चितवनका सात पालिकाको बजेट ११ अर्ब ६५ करोड «

चितवनका सात पालिकाको बजेट ११ अर्ब ६५ करोड

चितवनका ७ वटा पालिकाले ११ अर्ब ६५ अर्ब बढीको बजेट सार्वजनिक गरेका छन् । ३ वटा पालिकाले १ अर्ब भन्दा कमको बजेट ल्याएका छन् । १ अर्ब बढी तर डेढ अर्बभन्दा कमको बजेट ल्याउने पालिका ३ वटा छन् । भरतपुर महानगरले ५ अर्ब ७४ करोड बढीको बजेट ल्याएको छ ।
भरतपुर महानगरले चालु वर्षभन्दा २२ करोड बढीको बजेट ल्याएको छ । महानगरले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ बजेट ल्याएको छ । आगामी वर्ष आन्तरिक आयमा १ अर्ब ५० करोड प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ५३ करोड ३१ लाख २७ हजार, जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात एक अर्ब ३० करोड र मर्मत सम्भार कोषबाट ४ करोड प्राप्त हुने अनुमान छ ।
महानगरले विद्युतीय बस सञ्चालन गर्ने, जेष्ठ तीर्थयात्रीलाई देवघाटसम्म जाने–आउने व्यवस्थालाई निःशुल्क विद्युतीय बस चलाउने, कृषि एम्वुलेन्स चलाउने, ल्याण्डफिल साइट कोरियन सरकारको सहयोगमा बनाउने उल्लेख छ ।

१ अर्ब भन्दाबढी बजेट ल्याउने पालिकाहरुमा रत्ननगर नगरपालिका, माडी नगरपालिका, खैरहनी नगरपालिका छन् । रत्ननगरले १ अर्ब ३७ करोड २७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । आन्तरिक स्रोतबाट ११ करोड रुपैयाँ आम्दानी गर्ने उल्लेख छ । दूधमा प्रतिलिटर १ रुपैयाँ अनुदान, नगरप्रुमख उद्यमशिलता कार्यक्रम, उज्यालो रत्ननगर, प्राविधिक शिक्षा अध्ययनमा ५० प्रतिशत अनुदानलगायतका योजनाहरु समेटिएका छन् ।
माडीले १ अर्ब ७ करोड ८० लाख ८२ हजार बजेट ल्याएको छ । पशुपंक्षी तथा मस्त्य उत्पादनमा आत्मनिर्भर बनाउने, माडीलाई उत्पादनको हब बनाउने योजनाहरु छन् । खैरहनीले १ अर्ब १ करोड १२ लाख ५१ हजार रुपैयाँ बजेट ल्याएको छ । १ अर्बभन्दा कम बजेट ल्याउने पालिकाहरुमा इच्छाकामना गाउँपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका छन् ।
इच्छाकामनाले ६७ करोड ५५ लाख ३५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । राप्तीले ९० करोड ९२ लाख ६४ हजार बराबरको बजेट ल्याएको हो । कालिकाले ८५ करोड ९७ लाख ५१ हजार रुपैयाँ बजेट ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्