बुटवल उपमहानगरको बजेट दुई अर्ब ३५ करोड
बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि २ अर्ब ३५ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । उपमहानगरको आन्तरिक आय, प्रदेश तथा संघीय सरकारबाट प्राप्त हुने समानिकरण तथा सशर्त अनुदान, विशेष अनुदान तथा समपुरक अनुदानका साथै राजस्व बाँडफाँटबाट प्राप्त आयलाई आधार बनाई वार्षिक बजेट प्रस्तुत गरिएको हो ।
उपमहानगरको बजेट प्रस्तुत गर्दै उपप्रमुख सावित्रा अर्यालले उपमहानगरको आन्तरिक आय ६० करोड अनुमान गर्दै संघीय सरकारबाट प्राप्त हुने समानीकरण ३४ करोड ८० लाख, सशर्त अनुदान ४५ करोड २३ लाख, समपुरक अनुदान ६ करोड ४० लाख रहेको बताइन् । यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १ करोड ६१ लाख ३३ हजार, सशर्त अनुदान १ करोड ६० लाख, विशेष अनुदान ८० लाख, समपुरक अुनदान २ करोड ९९ लाख रहेको उल्लेख गरिन् ।
राजस्व बाँडफाँटबाट प्राप्त हुने ३१ करोड ९८ लाख र गत आर्थिक वर्षबाट प्राप्त ३४ करोड ५८ लाख ६७ हजार बजेटलाई यस वर्षका लागि विनियोजन गरिएको उल्लेख गरिन् । आय अनुमानको तुलामा १५ करोड कम हुने देखिएकाले उक्त बराबरको रकम अन्य आयस्रोतको पहिचान तथा संघीय सरकारबाट थप अनुदान प्राप्त हुने लक्ष्य बजेटमा प्रस्तुत गरिएको छ ।
बजेटले दीगो विकास लक्ष्यको स्थानीयकरण गरी लक्ष्य प्राप्तिमा जोड दिने, स्थानीय गौरवका आयोजनालाई संघ र प्रदेश सरकारसँगको सहकार्यमा सम्पन्न गर्ने, अधुरा योजना कार्यक्रमलाई निरन्तरता एवं पूर्णता दिनेलगायतका उद्देश्यहरु राखेको छ । सुशासन प्रवद्र्धन गरी स्थानीय सेवा प्रवाह गर्ने तथा अति आवश्यक मात्र नयाँ योजना कार्यक्रम समावेश गर्ने उल्लेख गरिएको छ ।
बजेट प्रस्तुत गर्दै उपप्रमुख अर्यालले ‘जनतासँग प्रमुख’ कार्यक्रमअन्तर्गत उपचार र व्यवस्थापन गर्न जटिल मुटु, क्यान्सर, मृगौला, अटिजम, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल इन्जुरी रोगका विरामीलाई विगतमा दिई आएको वार्षिक अनुदानलाई निरन्तरता दिने, विगतदेखि सञ्चालित ‘नगर प्रमुख जेष्ठ नागरिक स्वास्थ्य घरदैलो स्वास्थ्य सेवा’ तथा ‘उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रम’लाई थप प्रभावकारी बनाउने उल्लेख गरिएको छ ।
यसैगरी बुटवलमा स्वास्थ्य परीक्षणका लागि स्तरीय डाइनेष्टिक ल्याब सञ्चालनका लागि बजेटको व्यवस्था गरिएको छ । उपयुक्तताको आधारमा कम्तीमा एउटा स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालमा परिणत गर्न बजेट व्यवस्था गरिएको छ ।
बुटवलको चक्रपथ निर्माण, देवीपथ, रंगशाला मार्ग, ढुवानीग्राममा थप पूर्वाधार निर्माण, अटोभिलेजको पूर्वाधार विकास, ग्रामीण विद्युतीकरण, विभिन्न पार्क एवं सौन्दर्यकरणका लागि आवश्यक श्रोत व्यवस्था गरिएको उपप्रमुख अर्यालले बताइन् ।
उपमहानगरले वडा स्तरमा सञ्चालन गरिने विकास योजनाहरुका लागि १६ करोड ५० लाख विनियोजन गरेको छ । बुटवल उपमहानगरले नयाँ आर्थिक वर्षका लागि कर तथा राजस्वमा वृद्धि नगर्ने उल्लेख गरेको छ । सम्पत्ति कर, बहालकर, हाटबजार बैठकी, ई–रिक्सा नवीकरण/रुट इजाजत जस्ता कर तथा गैरकरका दरहरु कम्तीमा १० प्रतिशतसम्म न्यून गरिएको बजेटमा उल्लेख छ ।