फोहोरको समस्या झनै विकराल भयो : मन्त्री झाँक्री «

फोहोरको समस्या झनै विकराल भयो : मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सहरको फोहोरको समस्या झनै विकराल बन्दै गएको बताएकी छन् । बिहीबार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले सहरको फोहोरको समस्या एकजना गरिबको समस्यालाई निवारण गर्ने भन्दा पनि ठूलो रहेको बताएकी हुन् । उनले सहरमा फोहोरको समस्या विकराल रहेको भन्दै यसलाई बेलैमा हल गर्नुपर्ने बताइन् ।
मन्त्री झाँक्रीले फोहोर गर्नेसँगै रकम उठाएर फोहोरको काम गर्न नसके पुस्तौंसम्म ऋणको भारी बोकिरहनुपर्ने उनको भनाइ थियो । उनले फोहोर घरबाट चोक र खोलामा लगेर थुपार्ने परिपाटी बन्दै गएको भन्दै यसलाई बेलैमा व्यवस्थापन गर्न आवश्यक रहेको बताइन् । मन्त्री झाँक्रीले काठमाडौंका मानिसले गरेको फोहोर बञ्चरेडाँडामा लगेर फालिने भन्दै त्यसबाट निस्किने सामाजिक मुद्दालाई सम्बोधन गरेर मात्रै अघि बढ्नुपर्ने बताइन् । उनले शौचालयको फोहोर ढलमा र ढल खोलामा लगेर मिसाउने गरेको भन्दै यस किसिमको नीति नियमको बाटो सुल्टो नभएको बताइन् । फोहोर र ढलका समस्यालाई समाधान गर्न ऋण लिएर भए पनि समाधान केन्द्र बनाउनुपर्ने उनले बताइन् ।

ट्रिटमेण्ट प्लान्ट बनाएपछि फोहोर पानी प्रशोधन हुने र त्यसलाई बागमती नदीमा मिसाउने योजना रहेको छ । प्रशोधनका बेला निस्किएको स्लजलाई प्रशोधन केन्द्रबाट बायोग्यास उत्सर्जन गर्न प्रयोग गर्ने योजना छ । यसबाट एक लाख ४५ हजार मानिस लाभान्वित हुने सरकारले विश्वास गरेको छ । यस परियोजनाअन्तर्गत घाटहरूको मर्मत सम्भार र पुनःस्थापना गर्ने कार्ययोजना छ ।

प्रतिक्रिया दिनुहोस्