नेकपा एसमा मन्त्री हेरफेरको विषय टुंग्याउन दबाब

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा पार्टीका नेताहरुले मन्त्री हेरफेरको विषयलाई तत्काल टुंग्याउन दबाब दिएका छन् । बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालयको २७ औँ बैठकमा नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री हेरफेरको विषयलाई तत्काल टुंगो लगाउन दबाब दिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले बुधवार र बिहीबार गरी दुई दिन बसेको सचिवालय बैठकले शुक्रबार हुने पोलिटब्यूरो, शनिबार हुने केन्द्रिय कमिटी र असार १३ र १४ गते हुने केन्द्रिय परिषद् बैठकका एजेण्डाका बारेमा छलफल गरेको बताए । उनले उक्त बैठकमा पार्टी अध्यक्ष नेपालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमाथि पनि छलफल गरेको बताए ।
उपमहासचिव तुलाधरले पार्टीले गरेको निर्णय बहानाबाजी देखाएर प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेको भन्दै सांसदहरुले त्यसले पार्टीका कार्यकर्ताहरुमा नराम्रो सन्देश गएकोप्रति ध्यानाकर्षण गराएको पनि बताए । उनले गठबन्धनको औचित्य नसकिएकोले आगामी निर्वाचनमा पनि गठबन्धन गरेरै जानुपर्नेमा छलफल भएको समेत बताए ।