सात स्टार्टअपसँग लगानी सम्झौता «

सात स्टार्टअपसँग लगानी सम्झौता

‘नेपाल स्टार्टअप (नवप्रवर्तन) फेस्ट २०२२’ मा २४ करोड ५० लाख लगानीको प्रारम्भिक सम्झौता भएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सो सम्झौता भएको हो ।
नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा स्थापित गराउन नवप्रवर्तनकारीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित फेस्टमा अन्तिम प्रतिस्पर्धामा पुग्न सफल स्टार्टअपसँग प्रारम्भिक लगानीको सम्झौता भएको हो । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताव आह्वान गरेको थियो ।
नेपालकै सबैभन्दा ठूलो स्टार्टअप फेस्टमा देशभरबाट ३०० भन्दा बढी परियोजना प्रस्ताव आएको थियो । त्यसमध्ये अन्तिम छनोटमा परेका परियोजनाहरुलाई फेस्टमा आफ्नो प्रस्तुति गर्ने अवसर दिइएको थियो । उक्त प्रस्तुतिकरणपछि सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालको उपस्थितिमा लगानीकर्ताले ती परियोजनामा इक्विटी लगानी गर्न प्रारम्भिक सम्झौता गरेका हुन् ।
स्वपुँजी लगानी सम्बन्धी प्रारम्भिक सम्झौता भएका स्टार्टअपहरुमा भक्सक्रो, स्किल सेवा प्राइभेट लिमिटेड, टिम वेदा, खेती, डार्कम्याटर गेम प्रोडक्सन, डिजिटल एज नेपाल, डक्टर्स अन कल रहेका छन् । यी स्टार्टअपमा टिम भेन्चर्स, ग्लोबल इक्विटी फन्ड, अध्यान्ता फन्ड म्यानेजमेन्ट, हिमालयन क्यापिटल र टेलिभेन्चर पार्टनरले प्रारम्भिक लगानी सम्झौता गरेका हुन् । स्टार्टअप फेस्टको समापन समारोहमा अर्थमन्त्री जनार्दन शर्माले अन्तिम छनोटमा परेका परियोजनाहरुलाई अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा उनले बजेटले पनि स्टार्टअपलाई प्राथमिकतामा राखेको बताए ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले स्टार्टअप फेस्टको उद्घाटन समारोहलाई सम्बोधन गर्दैे आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्यलाई सरकारले उच्च प्राथमिकता दिएको बताए । युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न सरकार तयार रहेको उनले बताए ।
नेपाल उद्योग परिसंंघका अध्यक्ष विष्णुकुमार अग्रवालले स्टार्टअपहरुलाई सबैभन्दा ठूलो चुनौती लगानीको रहेको बताउँदै नवीन सोच भएका स्टार्टअपहरुलाई लगानी जुटाउने उद्देश्यले नै फेस्ट आयोजना गरिएको उल्लेख गरे ।
युवा उद्यमीहरुलाई पुँजीको कारण मात्रै उनीहरुको नवीन सोच मर्न दिन नहुनेमा अग्रवालले जोड दिए । उनले भने, “नवीन सोच भएका युवाहरुलाई प्रोत्साहन गर्नको लागि नै यो कार्यक्रम आयोजना गरेका हौं । एक दिन भव्य कार्यक्रम गरेर मात्रै हामी बस्ने छैनौं । यहाँ सहभागी प्रत्येक परियोजना अगाडि बढ्ने वातावरण बनोस् भन्ने हामी चाहन्छौं ।” उनले राष्ट्रिय योजना आयोगले तयार पारेको स्टार्टअप उद्यम प्रवद्र्धनका लागि अनुदान तथा कर्जा प्रवाह कार्यविधि २०७८ तत्काल पास गरी कार्यान्वयनमा लैजान आग्रह गरे ।
कार्यक्रमका प्रमुख वक्ता परिसंघका प्रेसिडेन्ट एमिरेटस् एवं सांसद विनोद चौधरीले कार्यान्वयन योग्य योजना लिएर अगाडि बढ्न युवाहरुलाई आग्रह गरे । विश्वमा धनी भएका व्यक्तिहरु निरन्तरको प्रयासबाट मात्रै सफल भएको भन्दै उनले योजनाको सफल कार्यान्वयनका लागि निरन्तर प्रयास गरिरहन सुझाव दिए ।
उनले भने, “आज तपाईंले गर्ने निरन्तरको प्रयासले भोलिको बिल गेट्स, ज्याक मा, विनोद चौधरी बन्न सक्नुहुन्छ । त्यसका लागि धैर्य, लगाव, योजना र प्रतिबद्धता आवश्यक पर्छ ।”
स्टार्टअप फेस्ट राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदूतावासको समेत सहयोगमा आयोजना गरिएको हो । ४० भन्दा बढी स्टार्टअपले आफ्नो वस्तु तथा सेवाको प्रदर्शनी गरेको स्टार्टअप फेस्टमा ५ हजारभन्दा बढी युवाको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्