हर्डल्समा जयरानीको अर्को कीर्तिमान «

हर्डल्समा जयरानीको अर्को कीर्तिमान

४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न ४ सय मिटर हर्डल्सतर्फको प्रतिस्पर्धामा विभागीय टोली त्रिभुवन आर्मीकी जयरानी थारुले राष्ट्रिय किर्तिमान बनाएकी छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न ४ सय मिटर हर्डल्समा निर्धारित दूरी १ मिनेट ०७.२ सेकेण्डमा पार गर्दै उनले ३५ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । जयरानीले छैटौं राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको १ मिनेट ०७.७ सेकेन्डको कीर्तिमान भंग गरेकी हुन् ।
पहिलो दिन शुक्रबार जयरानीले १ सय मिटर हर्डल्समा १५.२० सेकेन्डको कीर्तिमान रचेकी थिइन् । यसअघि उक्त कीर्तिमान प्रमिला थारुको नाममा थियो । प्रमिलाको टाइमिङ १६.३८ सेकेन्ड थियो । शुक्रबारै आर्मीका जीवन थारुले पुरुष १ सय १० मिटर हर्डल्समा १४.९६ सेकेन्डको कीर्तिमान बनाएका थिए । उनले आफ्नै नाममा रहेको १५.६० सेकेन्डको कीर्तिमान सुधार गरेका थिए । यता ४ सय मिटर हडल्सको पुरुषतर्फ आर्मीका रामबहादुर थारुले स्वर्ण जिते । थारुले ५५.९ सेकेण्डमा दूरी पार गर्दै स्वर्ण जितेका हुन् । ५६.७ सकेण्डमा दूरी पार गर्दै आर्मीकै जीवन थारुले रजत जित्दा मधेश प्रदेशका मुकेह ठाकुरले ६५.१ सेकेण्डका साथ कास्य जिते ।
शनिबारै सम्पन्न दुई सय मिटर दौडमा आर्मीकी सरस्वती चौधरीले एपीएफकी रमिता कुमारी चौधरीलाई पछि पार्दै स्वर्ण जितिन् । सरस्वतीले दूरी पार गर्न २५.४८ सेकेण्ड खर्चिन् । यस्तै रमिताले २६.०२ सेकेण्ड र कास्य पदक जितेकी बागमतीकी लुजाला अमात्यले २७.४० सेकेण्ड समय खर्चिन् । पुरुषतर्फ भने एपीएफका शिवराज पार्कीले स्वर्ण जिते । उनले २१.९२ सेकेण्डमा दूरी पार गर्दै कर्णाली प्रदेशका डिल्ली भण्डारीलाई पछि पारे । डिल्लीले २२.४१ सेकेण्डमामा दूरी पूरा गरे । एपीएफका आशिष चौधरीले २२.५० सेकेण्डमा कास्य जिते । ८ सय मिटर दौडमा आर्मीका सोमबहादुर कुमालले स्वर्ण जित्दा आर्मीकै सुनिल सुनारले रजत जिते । सोमले १ मिनेट ५६.२ सेकेण्डको समय खर्चंदा सुनिलले १ मिनेट ५६.७२ सेकेण्ड लगाए । पुलिसका तजेबहादुर कार्कीले १ मिनेट ५६.७९ सेकेण्डका साथ कास्य जिते । महिफातर्फ एपीएफकी फूलमती रानाले स्वर्ण जितिन् । उनले २ मिनेट १६.८ सेकेण्डका साथ स्वर्ण जितेकी हुन् । कर्णाली प्रदेशकी राममाया बुढाले रजत र आर्मीकी राधिका श्रेष्ठले कास्य जितेकी छन् ।

शनिबार सम्पन्न सटपुटमा महिलातर्फ पुलिसकी चन्द्रकला लामगादेले १२.२७ मिटर दूरी फाल्दै स्वर्ण पदक जितेकी छिन् । १०.८८९ मिटरमा साथ लुम्बिनिकी संगिता अधिकारीले रजत र १०.१५ मिटरका साथ लुम्बिनिकै सुशिला चौधरीले कास्य जितिन् । पुरुषतर्फ आर्मीका तिलक विकले १२.२० मिटर दूरी फाल्दै स्वर्ण जित्दा गण्डकीका राजन विकले रजत र पुलिसका पुष्कल खण्डाकले कास्य जिते ।
लङजम्पमा महिलातर्फ जयरानी थारुले ५.१३ मिटर दूरीका साथ स्वर्ण जितिन् । यस्तै एपीएफकी शिला चौधरीले ५.०३ मिटरका साथ रजत र पुलिसकी सिमा चौधरीले ४.७८ मिटरका साथ कास्य जिते । पुरुषतर्फ ६.८५ मिटरका साथ एपीएफका सलिम दिवामले स्वर्ण जिते । यस्तै आर्मीका शेरबहादुर विष्टले ६.७५ मिटर दुरी फाल्दै रजत जित्दा लुम्बिनिका सुदिप थारुले ६.६५ मिटरका साथ कास्य जिते ।
प्रतियोगिताको उद्घाट शुक्रबार युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले गरेका थिए । तीन दिनसम्म हुने प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री गहतराजले राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी तयारी गर्न खेलाडीहरुलाई आग्रह गरेका छन् । प्रतियोगिताले उत्कृष्ट खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले उत्कृष्ट प्रदशर्नका लागि सम्पूर्ण खेलाडीहरुलाई शुभकामना दिए ।
नेपाल एथलेटिक्स एसोसिएसनद्वारा आयोजित प्रतियोगितामा ३१ स्वर्ण पदकका लागि सात प्रदेश र तीन विभागीय टोली (आर्मी/प्रहरी/ सशस्त्र) गरी १० टिमका २ सय ४० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्