पर्यटकले गर्ने खर्च घट्यो, बसाइ अवधि बढ्यो «

पर्यटकले गर्ने खर्च घट्यो, बसाइ अवधि बढ्यो

कोरोना महामारीपछि पर्यटक आगमन र बसाइ वृद्धि भए पनि दैनिक खर्च भने घटेको छ । आर्थिक सर्वेक्षण ०७८/०७९ अनुसार सन् २०२१ मा प्रतिपर्यटकको औसत बसाइ अवधि १५.५ दिन र प्रतिदिन प्रतिपर्यटक खर्च ४८ अमेरिकी डलर रहेको छ । सन् २०२० को तुलनामा बसाइ अवधि बढी हो भने प्रतिपर्यटक खर्च कम ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको तथ्यांकअनुसार २०२० मा औसतमा खर्च प्रतिपर्यटक प्रतिदिन ६५ अमेरिकी डलर र बसाइ अवधि १५.१ दिन पुगेको थियो । २०२१ मा बसाइ अवधि वृद्धि भएर १५.५ दिन पुगेको छ । तर पर्यटकले गर्ने दैनिक खर्च भने ६५ अमेरिकी डलरबाट ४८ डलरमा सीमित भएको छ । यस्तो खर्च सन् २०२० को तुलनामा २६.१ प्रतिशत कम हो।
कोभिड–१९ महामारीका कारण सन् २०२० मा पर्यटक आगमनमा अघिल्लो वर्षको तुलनामा करिब ८० प्रतिशतले कमी आएको थियो । सन् २०२० मा २ लाख ३० हजार पर्यटकको आगमन भएको थियो । विगतका वर्षमा पर्यटक आगमन वृद्धि भए पनि पर्यटकको दैनिक खर्च र बसाइ अवधि कम थियो । सन् २०२१ मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट १३ अर्ब ५० करोड ११ लाख रुपैयाँ विदेशी मुद्रा आर्जन भएको छ । सन् २०२० मा २ लाख ३० हजार ८५ पर्यटक नेपाल आएकोमा सन् २०२१ मा यस्तो ३४.३ प्रतिशतले घटेर १ लाख ५० हजार ९ सय ६२ रहेको थियो । कोभिड–१९ का कारण पछिल्लो २ वर्षदेखि ओरालो लागेको पर्यटन क्षेत्र सन् २०२१ मा झन् ओरालो लागेको थियो भने । सन् २०२२ मा भने पछिल्लो ५ महिनामा २ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
सन् २०२१ मा विदेशी पर्यटकबाट प्राप्त भएको विदेशी मुद्रा आर्जन ४६.० प्रतिशतले घटेर १३ अर्ब ५० करोड ११ लाख रुपैयाँ रहेको छ । सन् २०२१ मा नेपाल भित्रिएका पर्यटकमध्ये ६६.८ प्रतिशत बिदा तथा मनोरञ्जन, १०.३ प्रतिशत पर्वतारोहण/साहसिक यात्रा/पदयात्रा, ७.४ प्रतिशत तीर्थयात्रा र १५.५ प्रतिशत अन्य विभिन्न उद्देश्यले नेपाल भ्रमण गरेका छन् ।
सन् २०१८ मा नेपाल भ्रमण गर्ने पर्यटकको वार्षिक संख्यामा वृद्धि भएको देखिए पनि पर्यटकले नेपालमा रहँदा गर्ने दैनिक खर्च भने घटेको थियो । विगत १० वर्षमा पर्यटन आगमनमा वृद्धि भएको तथ्यांकले देखाएको छ । सन् २०१६ मा नेपाल आएका विदेशी पर्यटकले १३.४ दिन बस्ने र दैनिक ५३ अमेरिकी डलर औषत खर्च गर्ने गरेका थिए भने सन् २०१७ मा आइपुग्दा बसाइ अवधि घटेर १२.६ दिन सीमित भएको थियो । दैनिक खर्च भने ५४ अमेरिकी डलर थियो ।
पर्यटकको संख्या वृद्धिसँगै पर्यटन क्षेत्रबाट आम्दानी बढेर गएको छ । सन् २०१७ मा ६५ करोड ८० लाख, सन् २०१८ मा ७० करोड ३१ लाख, सन् २०१९मा ७२ करोड ४३ लाख ३७ आम्दानी भएको थियो । २०२० मा भने कोभिड महामारीका कारण २१ करोड ७० लाख अमेरिकी डलरमा झरेको छ । पर्यटन क्षेत्रबाट आर्जन हुने विदेशी मुद्रामा ७१ प्रतिशतले कमी आएको छ । यता सन् २०२१ मा भने आयमा अझ कम भएर १३ अर्ब ५० करोड ११ लाख रुपैयाँ मात्र विदेशी मुद्रा आर्जन भएको छ ।
कोभिड–१९ का कारण सरकाले जारी गरेको क्वारेन्टाइन नीतिले २०२० मा पर्यटकको खर्च र बसाइ अबधि लम्बिएको र पर्यटक खर्चमा वृद्धि भएको बताउँछन् नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी अधिकृत दीपकराज जोशी । “सन् २०२० को तुलनामा ६५ डलरबाट सन् २०२१ मा ४८ डलरमा खुम्चिनु भनेको पर्यटकले गर्ने खर्च एकदमै कम हो,” जोशीले भने, “डिजिटल पेमेन्टले पनि रेभेन्यूको लिकेज भएको देखाउँछ । साथै हाम्रो भएरको एयर कनेक्टिभिटी खुम्चिनु पनि कारण हो ।”
पदयात्रा र पर्वतारोहणमा जाने विदेशीका कारण बसाइ अवधि लम्बिएको जोशीको भनाइ छ । “दैनिक खर्च कम हुँदै जानु भनेको नेपालको पर्यटन क्षेत्रको आयमा कमी हुनु हो । यसको लागि सरकारले अध्ययन अनुसन्धान गर्न आवश्यक छ,” जोशीले भने ।

कोभिड–१९का कारण लामो समय नेपाल आउन नपाएका विभिन्न पेसा–व्यवसायका कारण विदेशमा रहेका नेपाली मूलका विदेशी नागरिक नेपाल आएकाले पर्यटकको बसाइ अवधि बढी देखिएको पर्यटन व्यवसायी योगेन्द्र शाक्य बताउँछन् । यसरी केही सयमपछि नेपाल आएका नेपाली मूलका विदेशी नागरिक नेपाल आउँदा पनि विदेशी नै भएर उनीहरु पदयात्रामा जाने गरेकाले बसाइ अवधि बढी देखिएको शाक्यको भनाइ छ ।
जोशीका अनुसार कम पर्यटक आगमन हुँदा बढी खर्च हुने गरेको थियो । तर, सन् २०२० को तुलनामा सन् २०२१ मा १८ डलरले कम हुनु न्यून रहेको जोशीको भनाइ छ ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१६ मा पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा ०.३२ प्रतिशतले घटेको थियो । ५ लाख ३८ हजार पर्यटक आउँदा दैनिक ७० डलर खर्च भएकोमा हाल पर्यटकको संख्या बढेर साढे सात लाख पुगेको छ, अर्थात् ४० प्रतिशतले बढेको छ । तर यी पर्यटकले गर्ने दैनिक खर्च भने ५३ डलर मात्रै रहेको थियो । पर्यटक बढेपछि विदेशी मुद्रा सटही दरका आधारमा आम्दानी बढेको देखिए पनि दैनिक खर्च भने अघिल्लो वर्ष सन् २०१५ को तुलनामा दैनिक खर्च नै १७ डलरले घटेको थियो । सन् २०१४ मा ४८ र २०१५ मा ६८.५७ अमेरिकी डलर पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्