पर्यटकको खर्च बढाउने उपाय गरौं «

पर्यटकको खर्च बढाउने उपाय गरौं

कोरोना कहरपछि नेपाल आउने पर्यटकको संख्या वृद्धि भएको छ । नेपालमा खोपको सहज उपलब्धता तथा पर्यटन व्यवसायीको सक्रियताले नेपाल पर्यटकको लागि सुरक्षित गन्तव्य भन्ने सन्देश प्रवाह गर्न सकेका कारण पनि नेपालमा सन् २०२२ को पाँचौं महिना मेमा ५३ हजार ६ सय ८ विदेशी पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएका थिए । सन् २०२२ को सुरुबाट नै पर्यटक आगमन दरमा सुधार हुँदै आएका कारण जनवरीदेखि मेसम्ममा १ लाख ९० हजार पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् । सन् २०२२ को पहिलो महिना जनवरीमा करिब १७ हजार पर्यटक घुम्नका लागि नेपाल आएका थिए भने फेब्रुअरीमा २० हजार, मार्चमा ४२ हजार र अप्रिलमा ५८ हजार २ सय ४८ पर्यटकले नेपालमा भ्रमण गरेका थिए । यसरी कोभिड–१९ को जोखिम कम भएसँगै सुस्ताएको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किने क्रममा रहेको छ । सन् २०२० को अन्त्यदेखि फैलिएको कोभिड–१९ को कारण पछिल्लो समय पर्यटक आगमनमा गिरावट आएको थियो । तर, पर्यटक आगमनमा सुधार आए तापनि पर्यटन आयमा भने सुधार आउन सकेको छैन । कोरोना महामारीपछि पर्यटक आगमन र बसाइ वृद्धि भए पनि दैनिक खर्च भने घटेको छ । हुन त सन् २०२१ मा पर्यटन आगमन पनि २०२२ भन्दा कम नै थियो र पनि आर्थिक सर्वेक्षण २०७८÷०७९ अनुसार सन् २०२१ मा प्रतिपर्यटकको औसत बसाइ अवधि १५.५ दिन र प्रतिदिन प्रतिपर्यटक खर्च ४८ अमेरिकी डलर रहेको छ । सन् २०२० को तुलनामा पर्यटकको बसाइ अवधि बढी हो भने प्रतिपर्यटक खर्च भने कम हो । तथ्यांकअनुसार २०२० मा औसतमा खर्च प्रतिपर्यटक प्रतिदिन ६५ अमेरिकी डलर र बसाइ अवधि १५.१ दिन पुगेको थियो । तर, २०२१ मा बसाइ अवधि वृद्धि भएर १५.५ दिन पुगेको छ भने पर्यटकले गर्ने दैनिक खर्च ६५ अमेरिकी डलरबाट ४८ डलरमा झरेको छ । साथै, पर्यटक खर्च सन् २०२० को तुलनामा २६.१ प्रतिशत कम हो । सन् २०२० कोरोना कहरका बीच धेरै गा¥हो अवस्थामा आएका पर्यटकको खर्च गराइ झन् अर्को वर्ष २०२१ मा घट्नु भनेको सकारात्मक होइन । कोभिड–१९ महामारीका कारण सन् २०२० मा पर्यटक आगमनमा अघिल्लो वर्षको तुलनामा करिब ८० प्रतिशतले कमी आएको थियो । किनकि सन् २०२० मा २ लाख ३० हजार पर्यटकको आगमन भएको थियो । तर, सन् २०२१ मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट १३ अर्ब ५० करोड ११ लाख रुपैयाँ विदेशी मुद्रा आर्जन भएको छ । जुन सन् २०२० मा २ लाख ३० हजार ८५ पर्यटक नेपाल आएकोमा सन् २०२१ मा यस्तो ३४.३ प्रतिशतले घटेर १ लाख ५० हजार ९ सय ६२ रहेको थियो । कोभिड–१९ का कारण ओरालो लागेको पर्यटक आगमन सन् २०२१ मा झन् ओरालो लागेको थियो भने सन् २०२२ का ५ महिनामा सुधार भएर २ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन् । तर, सन् २०१६ मा नेपाल आएका विदेशी पर्यटकले १३.४ दिन बस्ने र दैनिक ५३ अमेरिकी डलर औसत खर्च गर्ने गरेका थिए भने सन् २०१७ मा आइपुग्दा बसाइ अवधि घटेर १२.६ दिन सीमित भएको थियो । साथै, उनीहरूको दैनिक खर्च भने ५४ अमेरिकी डलर थियो ।

नेपाल आउने पर्यटकको रुचि पनि फरक देखिएको छ । सन् २०२१ मा नेपाल भित्रिएका पर्यटकमध्ये ६६.८ प्रतिशत बिदा तथा मनोरञ्जन, १०.३ प्रतिशत पर्वतारोहण/ साहसिक यात्रा/ पदयात्रा, ७.४ प्रतिशत तीर्थयात्रा र १५.५ प्रतिशत अन्य विभिन्न उद्देश्यले नेपाल भ्रमण गरेका थिए । पदयात्रा र पर्वतारोहणमा जाने विदेशीका कारण बसाइ अवधि लम्बिने तर अन्य कारणले नेपाल भ्रमण गर्ने पर्यटकको बसाइ भने छोटो हुने देखिन्छ । बसाइ लम्बिँदा खर्च बढ्नुपर्ने तर खर्च घटेका कारण पर्यटनसँग सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्