सुर्खेतका पालिकाहरूको प्राथमिकतामा उत्पादन र रोजगारी «

सुर्खेतका पालिकाहरूको प्राथमिकतामा उत्पादन र रोजगारी

सुर्खेतका नौवटै स्थानीय तहले १० असारमा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् ।
आगामी आर्थिक वर्षका लागि ल्याएको नीति कार्यक्रम एवं बजेटमा सबै पालिकाले भौतिक पूर्वाधार निर्माण, उत्पादन, रोजगारी र कृषिलाई प्राथमिकता दिएका छन् ।
कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले कुल एक अर्ब ९४ करोड ११ लाख १२ हजार पाँच सय रुपैयाँको बजेट ल्याएको छ । यसैगरी लेकबेंसी नगरपालिकाले ७४ करोड ८७ लाख नौ हजार ५७ रुपैयाँको कुल बजेट ल्याएको छ । पञ्चपुरी नगरपालिकाले ८६ करोड २० लाख ४८ हजार ६ सय ५१ रुपैयाँको कुल बजेट ल्याएको छ । गुर्भाकोट नगरपालिकाले ९५ करोड ५८ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको छ । भेरीगंगा नगरपालिकाले भने ६७ करोड पाँच लाख ८१ हजार सात सय ८९ रुपैयाँको कुल बजेट ल्याएको छ । यता सुर्खेतका गाउँपालिकातर्फ भने चौकुने गाउँपालिकाले कुल ५७ करोड ६८ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको छ । बराहताल गाउँपालिकाले ६२ करोड ७१ लाख आठ हजार ६ सय २३, चिङ्गगाड गाउँपालिकाले ४९ करोड ३८ लाख ९६ हजार ८ सय ९६ सिम्ता गाउँपालिकाले कुल ५९ करोड ९५ लाख ३४ हजार रुपैयाँको बजेट ल्याएको छ ।

वीरेन्द्रनगरलाई व्यवस्थित राजधानी सहरका रूपमा विकास गरिने
वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रममा वीरेन्द्रनगरलाई व्यवस्थित सहरका रूपमा विकास गर्नेमा जोड दिइएको छ । वीरेन्द्रनगर मुख्य बजार सडकलाई व्यवस्थित र सुन्दर फुटपाथसहितको सडक निर्माण गर्ने गरी निर्माण प्रकृयालाई, निरन्तरता दिइने, ट्राफिक लाइट ब्यवस्थापन, सडक छेउमा हरियाली व्यवस्थापनमा जेब्राक्रस निर्माणका लागि बजेट विनियोजन गरेको छ । वीरेन्द्रनगर नगरपालिकाभित्र निर्माण हुने आवासीय क्षेत्रलाई विभिन्न आवासीय भवनको नमुना नक्सा बनाई प्रत्येक भवनको अगाडिको भागको निर्माणमा एकरुपता ल्याउन बजेट छुट्याएको छ । त्यसैगरी फुटपाथ, साइकल लेन, सवारी पार्किङ, रोडमा लाइनिङ र ट्राफिक लाइटसमेतको डिजाइन गरी नमुना सडक अवधारणालाई अगाडी बढाउन १५ लाख रुपैयाँ, मंगलगढी र एरिचोकजस्ता स्थानमा आकाशे पुलको सम्भाव्यता अध्ययनका लागि १० लाख रुपैयाँ वजेट विनियोजन गरिएको छ ।
जेष्ठ नागरिक तथा गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स तथा भिडियो एक्सरे सेवा सञ्चालनका बजेट विनियोजन, कृषकहरूले उत्पादन गरेका कृषि उपज सहजरूपमा खरिद, बिक्रीका लागि तथा कृषि तथा पशुपालनमा देखिएको विचौलियाको अन्त गर्नका लागि उपयुक्त स्थानमा पशु तथा तरकारी हाट बजार र कृषि संकलन केन्द्र स्थापना तथा तरकारी एम्बुलेन्सको व्यवस्था गरिने नगर उपप्रमुख निलकण्ठ खनालले जानकारी दिए ।
करको दर विगतकै कायम राखी दायरा विस्तारको नीति नगरपालिकाले लिएको छ । साथै आफ्ना योजना कार्यान्वयन गर्न कर छुटका आकर्षणसमेत नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

लेकवेशी नगरपालिकामा एक वडा एक लघु उद्यम
लेकवेशी नगरपालिकाले नगरपालिकाले ‘उद्यमशीलता, रोजगारी र उत्पादन वृद्वि हुन्छ नगरको समृद्वि’, ‘एक वडा एक लघु उद्यम’लगायत कृषि क्षेत्रमा आधारित रही नगरले आगामी आर्थिक वर्षको बजेट विनियोजन गरेको छ ।
यसैगरी लेकबेसी नगरपालिकाले एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ । नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० का विनियोजित बजेटमा नगर निवासी एक जना विद्यार्थीलाई चिकित्सा शिक्षा (एमबीबीएस) अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्न बजेटको विनियोजन गरेको छ ।

भेरीगंगामा एक वडा एक उत्पादन
भेरीगंगा नगरपालिका सुर्खेतले वडा नम्बर १ र २ लाई केरा खेतीको पकेट क्षेत्रको रूपमा विकास गर्ने, त्यस्तै वडा नम्वर १, २, ३, ४, ५, ६ र ७ लाई बाख्रा पालनको विशेष पकेट क्षेत्रको रुपमा विकास गर्ने वडा नम्बर ४, ८, ९, १०, ११, १२ र १३ लाई दूधको पकेट क्षेत्रको रूपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यसैगरी साविकको रामघाटमा भैँसीको लागि श्रोत केन्द्रको सम्भाव्यता अध्ययन गरिने, साविकको मैनतडामा उन्नत र पाख्रीबास बंगुर तथा भैँसीको श्रोत केन्द्र स्थापना गरिने,एक वडा एक पशु स्वास्थ्य प्राविधिकको क्रमशः विस्तार गरिने नीति तथा कार्यक्रम ल्याएको छ ।
नगरमा कृषि विमा कार्यक्रम सञ्चालन गरिने, कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने, नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
भेरीगंगा नगरपालिकाको छिन्चुमा अत्याधुनिक कबर्ड हल निर्माण गरिने, मैनतडाको नगर स्तरीय रंगशालालाई संघ र प्रदेश सरकारको सहयोगमा सम्पन्न गरिने, टिनको छानामुक्त विद्यालय निर्माणमा जोड दिइने,
त्यस्तै भेरीगंगा नगरपालिकाको एक नमुना जडिबुटी उद्यान बनाउन पहल गरिने, अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिने, भेरीगंगा उज्यालो सहर कार्यक्रम लागू गरिने, हेल्पडेस्क, गुनासो सुनुवाइ केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने भएको छ ।
चिङ्गाड गाउँपालिकाले जुलोजिकल तथा बोटानिकल पार्क बनाउने
चिङ्गाड गाउपालिकाले जुलोजिकल तथा बोटानिकल खुल्ला पार्क निर्माण गर्ने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि शुक्रबार गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा उक्त योजना अघि सारेको हो । वडा नं ४ मा पर्ने मालिका सामुदायिक वन क्षेत्रलाई खुल्ला जुलोजिकल तथा बोटानिकल पार्क निर्माणका लागि संभाव्यता अध्ययन गर्न बजेट विनियोजन गरिएको छ । जिल्लाकै अग्लो ठाउँ मालिकादेखि चिङ्गाड खोलाको मुहानको रूपमा रहेको बुरूसे झरना यही क्षेत्रमा पर्दछ । जैविक विविधताले भरिपूर्ण उक्त क्षेत्रलाई खुल्ला पार्क एवं अध्ययन स्थल र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष बोधविक्रम जिसीले बताए । उनका अनुसार मालिका क्षेत्रमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने विभिन्न जडिबुटी वनस्पती, जनावर तथा चराचुरूङ्गी पाइन्छन् भने चिङ्गाड दराकै जलाधार क्षेत्र रहेको छ । सुर्खेत जिल्लाकै जैविक विविधतायुक्त क्षेत्रमा अलग पहिचान रहेको बताउँदै अध्यक्ष जिसीले उक्त क्षेत्रको विकासका लागि प्रदेश सरकार र साझेदारसँंग सहकार्य गरेर प्रदेशकै नमुना अध्ययनका लागि पर्यटक आउने स्थल बनाउने सोच रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्