थ्य, राजनीति तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने पूर्णलाल श्रेष्ठको सम्मानमा पूर्णलाल श्रेष्ठ स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिने भएको छ । बैंक स्थापना नभएको वडामा वैंक स्थापनाका लागि आवश्यक पहल गरी सामाजिक सुरक्षाभत्ता वडा तहवाटै वितरण गरिने नीति लिइएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
इलाम नगरलाई रहरलाग्दो सहर, बसौ बसौं लाग्ने गाउँको अवधारणा अनुरुप बसोबासलाई व्यवस्थित गरिने नीति नगरले लिएको छ ।
स्थानीय भाषा तथा संस्कृति संरक्षणको नीति अवलम्बन गरि यसका लागि भाषिक, सांस्कृतिक क्षेत्र तथा सम्पदाको संरक्षण गर्न सम्बद्ध संस्थामार्फत काम गरिनेछ । साथै एक वडा एक खेल मैदानको निर्माण तथा सुधार कार्यलाई निरन्तरता दिने कार्यक्रम अवलम्बन गरेको छ । त्यस्तै दर्ता भएका क्लबहरूलाई एक लाखको व्यवस्था गरिनेसमेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्