‘मौरी गाउँ’ बनाउँदै महाशिला गाउँपालिका «

‘मौरी गाउँ’ बनाउँदै महाशिला गाउँपालिका

मौरी पालनको राम्रो सम्भावना रहेको पर्वतको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीलाई ‘मौरी गाउँ’ बनाइने भएको छ ।
कृषिका माध्यमबाटै कृषकको जीवनस्तर माथि उठ्न सक्छ भन्ने सोचका साथ कृषकका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको महाशिलाले गाउँपालिकाको लुंखुदेउरालीलाई मौरी गाउँको रूपमा विकास गर्दै मौरीको पकेट क्षेत्रको रूपमा स्थापित गर्ने भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीका अनुसार साना व्यावसायिक कृषि उत्पादन (पकेट) विकास कार्यक्रमअन्तर्गत रहेर महाशिला मौरी पालक कृषक समूहलाई गाउँपालिकाको तर्फबाट अनुदान उपलब्ध गराएर मह उत्पादनका माध्यमबाट कृषकलाई आत्मनिर्भर बनाउन लागिएको छ ।
“यता वन र फूल क्षेत्र पनि रहेका कारण मौरीको राम्रो सम्भावना रहेको छ । छिमेकी गाउँमा पनि महको उत्पादन राम्रो भइरहेको बेलामा यहाँ पनि त सम्भावना छ भनेर पकेट क्षेत्रको रूपमा विकास गर्न लागिएको हो,” उनले भने, “यो पकेट क्षेत्रलाई मौरी स्रोत केन्द्रको रूपमा स्थापना गर्ने र यस क्षेत्रलाई मौरीको क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ ।”
अघिल्ला वर्षदेखि नै लुंखुदेउरालीलाई मौरीको पकेट क्षेत्रको रूपमा विकास गर्नका लागि पहल गर्दै आइरहेको निवर्तमान वडाध्यक्ष जीवन विक्रम उचैले स्वास्थ्यका लागि पनि महको माग राम्रो रहेकाले उत्पादित महले सहजै बजार पाउने भएकाले पनि लुँखुका कृषकलाई मौरी पालनमा प्रेरित गरेको बताए ।
“लुंखुदेउरालीलाई मौरीकै क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाको सहयोगमा यस आर्थिक वर्षमा १२ लाख मूल्य बराबरका मौरी गोला, मौरीसहितका घार र खाली घार पनि वितरण गरिएको छ । कृषकले गरेको कुल लगानीमा ५० प्रतिशत गाउँपालिकाको अनुदान हो,” उनले भने, “म आफै पनि मौरी पाल्ने गरी यो कार्यक्रममा सहभागी भएको छु । यहाँको तरकारी, दूध, खसी, बोका त पोखरामा निर्यात गर्दै आएका छौँ भने महको त बजार झनै राम्रो हुन्छ ।”

निरन्तर चलिरहने कार्यक्रमअन्तर्गत अहिले मौरी गोला घारसहित ८० वटा र खाली ५० वटा घार र अन्य सामग्री समूहमा आबद्ध भएका कृषकलाई हस्तान्तरण गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत पराजुलीका अनुसार घारसहितका मौरी गोला ८० वटाका लागि सात लाख २० हजार, खाली मौरी घार ५० वटाका लागि दुई लाख १० हजार, चिनी ७ सय ४३ किलोग्रामका लागि ७१ हजार, आधार चाका २० किलोग्रामका लागि ३० हजार, मौरी टोपी २२ वटाका लागि १३ हजार, आधार चाका बनाउने साँचोका लागि ३० हजार तथा घार स्ट्यान्ड, महदानी, पन्जा, ढुवानीलगायतका लागि झन्डै एक लाख ३० हजार रुपैयाँ गरी कुल १२ लाख रुपैयाँभन्दा बढीको अनुदान दिइएको हो ।
तीन वर्ष अगाडि वडा कार्यालयको अगुवाइमा सुरु गरिएको मौरी पालनबाट वडाभर १७ जना व्यावसायिक मौरी पालक कृषक पुगेका छन् । पाँच वटासम्म घार राखेका कृषकलाई व्यावसायिक कृषक मान्ने गरिएको छ । यस्तै २० वटासम्म घार बनाएकालाई पूर्ण व्यावसायिक उन्मुख र २० भन्दा धेरै घार राखेकालाई पूर्ण व्यावसायिक मौरी पालक कृषक वडाले मान्दै आएको छ । लुंखुदेउराली भरमा सबैभन्दा धेरै मौरी पालन गर्दै आएका ताराप्रसाद पौडेल अगुवा मौरी पालकको रूपमा रहेका छ्न् ।
उनले मह बेचेर नै वार्षिक सात लाख रुपैयाँसम्मको आम्दानी गर्दै आएका छन् । अर्का सफल कृषक हुन् उमलाल नेपाली । उनले हालै लगेका सहित गरेर झन्डै एक सय घार बनाएका छन् । उनले पनि वार्षिक झन्डै १० लाख मूल्य बराबरको मह बिक्री गर्ने गरेका छन् ।
“हामीले मौरी पालन सुरु गरेको ती वर्ष अगाडिबाट हो । यो छोटो अवधिमा व्यवसाय फस्टाएर गएको छ । मह उत्पादन गर्न सके बजारको समस्या छैन । मूल्य पनि राम्रो पाइएको छ,” नेपालीले भने, “यहाँबाट विदेशसम्म पनि मह पुगेको छ । स्थानीयस्तरमै पनि मागे जति दिन नसकिरहेको अवस्था छ । अहिले किलोको १२ सय रुपैयाँका दरमा बिक्री भइरहेको छ ।”
निवर्तमान वडाध्यक्ष उचैले पूर्ण व्यावसायिक भएर मह उत्पादन गर्दै आइरहेका तीनै कृषकलाई आधारमा राखेर उनीहरूको माध्यमबाट अन्य कृषकको जीवनस्तर समेत माथि उठाउने गरी लुंखुदेउरालीलाई मौरीको पकेट क्षेत्रको रूपमा विकास गर्न लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस्