गठबन्धन निर्वाचनसम्म लम्ब्याउन नेकपा एसको जोड «

गठबन्धन निर्वाचनसम्म लम्ब्याउन नेकपा एसको जोड

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताएका छन् । पार्टीको केन्द्रीय कमिटी चौथो बैठकलाई सम्बोधन गर्दै उनले गठबन्धनको आवश्यकता अहिले पनि रहेकाले निर्वाचनसम्म कायम हुने बताए ।
‘स्थानीय तहको निर्वाचनमा कतिपय पार्टीले धोका दिए । हामीले पनि राम्रोसँग पार्टी परिचालन गर्न नसकेर अपेक्षित परिमाण ल्याउन सकेनौँ, तर पनि गठबन्धन आवश्यक रहेको छ,” उनले भने, ‘गठबन्धन दलका घटकले मिलेर जाऊ भन्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले पनि विगतमा भएका गल्तीको आत्मालोचना गरेर सङ्घीय निर्वाचनमा पनि गठबन्धन गरेर जाने भन्नुभएको छ ।’
उनले स्थानीय तहमा जनताको मत प्राप्त गरेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले स्थानीय तहमा पाएको मतको आधारमा प्रतिनिधिसभा र प्रदेशसभामा मत बढ्ने बताए । उनले भने, ‘हामीले १६५ निर्वाचन क्षेत्रमा जित्ने सम्भव नै छैन । तर उम्मेदवार उठाउने स्थिति कहाँ–कहाँ छ । वस्तुनिष्ठ ढंगले मूल्यांकन गर्नुपर्दछ ।’
नेता नेपालले मुलुकमा बढेको महँगी नियन्त्रण गर्नुपर्ने बताए । विपन्न परिवार, गरिब परिवारलाई विशेष सहुलित प्रदान गर्ने कुरा पाँचदलीय बैठकमा भएको उनले सुनाए । नेपालले भने, ‘भ्रष्टाचार र कमिशनका जालो मुलुकमा छ । त्यसलाई नियन्त्रण गर्न सक्नुपर्दछ । भ्रष्टाचार नियन्त्रण गर्नका लागि अनुगमन प्रणाली बनाउनुपर्दछ ।’
नेता नेपालले आफूहरूले बाध्य भएर पाँचदलीय गठबन्धन बनाएको बताए । उनले नेकपा (एमाले)बाट विद्रोह नगरेको भए दास बन्नुपर्ने अवस्था आउने भनाइ राखे । कम्युनिष्ट पार्टीले देशभक्तिको झण्डा, लोकतन्त्रको कुरा उठाउँदै आएकाले नेपाली जनताले कम्युनिष्टलाई मन पराएको उनले बताए ।
विदेशी शक्तिसँग नझुक्ने, नेपालीको जनताको स्वाभिमान र नेपाली जनतामा देशभक्त शक्तिको रूपमा पहिचान गर्नुपर्ने उनले बताए । कम्युनिष्ट पार्टीभित्र अधिनायकवाद हाबी भयो भने पार्टीले लोकतन्त्रको झण्डा उठायो भन्न नसकिने उनको भनाइ थियो । अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीभित्र आत्मालोचना गर्ने पद्धति विकास भएको बताए ।
कमिटीभित्र नभई बाहिर असन्तुष्टि व्यक्त गर्नेलाई छुट दिन नसकिने उनको भनाइ छ । ‘पार्टीको कमिटीभित्र शालीनताका साथ आफ्ना कुरा राख्न पाइन्छ । संगठनका कार्ययोजना र पार्टीलाई कसरी गतिशील प्रभावशाली बनाउन सकिन्छ भन्ने कुरा सिर्जनात्मक छलफल गर्न सकिन्छ,’ उनले भने, ‘आ–आफ्नो ठाउँबाट पार्टीलाई स्थापना र जनताको प्यारो पार्टी कसरी बन्न सकिन्छ भन्नेमा छलफल गर्नुपर्दछ ।’ उनले अनुगमन गर्दा कमी–कमजोरी भए सुधार्न सकिने बताए ।
बैठकलाई सम्बोधन गर्दै पार्टीका सम्मानित नेता झलनाथ खनालले क्रान्तिकारी ध्रुवको विकास गरेर अगाडि बढ्नुपर्ने बताए । पार्टीप्रति क्रान्तिकारी तथा इमान्दार कार्यकर्ताको आकर्षण बढेकाले एकीकृत समाजवादीको नेतृत्वमा धार निर्माण गरेर मात्र समाजवादमा पुग्न सकिने उनले बताए ।
उनले लेनिनको क्रान्तिकारी विचारले भएको क्रान्ति विश्व परिवेशलाई तरंगित बनाएको बताउँदै समाजवादी क्रान्तिको बाहक ध्रुवका रूपमा बलियो पार्टी निर्माण गर्नुपर्ने बताए । यो गठबन्धन समाजवादी क्रान्तिसम्म नपुग्ने बताउँदै उनले भने, ‘मोर्चाबन्दी गर्दा समान विचारबीचमा गर्नुपर्छ । हाम्रोजस्तो देशमा बहुआयामिक वर्गसंघर्ष गर्नुपर्ने बेला आएको छ । किसान, महिला, गरिब आदिका विरुद्ध भएका अन्याय, अत्याचारका विरुद्ध संघर्ष गर्नुपर्ने छ । चुनावदेखि चुनावसम्म होइन, संसद्मा पनि जनताका आवाज उठाउनुपर्छ, अनि मात्र क्रान्तिकारी संसदवादी भइन्छ ।’
तत्कालीन नेकपाको दुईतिहाइको सरकार नभई एउटा गुटको नायकको पक्षपोषण गर्ने सरकार चलाएका कारण सरकारको अन्त्य भएको बताउँदै उनले तत्कालीन सरकारले भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा ल्याइएका जनमुखी कामसमेत कटौती गर्ने हदसम्मको काम गर्न खोजेको आरोप लगाए ।


बक्स
मन्त्री फिर्ता बोलाउने निर्णय केन्द्रीय कमिटीबाट पारित
नेकपा (एकीकृत समाजवादी) को चौथो केन्द्रीय कमिटीको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने सचिवालयको निर्णय सर्वसम्मतले पारित गरेको छ । सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ र रामकुमारी झाँक्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठका अनुसार महासचिव डा. बेदुराम भुसालले प्रस्तुत गरेको प्रतिवेदन पनि परिमार्जनसहित पारित भएको छ । उक्त प्रतिवेदनमा मुलुकको वर्तमान अवस्थाका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयवस्तु समावेश छन् । राष्ट्रिय विषयमा संविधान र राजनीतिक व्यवस्था संरक्षणका लागि गठबन्धनको औचित्य र आवश्यकताबारे प्रतिवेदनमा प्रष्ट पारिएको छ । सो प्रतिवेदनलाई यही १३ गते बस्ने केन्द्रीय परिषद् बैठकमा छलफल गरिने छ ।
बैठकले पार्टीका चार केन्द्रीय सदस्य लोकबन्धु काङ्दङ्वा झापा, तरकबहादुर शाही दैलेख, राज्यलक्ष्मी बम मल्ल मुगु र नारद मलासी डोटीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । उनीहरूले स्थानीय तह निर्वाचनमा पार्टीको निर्देशन विपरीत कार्य गरेको भन्दै बैठकले कारवाही गरेको हो । त्यसैगरी पार्टीको केन्द्रीय सदस्यमा कपिलदेव पटेल, पिताम्बर तिमिल्सिना, तोलाराम विष्ट र शंकर कुँवरलाई मनोनित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्