प्रदेश १ का उद्योगको क्षमता उपयोग घट्यो «

प्रदेश १ का उद्योगको क्षमता उपयोग घट्यो

प्रदेश १ का उद्योगको औसत क्षमता उपयोग घटेको छ । नेपाल राष्ट्र बैंकले गरेको अर्धवार्षिक अध्ययनअनुसार आर्थिक वर्ष २०७८/ ०७९ को पहिलो ६ महिनामा प्रदेश १ का उद्योगहरुको औसत क्षमता उपयोग घटेर ४८.९ प्रतिशत भएको छ । केन्द्रीय बैंकले प्रदेश १ का १४ जिल्लामा गरेको अध्ययनले गत आर्थिक वर्षको सोही अवधिमा उद्योगहरुको औसत क्षमता उपयोग ५३.५ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । विशेषगरी वनस्पती घिउ र तेल, तयारी कपडा, साबुन, जिआई तार, चिनी, घरेलु धातुका सामानजस्ता वस्तु उत्पादन गर्ने उद्योगको क्षमता उपयोगमा कमी आएकाले उद्योगको औषत क्षमता उपयोगमा केही कमी आएको निष्कर्ष छ ।
कोभिड–१९ अवधिभर आयात प्रभावित भई आन्तरिक उत्पादन बढे पनि कोभिड–१९ को असर न्यून भएसँगै आयातमा भएको सहजताले आन्तरिक उत्पादन प्रभावित हुन गई उद्योगको औषत क्षमता उपयोगमा कमी आएको देखिएको अध्ययनले देखाएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा समीक्षा अवधिमा अध्ययनमा समेटिएका उद्योगमध्ये इँटा उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९३.५ प्रतिशत रहेको छ भने वनस्पती घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ६.९ प्रतिशत रहेको छ ।

यस्तै, गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालू आर्थिक वर्षको पहिलो ५ महिनामा अध्ययनमा समेटिएका औद्योगिक उत्पादनमध्ये भटमासको तेल उत्पादन सबैभन्दा बढी २१८.१ प्रतिशतले बढेको छ भने चिनीको उत्पादन सबैभन्दा बढी ६४.४ प्रतिशतले घटेको छ । साथै, वनस्पति घिउ उत्पादन गर्ने उद्योगहरु पाम तेल तथा भटमासको तेल उत्पादनमा रुपान्तरण भएको तथा भारतीय बजारमा भटमासको तेलको माग अत्यधिक भएका कारण भटमासको तेल उत्पादन वृद्धि भएको देखिएको पनि अध्ययनले जनाएको छ । उखु उत्पादन गर्ने समयमा वर्षा अत्यधिक भएकाले उखुको गुणस्तरमा कमी आई चिनी उत्पादन घटेको देखिएको अध्ययनको निष्कर्ष छ ।
२०७८ असार मसान्तको तुलनामा २०७८ पुस मसान्तमा प्रदेश १ का बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ०.५ प्रतिशतले घटेर १ खर्ब ४४ अर्ब भएको तथा २०७८ पुस मसान्तसम्म प्रदेश १ का बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश २६.५ प्रतिशत रहेको पनि अध्ययनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्