स्याङ्जामा विपद् न्यूनीकरणको तयारी «

स्याङ्जामा विपद् न्यूनीकरणको तयारी

चालू वर्षको मनसुन सुरु भइसकेको र जिल्लामा विपद्जन्य घटना हुनसक्ने जनाउँदै स्याङ्जाका ११ स्थानीय पालिकालाई पूर्वतयारी अवस्थामा राखिने भएको छ । जिल्ला विपद् ब्यवस्थापन समितिले विपद्लाई ध्यान राख्दै पालिकालाई तयारी अवस्थामा राख्ने भएको हो ।
विपद्मा तत्काल आवशयक पर्ने डोजर, जेसिबीलगायतका आवश्यकता अनुरुप सामग्रीका साथै सवारी चालकलाई समेत पूर्वतयारी अवस्थामा राखिने भएको छ । समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जिल्लाका पाँच नगरपालिका र ६ वटा गाउँपालिकाले विपद्का समयमा आवश्यक सहयोग सामग्री तयार गरी तयारी अवस्थामा राख्न सुझाएका छन् ।
विपद् व्यवस्थापन गर्न कोषमा रकम, आवश्यक पर्ने विपद्जन्य सामग्री खरिदगरी आ–आफ्नो पालिकामा मौज्याद राख्न र आवश्यकताअनुसारका सामग्री तीनवटै सुरक्षा निकायलाई समेत उपलब्ध गराउन उनले स्थानीय पालिकालाई आग्रह गरेका छन् ।

जिल्लामा पुतलीबजार र फेदिखोलाको सिमानामा रहेका भालु पहाड, गल्याङ् नगरपालिका–१ स्थित राम्दी प्रहरी चेकपोस्ट माथिको पहिरो, गल्याङ्–२ को मगरसमाजभवन र सो वरपरका ४ घरलगायत आसपासका क्षेत्र, वडा नं. ३ लल्याङ्स्थित ८० घर परिवार उच्चजोखिममा रहेको समितिले पूर्वानुमान गरेको छ ।
समितिकाअनुसार गल्याङ् नगरपालिका–५ सेतीवेणी बजारमा सेतीखोला र कालिगण्डकी किनारमा रहेको सेतीवेणी बजार डुबानको जोखिमा रहने, अर्जुनचौपारी–२ जलजलेको पहिराले ४ घर र ५ वटा गोठ जोखिम बढेको र कालिगण्डकी गाउँपालिकाको सिमाना रानीघाट–रुद्रवेणी पुल वपरपरका क्षेत्र पनि उच्च जोखिममा रहेको छ ।
सिद्धार्थ राजमार्ग र स्थानीय पालिका जोड्ने सडकमा समेत पहिरो जानसक्ने हुँदा सडक डिभिजन कार्यालय पोखरा र सम्बन्धित स्थानीय पालिकाले समेत डोजरलगायत आवश्यक मेसिनरी सामग्रीसहित चालकलाई तयारी अवस्थामा राख्न समितिले आग्रह गरेको छ । जिल्लास्थित विपद् व्यवस्थापन राहत कोषमा सात लाख ४५ हजार प्रदान गर्दै समितिले गण्डकी प्रदेश सरकारद्वारा कोषमा प्राप्त दुई लाख रुपैयाँलाई उपयोग गर्ने भएको छ ।
जोखिमलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारीको नेतृतवमा जिल्ला विपद् व्यवस्थापन समितिजस्तै सबै स्थानीय पालिकामा पनि नगर तथा गाउँपालिकाका प्रमुख तथा अध्यक्षको अध्यक्षतामा स्थानीय विपद् व्यवस्थापन समिति गठन गरिने भएको छ ।
विपद्का बेला अस्पताल, स्वास्थ्य, खानेपानी कार्यालय, रेडक्रस, उद्योग ब्यवसायी, सुरक्षाकर्मी, स्थानीयबासीले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आ–आफ्नो संयन्त्रलाई परिचालन गर्न प्रजिअ पौडेलले आग्रह गरेका छन् । विपद्को बेला जोखिम कम गर्न सचेत हुनुपर्नेमा उनले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्