स्वतन्त्र उम्मेदवारले जित्नु अपवाद : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टंकप्रसाद आचार्यले तत्कालिन समयमा छरेको पर्चाले नेपालको राजनीतिक जागरण र परिवर्तनमा महत्वपूर्ण योगदान दिएको बताएका छन् । टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले बिहीबार आयोजना गरेको संवाद कार्यक्रममा ओलीले धारणा व्यक्त गरेका हुन् ।
उनले भने, ‘मुलुकमा परिवर्तन ल्याउन टंकप्रसादले छर्नुभएको पर्चाको योगदान महत्वपूर्ण रहेको छ,’ उनले भने । आचार्यले गठन गरेको नेपाल प्रजापरिषद् नेपाली धर्ती र नेपाली विचारबाट बनेको संस्था रहेको समेत उनले बताए । उनले टंकप्रसाद आचार्यको विचार र संगठनले विसं २००७ को क्रान्ति भएको धारणासमेत व्यक्त गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले उद्देश्यलाई जीवित राखेर कम्युनिष्ट पार्टीको नाम परिवर्तन गर्न सकिने बताए । उनले भने, ‘देश ठूलो हो, देशका लागि हामीले काम गर्ने हो, हाम्रा उद्देश्य समृद्ध नेपाल र सुखी नेपाली हुनुपर्दछ ।’
अध्यक्ष ओलीले युवाहरुले स्वतन्त्रबाट चुनाव जित्नुलाई समग्र सत्यको रुपमा लिन नहुने बताए । उनले युवाहरु स्वतन्त्र उम्मेदवार भएर विजयी हुनुलाई अपवादको रुपमा लिनुपर्ने बताए । अध्यक्ष ओलीले नेपालमा मुख्य रुपमा दुईवटा मात्र राजनीतिक पार्टी रहेको भन्दै उनीहरुले राम्रो काम नगरे त्यसको अपवादको रुपमा नयाँ शक्तिले जन्म लिने बताए । उनले राजनीति र राजनीतिक संगठनमा विचारको महत्व बढी हुने भन्दै गन्तव्य र उद्देश्यको लागि विचार आवश्यक रहेको बताए । अध्यक्ष ओलीले युवाहरुमा राजनीतिप्रति घृणा नभइ आकर्षण बढेको उल्लेख गरे ।
अध्यक्ष ओलीले युवाहरुमा राजनीतिप्रतिको आकर्षण सही भएको बताए । उनले युवाहरुसम्म राजनीतिक पार्टी नपुग्नुले पनि युवाहरुले आफ्नो संगठन बनाएर राजनीतिमा लागिरहेको बताए ।