जिल्लाका सबै पालिकाले ल्याए बजेट «

जिल्लाका सबै पालिकाले ल्याए बजेट

जिल्लाका १० वटै पालिकाले आउँदो आर्थिक वर्षका लागि बजेट ल्याएका छन् ।
१० असारमा पालिकाहरूले बजेट ल्याउनु पर्ने सवैधानिक बाध्यता अनुरूप जिल्लाका १० पालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट ल्याएका हुन् । जिल्लामा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकाले बजेट ल्याएका छन् । जिल्लाका अधिकांश पालिकामा बजेट सर्वसहमति मै आए पनि राप्ती गाउँपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध गरेपछि मध्यरातमा बहुमतका आधारमा बजेट घोषणा गरिएको थियो ।
नयाँ बजेटमा विशेष गरेर पालिकाहरूले स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारमा केन्द्रित गरेका छन् । राप्ती गाउँपालिकाले बहुमत गाउँसभा सदस्यका आधारमा मध्यरातमा बजेट ल्याएसँगै दाङका १० वटै पालिकामा गरी करिब साढे नौ अर्ब बराबरको बजेट सार्वजनिक भएको छ । राप्ती गाउँपालिकामा एमालेबाट निर्वाचित उपाध्यक्षसहित चारजना वडाअध्यक्ष र सदस्यहरूले गाउँसभा बहिष्कार गरे पनि बहुमत गाउँसभा सदस्यहरूको उपस्थितिमा आर्थिक वर्ष २०७९/०८० को बजेट घोषणा गरिएसँगै दाङमा नौ अर्ब ४९ करोड ५३ लाख २१ हजार ३ सय रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक भएको छ ।
घोराहीको बजेट दुई अर्ब ३२ करोड ९० लाख
घोराही उप महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०७९/०८० का लागि दुई अर्ब ३२ करोड ९० लाख ९१ हजारको बजेट ल्याएको छ । घोराही उप महानगरपालिकाको दोस्रो नगरसभाको पहिलो अधिवेसनमा नगर उपप्रमुख हुमाकुमारी डिसीले बजेट प्रस्तुत गरेकी हुन । घोराही उपमहानगरपालिकाले चालू २०७८/०७९ का लागि दुई अर्ब २० करोड २८ लाख ७८ हजार विनियोजन गरेको थियो ।
विनियोजीत बजेट चालूतर्फ एक अर्ब २५ करोड ४१ लाख ८१ हजार रहेको छ । जुन ५३.८५ प्रतिशत रहेको छ । पुँजीगततर्फ एक अर्व ७ करोड ४९ करोड १० हजार रहेको छ । जुन ४६.१५ प्रतिशत रहेको छ । यसरी विनियोजन गरिएको बजेटमध्ये संघीय सरकारबाट प्राप्त हुने सशर्त अनुदान ७४ करोड दुई लाखमध्ये १० करोड ३० लाख अर्थात १३.९२ प्रतिशत पुँजीगत खर्च र ६३ करोड ७२ लाख अर्थात् ८६.०८ प्रतिशत चालूतर्फ रहेको छ । प्रदेश सरकारवाट प्राप्त हुने सशर्त अनुदान पाच करोड ४० लाख अर्थात् शतप्रतिशत पँुजीगत खर्च रहेको छ । संघ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान राजस्व बाँडफाट र रोयल्टी तथा उपमहानगरपालिकाको आन्तरिक आयबाट एक अर्ब ५३ करोड ४८ लाख ९१ हजारमध्ये ६१ करोड ६९ लाख ८१ हजार अर्थात् ४०.२० प्रतिशत र ९१ करोड ७९ लाख १० हजार अर्थात् ५९.८० प्रतिशत पुँजीगत खर्च रहेको छ ।

तुलसीपुरको एक अर्ब ८६ करोड
तुलसीपुर उपमहानगरपालिकाले गत वर्षको तुलनामा यस बर्ष बजेट घटाएर ल्याएको छ । उपप्रमुख स्यानी चौधरीले एक अर्ब ८६ करोड ४७ लाख ७९ हजार बजेट प्रस्तुत गरेकी हुन् । उपप्रमुख चौधरीले आन्तरिकतर्फ ४४ करोड ६२ लाख, संघीय सरकार अनुदानतर्फ एक अर्व २२ करोड ९८ लाख ३ हजार, प्रदेश सरकार अनुदानतर्फ १० करोड २७ लाख ७६ हजार र अन्य संस्था अनुदान÷ऋणतर्फ आठ करोड ६० लाख गरी एक अर्ब ८६ करोड ४७ लाख ७९ हजार बजेट प्रस्तुत गरेकी थिइन् । तुलसीपुर उपमहानगरले यसअघि तीन अर्ब बढीको बजेट ल्याएको थियो ।

लमहीको एक अर्ब ३९ करोड
लमही नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ३९ करोड ८१ लाख १८ हजारको बजेट ल्याएको छ । नगर सभामा उपप्रमुख लक्ष्मी योगीले वजेट प्रस्तुत गरेकी हुन । गत वर्षको तुलनामा यसपटक २७ करोड ३१ लाख १८ हजारले बजेट बढाएर लमहीले ल्याएको हो । जसमा पूर्वाधार विकास शाखामा २३ करोड ७६ लाख, शिक्षा तथा खेलकुद शाखाको लागि पाँच करोड ९३ लाख, स्वास्थ्य शाखाको लागी दुई करोड ८० लाख, कृषि विकास शाखामा दुई करोड, लमही अस्पतालको लागि तीन करोड ७० लाख, पर्यटन प्रवद्र्धनतर्फ एक करोड बजेट विनियोजन गरिएको छ ।

राजपुरको बजेट ५३ करोड २९ लाख
राजपुर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५३ करोड २० लाख ७१ हजारको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका उपाध्यक्ष धनपति यादवले चालूतर्फ ३३ करोड ६० लाख ३१ हजार र पुँजीगततर्फ १९ करोड ६० लाख ४० हजार बजेट प्रस्तुत गरेकी हुन ।

बबईको बजेट ५० करोड ६५ लाख
बबई गाउँपालिकाले ५० करोड बढीको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष बमकुमारी खड्काले ११औँ गाउँसभामा ५० करोड ६५ लाख ४३ हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन । सार्वजनिक बजेटअनुसार सात करोड ८६ लाख ५० हजार चालू खर्च, २० करोड ४२ लाख ९३ हजार पुँजीगत खर्च छुट्याइएको छ । त्यस्तै सर्शत अनुदानतर्फ १९ करोड २६ लाख, बिशेष अनुदानतर्फ एक करोड ६० लाख, समपुरक अनुदानतर्फ एक करोड ५० लाख बजेट ब्यवस्था गरिएको छ ।

बंगलाचुलीको बजेट ६३ करोड ५५ लाख
बंगलाचुली गाउँपालिकाले ६३ करोड ५५ लाख २० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष भक्तबहादुर जिसीले गाउँ सभामा बजेट प्रस्तुत गरेका हुन । जसमा पुँजीगततर्फ २८ करोड ६१ लाख ७९ हजार अर्थात् ४६ प्रतिशत छ । यसैगरेर चालूतर्फ ३४ करोड ९३ लाख ४१ हजार अर्थात् ५४ प्रतिशत छ । पालिकाले शिक्षा, पूर्वाधार विकास, स्वास्थ्य, लैङ्गिक समानता तथा सामाजिक सशक्तिकरण, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सुशासन र आर्थिक विकासका क्षेत्रलाई प्राथमिकीकरण गरेर बजेट ल्याएको छ । संघीय सरकारको अनुदान ४५ करोड ८४ लाख, राजस्व बाँडफाँटबाट १० करोड ९७ लाख, प्रदेश सरकारको अनुदान तीन करोड ४७ लाख, राजस्व बाँडफाँडबाट ७७ लाख, आन्तरिक राजस्वबाट एक करोड ५० लाख र गत वर्षको मौज्दात एक करोड अनुमान छ ।

गढवाको बजेट ६३ करोड ४५ लाख
गढवा गाउँपालिकाले कुल ६३ करोड ४५ लाख १० हजारको वजेट विनियोजन गरेको छ । गाउँसभामा उपाध्यक्ष शारदा चौधरीले कुल ६३ करोड ४५ लाख १० हजार रुपैयाँ बराबर बजेट प्रस्तुत गरेकी थिइन् । आर्थिक वर्ष २०७९÷०८० का लागि चालूतर्फ ३१ करोड ६५ लाख ७६ हजार र पुँजीगततर्फ ३१ करोड ७९ लाख ३४ हजार रहेको छ ।
शान्तिनगरको बजेट ५० करोड ९७ लाख
शान्तिनगर गाउँपालिकाले ५० करोड ९७ लाख ४८ हजार बराबरको प्रस्तुत गरेको छ । गाउँसभामा गाउँपालिका उपाध्यक्ष प्रेमाकुमारी बुढाथोकीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेकी हुन् । शान्तिनगरमा चालूर्फ ३१ करोड ६६ लाख ६८ हजार र पुँजीगततर्फ १९ करोड ३१ लाख रुपैयाँका विनियोजन गरिएको छ ।
दंगीशरणको बजेट ४६ करोड ९४ लाख
दंगीशरण गाउँपालिकाले ४६ करोड ९४ लाख बढी बजेट सार्वजनिक गरेको छ । गाउँसभामा गाउँपालिका उपाध्यक्ष पिमाकुमारी खड्काले ४६ करोड ९४ लाख ३९ हजार तीन सय रुपैयाँको वजेट प्रस्तुत गरेकी हुन् । पुँजीगत खर्च ७० प्रतिशत र चालू खर्च ३० प्रतिशतको आधारमा रही बजेटको आकार बनाइएको उपाध्यक्ष खड्काले बताइन् ।
राप्ती गाउँपालिकाको बजेट ६१ करोड ५४ लाख
राप्ती गाउँपालिकाले ६१ करोड ५४ लाख बढी बजेट सार्वजनिक गरेको छ । राप्ती गाउँपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिको विरोधका बीच बहुमतका आधारमा आर्थिक वर्ष २०७९÷०८० को ६१ करोड ५४ लाख ८४ हजार बराबरको बजेट गाउँसभामा वडा नं. ४ का वडाध्यक्ष बीरबहादुर चौधरीले प्रस्तुत गरेका थिए । विषयगत समितिको बैठक बस्न नपाउँदै आपूmखुसी कार्यपालिका बैठक राखेको र बजेटको तयारी नपुगेको भन्दै उपाध्यक्ष कमलापती चौधरीसहितका चार वडा अध्यक्षले बजेट प्रस्तुत नगरी बैठकबाट बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्