एम्बुलेन्सविहीन पूर्वी रुकुम

रुकुमपूर्व भूमे गाउँपालिका निवासी अमृत बुढाकी आमा पुस ३० गते रुखबाट लडिन् । उनलाई उपचारका लागि स्थानीय मेडिकलमा लगियो तर डाक्टरले यहाँ सम्भव नहुने भन्दै सदरमुकाम मुसिकोट लान सल्लाह दिए ।
तर एम्बुलेन्सका लागि उनले धेरै सम्पर्क गरे पाउन सकेनन् । एम्बुलेन्स नपाएपछि एउटा जीप ५ हजारमा रिजर्ब गरेर खलंगा ल्याए । “यो नगरेसम्म आमाको उपचार सम्भव हुने भएन, कतै पनि एम्बुलेन्स नपाएपछि जीप पनि हारगुहार गरेर रिजर्ब गरेर ल्याउनु पर्यो ,” उनले भने । यो समस्या उनको मात्र होइन हरेक रुकुमेलीको साझा समस्या बनेको छ ।
रुकुम अहिले एम्बुलेन्सविहीन भएको छ । त्यस्तै समस्या सुनाउँछिन रीता राणा । आफ्नी बुहारीको गर्भवती चेकजाँच गराउनका लागि एम्बुलेन्स नपाउँदा त्रिवेणी गाउँपालिकाबाट जिल्ला अस्पतालसम्म हिँडेर आउनु प¥यो । “गर्भवतीलाई सार्वजनिक गाडीमा ल्याउन पनि गाह्रो जिल्लामा एम्बुलेन्स पनि छैन भन्ने कुरा आयो त्यसैले गाउँबाट हिँडेरै सल्ले अस्पतालमा आएर चेक गराइयो,” राणाले भनिन् ।
जिल्लामा एउटा पनि एम्बुलेन्स नहुँदा बिरामी ओसारपसारमा समस्या देखिएको छ । एम्बुलेन्स नहुँदा गाउँबाट बिरामीलाई जिल्ला अस्पताल तथा जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामीलाई रिफर गरिएको ठाउँसम्म लैजान समस्या भएको छ । रुकुम पश्चिममा यसअघि जिल्ला अस्पताल र नेपाल रेडक्रस सोसाइटीको गरी दुईवटा एम्बुलेन्स थिए । तर यतिबेला भने दुवै एम्बुलेन्स बिग्रिएर थन्किएपछि समस्या सिर्जना भएको छ ।
बिग्रिएको लामो समयसम्म पनि एम्बुलेन्सको मर्मत तथा नयाँ एम्बुलेन्सको व्यवस्था नहुँदा बिरामीहरू सास्ती भोग्न बाध्य छन् । जिल्ला अस्पताल सल्ले रुकुमका प्रमुख डा. सबिन पोख्रेलले जिल्लामा भएको एम्बुलेन्स बिग्रिएकाले यस्तो समस्या भएको स्वीकार्दै अब छिटै मुसिकोट नगरपालिकाले नयाँ एम्बुलेन्स ल्याउने प्रक्रिया थालिसकेको बताए ।
मेगराज खड्का