पोखरा महानगरको बजेट आठ अर्ब ७७ करोड «

पोखरा महानगरको बजेट आठ अर्ब ७७ करोड

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजारको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाको ११ औं नगरसभामा उपमेयर मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि उक्त बजेट बजेट प्रस्तुत गरेकी हुन् ।
उक्त बजेट चालु वर्षको भन्दा २६.९६ प्रतिशत अर्थात २ अर्ब ३६ करोड ६५ लाखले बढी हो । चालु वर्षको बजेट ६ अर्ब ४१ करोड ११ लाखको रहेको छ । महानगरको विहीबार प्रस्तुत बजेटमध्ये संघीय सरकार अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकारको अनुदानबाट ११ करोड २८ लाख, आन्तरिक आम्दानीबाट ३ अर्ब १ करोडबाट प्राप्त हुने उप–प्रमुख गुरुङले उल्लेख गरिन् । उनले संघीय राजस्व बाँडफाँटबाट ३७ करोड ३७ लाख, प्रदेश राजश्व बाँडफाँटबाट १ करोड ४२ लाख ५२ हजारबाट प्राप्त हुने बताइन् ।
महानगरले २ अर्ब ४० करोड ८१ लाख घाटा बजेट ल्याएको छ । जुन बजेट चालु आर्थिक वर्षको मौज्दातबाट बेहोरिने उप–प्रमुख गुरुङले बताइन् । महानगरको बजेटमा पूर्वाधार विकासतर्फ ४ अर्ब ५३ करोड ६२ लाख, नगर कार्यपालिका कार्यालयतर्फ एक अर्ब २५ करोड ८७ लाख, सामाजिक विकासमा २ अर्ब ६ करोड ९२ लाख, शिक्षामा १ अर्ब ४९ करोड ३६ लाख, स्वास्थ्यमा ५० करोड ५ लाख, कृषिमा १६ करोड ७३ लाख ६५ हजार र वडा कार्यालयका लागि ७२ करोड ६० लाख विनियोजन गरिएको छ ।

महानगरको बजेटमा पोखरा गौरवका आयोजनाका लागि ६५ करोड, विनियोजन गरिएको छ । पर्यटनस्थलको पूर्वाधार विकास अन्तर्गत पर्यटकीय केन्द्रहरु, लेकसाइडको सौन्दर्यकरण, सुविधासहितको ल्याण्डफिल साइट निर्माण, अटो भिलेज निर्माणलाई प्राथमिकतामा राखेर बजेट छुट्याइको छ । त्यस्तै पटकपटक बजेटमा परेरपनि निर्माण सुरू नभएको पोखरा चक्रपथका लागि पनि बजेट विनियोजन गरिएको छ । महानगरको बजेटमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि पोखराको पर्यटकीय केन्द्र लेकसाइडसम्मको फास्टट्रयाक निर्माणका लागिपनि बजेट छुट्याइएको छ । उम्मेदवार हुँदा घोषणा गरिएको यो फास्ट ट्रयाक निर्माणका लागि प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको हो ।
महानगरले चालू वर्ष निर्माण सुरु भएका विभिन्न १५ वटा कनेक्टिङ सडक, १० वटा शहरी सडक तथा १५ वटा ग्रामीण सडकलाई क्रमागत र बहुवर्षीय योजनामा राखेर ५५ करोड बजेट विनियोजन गरेको छ । महानगर भित्रका मुख्यमुख्य सडकहरुमा अस्फाल्ट पिच सडक निर्माण गर्ने कार्यलाई निरन्तरता दिँदै १५ करोड बजेट विनियोजन गरेको छ ।
महानगरको बजेटमा तालचोकदेखि बेगनास तालसम्मको सडक खण्डलाई नमूना सडक बनाउने योजनालाई कार्यान्वयन गर्न बजेट छुट्याएको छ । त्यस्तै सो सडक खण्डमा दुईतर्फी साइकल लेन र हरियाली जोेनसहितको पैदल ट्रयाक निर्माणसमेत गरिने उप–प्रमुख गुरुङले बताइन् ।
महानगरले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न पेट्रोलपम्प र आवश्यक स्थानहरुमा विद्युतीय चार्जिङ स्टेसन निर्माण गर्ने भन्दै बजेट विनियोजन गरेको छ । बजेटमा महानगरका सबै वडाहरुमा एक वडा, एक स्मार्ट शौचालय बनाउने नीति कार्यान्वयनका लागि ५ करोड विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्