सुदूरपश्चिमका स्थानीय तहको प्राथमिकतामा पूर्वाधार «

सुदूरपश्चिमका स्थानीय तहको प्राथमिकतामा पूर्वाधार

सुदूरपश्चिम प्रदेशका ८५ वटा स्थानीय तहले पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आर्थिक वर्ष २०७९/०८० का लागि बजेट ल्याएका छन् ।
१० असारभित्रै आगामी आर्थिक वर्षका लागि बजेट ल्याइसक्नुपर्ने संवैधिानक व्यवस्था अनुसार सुदूरपश्चिमका कूल ८८ स्थानीय तहमध्ये ८५ ले शुक्रबार बजेट ल्याएका छन् । सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीले एक अर्ब ८३ करोड ८९ लाख रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक वर्षको तुलनामा १ करोड ६ लाख रुपैयाँ मात्रै बढी हो ।
प्रदेशका अन्य स्थानीय तहले पूर्वाधार विकासमा बढी रकम ल्याइरहँदा धनगढी उपमहानगरपालिकाले सामाजिक विकासलाई पहिलो प्राथमिकतामा राख्दै सो क्षेत्रमा सबै भन्दा बढी बजेट विनियोजन गरेको छ । धनगढीका नगर उपप्रमुख कन्दकला रानाले समाजिक विकासतर्फ ७४ करोड ७८ लाख ३३ हजार रुपैयाँ (४० प्रतिशत) विनियोजन गरेको जनाइन् । उनले नगरसभामा प्रस्तुत गरेअनुुसार पूर्वाधार विकासतर्फ ४५ करोड १० लाख, आर्थिक विकासतर्फ १४ करोड ४२ लाख, सुशासनतर्फ ७ करोड ७३ लाख र कार्यालय सञ्चालनमा ४१ करोड ८५ लाख विनियोजन गरिएको छ ।
धनगढीले चालुतर्फ एक अर्ब ३ करोड र पुँजीगततर्फ ८० करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ । उपप्रमुख रानाले आन्तरिक आयबाट २६ करोड ७९ लाख, राजश्व बाँडफाँटबाट ४७ करोड २९ लाख, संघीय सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ९६ करोड ४८ लाख, प्रदेश सरकारको अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ३५ करोड ३४ लाख ५ हजार आम्दानी हुने जनाइन् ।
सुदूरपश्चिमका तीन वटा पालिकाहरुले समयमा बजेट ल्याउन सकेनन् । बाजुराको बुढीगंगा नगरपालिकामा जनप्रतिनिधिको निर्वाचन हुन नसकेकोले बजेट ल्याउन नसकेको हो भने कार्यपालिकामा अध्यक्ष र उपाध्यक्ष अल्पमतमा परेकाले डोटीको बोगटान फुडसिल गाउ‘पालिकाको नीति, कार्यक्रम तथा बजेट ल्याउन सकेन । डडेलधुराको नवदुर्गा गाउँपालिकाले समेत बजेट ल्याउन सकेको छैन ।

कैलालीका ६ वटा गाउँपालिका र ६ वटा नगरपालिकाले भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् । टीकापुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८५ करोड ८ लाख ८४ हजार रुपैयाँको बजेट ल्याएको छ । नगर उपप्रमुख खडकबहादुर शाहले चालुतर्फ १४ करोड २० लाख र पुँजीगततर्फ १६ करोड १५ लाख ७४ हजार रुपैयाँ विनियोजन गरिएको बजेट नगरसभामा प्रस्तुत गरे । उनले नगर गौरवका योजनाहरुका लागि ७ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको जनाए । उनले शिक्षातर्फ ९ करो २४ लाख, एकीकृत वस्ती विकासका लागि १ करोड ५० लाख, स्वास्थ्य सेवाका लागि २ करोड ७१ लाख, पशु विकासका लागि ७० लाख, लघु उद्यमका लागि २९ लाख, कृषिका लागि १२ लाख, आयुर्वेद सेवाका लागि ३२ लाख रुपैयाँ विनियोजन गरिएको बताए ।
९० करोड ६४ लाख ७५ हजार रुपैयाँको बजेट ल्याएको गौरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार, समृद्ध गौरीगंगाको आधार भन्ने नारा लिएको छ । १ अर्ब १ करोड २३ लाख २९ हजार रुपैयाँको बजेट ल्याएको घोडाघोडी नगरपालिकाले पनि पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । यद्दपि, यी नगरपालिकाहरुले क्षेत्रगत रुपमा बजेट बाँडफाँट गर्न बाँकी छ ।
यसैगरी, जोशीपुर गाउँपालिकाले ४८ करोड ११ लाख १० हजार रुपैयाँको बजेट ल्याएको छ । उपाध्यक्ष रेखादेवी कठरियाले पूर्वाधार विकासतर्फ १० करोड, सामाजिक विकासतर्फ ३ करोड ७६ लाख, सुशासनतर्फ ९ करोड २४ लाख ७७ हजार रुपैयाँ विनियोजन गरिएको बताइन् । कैलारी गाउँपालिकाले ५९ करोड २५ लाख २१ हजार रुपैयाँको बजेट प्रस्तुत गर्दै पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । उपाध्यक्ष भगवती चौधरीले क्रमागत योजनाका लागि ८० लाख, झोलुंगे पुल निर्माणका लागि २० लाख, पूर्वाधार विकासका लागि ३ करोड, आर्थिक विकासका लागि दुई करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको जनाइन् ।
डडेल्धुराका ७ स्थानीय तहमध्ये ६ स्थानीय तहले बजेट ल्याएका छन् । उनीहरुले पनि पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् । भागेश्वर गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकता दिँदै ४१ करोड २८ लाख २२ हजारको बजेट गाउँसभामा प्रस्तुत गरेको छ । गाउँपालिका प्रमुख हेमराज चटौतले पूर्वाधार विकास अन्तर्गत सडक मर्मत, नयाँ सडक निर्माण, साना सिंचाई योजना र मठमन्दिर निर्माण रहेको बताए ।
निर्माणको मूल आधार, दिगो कृषि, पर्यटन, व्यापार र उत्थानशिल पूर्वाधार भन्ने नाराका साथ बझाङको जयपृथ्वी नगरपालिकाले ५५ करोड २९ लाख ८१ हजार बजेट ल्याएको छ । उपप्रमुख रतनबहादुर सिंहले स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार निर्माण, वन वातावरण, विपद व्यवस्थापन र सुशासनका क्षेत्रमा बजेट विनियोजन गरिएको बताए ।
यसैगरी, कञ्चनपुर जिल्लाका ९ वटै स्थानीय तहहरुले पनि पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन् । भीमदत्त नगरपालिकाले १ अर्ब ८४ करोड रुपैयाँको बजेट ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्