झोरूङ खोलामा निर्माणाधीन पुल भत्कियो «

झोरूङ खोलामा निर्माणाधीन पुल भत्कियो

दोलखाको बिगू गाउँपालिकाको वडा नम्बर ४ र ५ को बीचमा पर्ने झोरुङखोलामा निर्माणाधीन सडक पुल भत्किएको छ ।
लगातारको वर्षासँगै झोरुङखोलामा पानीको बहाब बढेको र निर्माणाधीन सडक पुलको टेको बगाएपछि पुल शुक्रबार राति भत्किएको हो । सो पुल निर्माणका लागि दुई वर्षअघि अर्थात् २०७८ साल माघमा १८ महिनामा पूरा गर्ने गरी त्रिवेणी बानियाँ लासा कम्पनीले विगू गाउँपालिकासँग सम्झौता गरेको थियो । सडक पुल निर्माणका लागि बिगू गाउँपालिकाले तीन करोड ४७ लाखको स्टिमेट तयार गरेकोमा सो कम्पनीले दुई करोड १६ लाखमा सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । एक वर्षअघि निर्माण सुरु भएको सो पुलमा गत १९ जेठमा खोलाले क्षति पु¥याएको थियो ।
खोलामा पानीको बहाब बढेसँगै निर्माणाधीन पुलको सतह भासिएपछि गाउँपालिकाले ३० जेठदेखि नै काम रोक्न भनेको थियो । गाउँपालिकाको निर्देशनबमोजिम निर्माणकार्य रोकेको १० दिनमा निर्माणाधीन सडक पुल भत्किएको हो । बिगू गाउँपालिकाका अध्यक्ष सञ्जिव ओलीले समयमा ठेकेदारले काम नगर्दा दुर्घटना भएको बताए । निर्माण कम्पनीले सडक पुल निर्माणमा ढिलासुस्ती गरेको र वर्षाको बेला ठाडो खोला भएकाले बाढीले क्षति गर्छ भन्ने पूर्वानुमान हुँदाहुँदै ठेकेदारले समय व्यवस्थापन नगरेको हो । बहुवर्षीय योजनाअन्तर्गत रहेको झोरुङखोला पुल निर्माण सम्पन्न गरी ठेकेदार कम्पनीले यही असार अन्तिममा गाउँपालिकालाई बुझाउनुपर्ने थियो । तर, काम नसकिँदै निर्माणाधीन पुल बीच भागबाट भत्किएर खोलामा खसेको छ ।

झोरुङखोलामा सिंगटी हाइड्रोपावर कम्पनीको ८० प्रतिशत र गाउँपालिकाको २० प्रतिशत लगानीमा पुल निर्माण गर्ने गरी सम्झौता भएको थियो । सिंगटी हाइड्रोपावर र गाउँपालिका बीच भएको सहमतिअनुसार ठेकेदार कम्पनीलाई पुल निर्माणाको जिम्मा दिइएको हो । पुलको दुई साइटमा पिलर उठाउन, विमको डण्डी बाँध्ने, टेका लगाउने काम सकिएपछि बीचमा स्ल्याब निर्माण गर्नुपर्ने थियो । तर, फर्मामा शंका लागेर गाउँपालिकाले काम रोकेको अवस्थामा फर्मा खुस्किएर पुल खोलामा खसेको बिगू गाउँपालिकाका इन्जियर सरोज खड्काले बताए ।
लगातारको वर्षाका कारण खोलामा पानीको बहाब बढेको र निर्माणाधीन पुलमा लगाएको टेको बगाएपछि पुल खोलामा खसेको त्रिवेणी बानिया लासा ठेकेदार कम्पनीका साइट इन्चार्ज प्रेमबहादुर तमाङले बताए । असार अन्तिमसम्म सम्झौताअनुसारको काम सम्पन्न गर्नेगरी काम भइरहेका बेला खोलामा पानीको बहाब बढेर क्षति पुगेको तामाङको भनाइ छ । एक वर्षअघि पुल निर्माणको काम सुरु भए पनि स्थानीय तहको निर्वाचन, कोरोना महामारी र भारतबाट पुलमा राख्नुपर्ने सामान आउन ढिलाइ भएका कारण पुल निर्माणमा ढिला भएको ठेकेदार कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्