निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न सरकार तयार : गृहमन्त्री «

निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न सरकार तयार : गृहमन्त्री

भयावह तथा दुर्घटनामै फस्ने गरी देशमा आर्थिक संकट नभए पनि आर्थिक जटिलतालाई समाधान गर्न सरकार र निजी क्षेत्र हातेमालो गरेर अघि बढ्नु पर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो प्रदेश सभाको भैरहवामा उदघाटन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले निजी क्षेत्रसँग खुल्ला छलफल र सहकार्य गर्नका लागि प्रधानमन्त्री र अर्थमन्त्री पनि सकारात्मक रहेको बताए ।
पछिल्लो समय निजी क्षेत्र सरकारप्रति असन्तुष्ट भएकै बेला सरकारका प्रभावशाली मन्त्री गृहमन्त्री खाँणको यस्तो भनाइ आएको हो ।
“निजी क्षेत्रका व्यवसायी प्रतिपक्षी होइनन्, व्यवसायी डुबे भने सरकार पनि डुब्छ” उनले भने, “त्यसैले सरकार र निजी क्षेत्र एकआपसमा आरोप–प्रत्यारोपमा भन्दा अहिलेको आर्थिक संकटलाई कसरी पार लगाउने ? भन्नेमा लाग्नु पर्छ ।” नेपालमा मात्र नभएर अहिलेको आर्थिक संकट अन्तर्राष्ट्रिय जगतमै आएको उनले बताए ।
गठबन्धन सरकार बनेको एक वर्षमात्रै भए पनि अहिले देखा परेको आर्थिक समस्या पार लगाउन हाम्रो पालाको भन्दा अघिल्ले पालाको र पूर्ववर्ती सरकारले गरेको हो भन्दै जिम्मेवारीबाट पन्छिन नहुने उनले बताए । डलरको संचिति ६ महिनालाई रहेको जनाउँदै उनले यो अवस्था खतराको घन्टी नभए तापनि सचेत हुनु पर्ने आवस्था भने आएको बताए ।
उनले अमेरिकी परियोजना एमसीसी प्रस्ताव सामारिक महत्व र सैन्यकरण हुनेवाला नभइ विकसित राष्ट्रले अविकसित राष्ट्रको गरिवी निवारणका लागि छुट्याएको रकम भएको बताए । उनले बुटल नजिक सिद्धार्थ राजमार्गको सिद्धबावामा सुरुङमार्ग आगामी साउनदेखि कार्य प्रारम्भ हुने र नवलपरासीको दाउन्नेमा पनि निर्माण हुने बताए ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले कृषि क्षेत्रमा निजी क्षेत्र अघि बढनु पर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले वित्तीय तरलताका कारण सबै भन्दा जटिल आर्थिक संकट यस पटक आएको र सरकारलाई आगामी वर्षका लागि चालु खर्च धान्नका लागि पनि राजस्व संकलन हुन नसक्ने बताए ।
वैदेशिक रेमिट्यान्सलेमात्र मुलुकलाई धान्न नसक्ने अवस्था आएको उनले बताए । अहिले मुलुक गम्भीर स्थितिमा रहेको भन्दै उनले विज्ञहरु ल्याएर निजी क्षेत्रलाई साथ लिएर अघि नबढे अवस्था झनै संकटमा जाने जनाए । कार्यक्रममा बोल्ने उद्योगी–व्यवसायीले वर्तमान आर्थिक संकट समाधान गर्न सरकारले तत्काल अग्रसरता लिनुपर्ने जनाए ।
महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले सरकारले आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रबीच विभेदकारी नीति ल्याएको भन्दै यसलाई सच्याउन आग्रह गरे । अध्यक्ष शर्माले लुम्बिनी प्रदेश अन्तरगत ८ जिल्लामा रहेका भन्सार कार्यालयहरुको स्तरउन्नती गर्ने, भैरहवा भन्सारमा आईसिपी निर्माण छिटो भन्दा छिटो हुनु पर्ने, विद्युत आपूर्तिमा देखिएको समस्या निराकरण हुनु पर्ने, उद्योग उद्योगनै बिभाजित हुनेखालका नीति खारेज गर्नु पर्ने बताए ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ, एसोसियट उपाध्यक्ष रामचन्द्र संघाई, पुर्ब उपाध्यक्ष महेश प्रधान, पूर्व कोषाध्यक्ष निरक केसी, नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीलगायतले सरकारले अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्