स्टार्टअपका लागि युवामा व्यावसायिक चेतको विकास हुन जरुरी छ «

स्टार्टअपका लागि युवामा व्यावसायिक चेतको विकास हुन जरुरी छ

अमुन थापा
अध्यक्ष, नेपाल उद्योग परिसंघ-युवा उद्यमी मञ्च
पाँच वर्षको उमेरदेखि होस्टलमा हुर्केका अमुन थापामा सानो उमेरबाट नै आत्मनिर्भर हुनुपर्छ भन्ने सोचको विकास भएको उनी बताउँछन् । काठमाडौंमा विद्यालय शिक्षा पूरा गरेका थापाले अमेरिकाबाट कन्जुमर साइकोलोजी र मार्केटिङ विषयमा अध्ययन पूरा गरेका हुन् । नेपालमा २०११ मा सस्तो डिल अनलाइन (ई–कमर्स) व्यवसाय सुरु गरेका थापाले पहिलो पटक नेपालमा ई–कमर्स व्यवसायमा हात हालेका थिए । करिब ५० हजार लगानीमा सानो कोठाबाट सुरु भएको सस्तो डिल हाल १ सय ५० जनाभन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको थापा बताउँछन् । नेपालभर सेवा दिइरहेको सस्तोडिलका मुख्यतः इलेक्ट्रोनिक्सका सामानमा बढी उपभोक्ताको नजर जाने गरेको बताउने थापाले सस्तो डिलमा चार लाखभन्दा बढी प्रकारका समानको अनलाइनमार्फत बिक्री–वितरण गरिरहेका छन् ।
‘टे«किङ नेपाल टु द वल्र्ड’ भन्ने भिजनसहित सस्तो डिललाई नेतृत्व गरेका थापा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षको कार्यभार सम्हालिरहेका छन् । स्टार्टअप व्यवसायलाई व्यवस्थित र नियमन गरी नेपालमा स्टार्टअपको विस्तार गरी मुलुक आयातमुखी हैन, निर्यातमुखी व्यवसायमा जोड दिएर स्वदेशमै रोजगारी सिर्जना गरी युवालाई उद्यमीको पहिचान दिलाउन थापा लागिपरेका छन् । यसकै लागि थापाकै नेतृत्वमा नेपालमा पहिलो पटक नेपाल उद्योग परिसंघले स्टार्टअप फेस्ट–२०२२ आयोजना गर्दै छ, जहाँ व्यावसायिक सोच भएका हजारौं युवाको सहभागिता हुने र युवामा स्टार्टअपको मार्गमा डो¥याउने विश्वास लिएको छ । उनै थापासँग शनिबार हुन लागेको स्टार्टअप फेस्ट–२०२२ तयारी, यसको उद्देश्य, नेपालमा स्टार्टअपको अवसर र सम्भावनमा ई–कमर्स व्यवसायको भविष्यमा केन्द्रित रहेर कारोबारकर्मी दीपेन्द्र थापाले गरेको कुराकानीको सार :

परिसंघले स्टार्टअप फेस्ट–२०२२ गर्न लागेको छ । यो कस्तो कार्यक्रम हो र के उद्देश्यले यो कार्यक्रम गर्न लाग्नुभएको हो ?
नेपालमा आयोजना हुन लागेको स्टार्टअप नयाँ हो, जुन अहिलेसम्म नेपालमा हुन सकेको छैन । हामीले चारदेखि पाँच हजार हाराहारीका विद्यार्थी, जसलाई स्टार्टअप गर्न मन छ, उहाँहरूको उपस्थिति हुने विश्वास लिएका छौं । यसका लागि हामीले उपत्यकाका १० विभिन्न कलेजसँग समन्वय र सहकार्य गरेका छौं । नयाँ व्यावसायिक योजनासहित आएका स्टार्टअपलाई लगानीका लागि हामीले विभिन्न निकायसँगको सहकार्यमा ५० करोड रुपैयाँको कोष तयार पारेका छौं । यो भनेको ५० करोड रुपैयाँको लगानी सुनिश्चित गरेका हौं । यसका लागि हजारौं आवेदन परेको छ । आवेदनको छनोट गर्ने काम भइरहेको छ । छनोट समितिले आवेदन दिएका मध्येबाट राम्रोभन्दा राम्रो स्टार्टअपको छनोट गर्नेछ । यो समिट गर्नुको मुख्य कुरा भनेको प्यानलिस्टहरूको कुरा सुनेर घर फिर्ता हुने मात्र नभएर यसमा हामीले होटल सोल्टीको खुला चौरमा रमाइलोसहित व्यावसायिक विचार आदानप्रदान गर्नेछन् । समिटमा मनोरञ्जन तथा प्यानल डिस्कसन हुनेछन् । शनिबार उद्योगमन्त्रीले सभाहलको उद्घाटन गर्नुहुनेछ । समिटमा उद्योगी तथा सांसद विनोद चौधरी, परिसंघका अध्यक्ष विष्णु अग्रवाल, उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित विभिन्न ठूला व्यावसायिक घरानाका प्रमुख कार्यकारी अधिकृतहरूको प्यानल रहेको छ । त्यहाँ जानेले सबै किसिमको वातावरण पाउनुहुनेछ । समिटमा यसअघिका स्टार्टअपहरूले पु¥याएको योगदानको आधारमा सम्मान गर्ने योजना छ ।
लगानी गर्नका लागि छनोट भएका स्टार्टअपहरूको पनि घोषणा सो समिटमा हुनेछ । यसमा हामीले समिटमा सहभागिता जनाउने विद्यार्थीहरूमा स्टार्टअप गर्ने चाहना र इच्छाशक्ति प्राप्त होस् भन्ने नै हो । स्टार्टअप गर्नका लागि थिम नै समिटको नारा ‘सेलिब्रेटिङ द स्प्रिड अफ अन्डर प्रेनरसिप इन नेपाल’ भन्ने रहेको छ । समिटले स्टार्टअप गर्न चाहनेहरूका लागि मार्गप्रशस्त गरेर व्यावसायिक बाटोमा डो¥याउन सक्नु रहेको छ । यसका लागि नै हामीले एकदिने स्टार्टअप फेस्ट–२०२२ गर्न लागेका हौं ।

स्टार्टअप फेस्ट–२०२२ बाट युवाहरूले के कस्तो लाभ लिन सक्छन् ?
यो हामीले स्टार्टअप फेस्ट–२०२२ मुलुकभर नै उद्योगी बन्न प्ररित गर्नका लागि हो । हामीले ह्यास्ट्याग नै स्टार्ट फ्रम नेपाल भनेर राखेका छौं । नेपालमा चाहिएको भनेकै अहिलेको समयमा व्यवसाय र उद्योग हो । उद्योग–व्यवसायले नै रोजगारी दिन्छ र सरकारलाई कर बुझाएर सरकारको राजस्व वृद्धिमा टेवा पु¥याउँछ । यसबाट नै आर्थिक विकास हुने हो । नेपालमा गर्व गर्नसक्ने तीनदेखि चारवटा मात्र कम्पनी रहेका छन् । मूल उद्देश्य भनेकै देशभरका युवालाई स्टार्टअप व्यवसायमा आकर्षित गर्ने भन्ने नै हो । दोस्रो भनेको लगानीकर्ता र स्टार्टअपबीचको ग्यापलाई घटाउने हो । यसले लगानीका लागि वातावरण तयार हुनेछ । यो आगामी वर्षदेखि प्रत्येक वर्ष आयोजना हुनेछ । राष्ट्रियस्तरमा आयोजना हुने स्टार्टअप फेस्टले मुलुकभरका व्यावसायिक चेत भएका युवामा उद्यामीको पहिचान बनाउन सकोस् भन्ने रहेको छ ।

स्टार्टअप फेस्ट–२०२२ मा जसले पनि व्यावसायिक योजना ल्याउँछन् । मापदण्ड बनाउनुभएको छ ? कस्ता व्यक्तिहरू यसमा सहभागी हुन पाउँछन् ?
समिटमा ३ सयको टिकटबाट प्रवेश गर्न सकिनेछ । यो भनेको एकदमै कम शुल्क हो । समिटमा सहभागिता र समन्वय गर्नका लागि हामीले हालसम्म नै आह्वान गरेका छौं । ९ बजे उद्घाटन कार्यक्रम तय भएको छ । व्यावसायिक योजनाका लागि भने अनलाइन आवेदन ओपन छ । त्यहाँको सामान्य प्रक्रिया पूरा गरेर आवेदन दिन सक्नेछन् । यसरी आवेदन दिएका मध्येबाट हामीले राम्रो व्यावसायिक योजना भएका स्टार्टअपलाई छनोट गर्नेछौं ।

जसको व्यावसायिक योजना राम्रो छ, के उनीहरूलाई आर्थिक स्रोत पनि जुटाइदिनुहुन्छ ?
यसका लागि केही समय अगाडिबाट नै प्रक्रिया अगाडि बढाएको छ । छनोट समितिले यसको छनोट गर्ने काम गरिरहेको छ । व्यावसायिक योजना भएका राम्रा स्टार्टअपका लागि त्यही दिन १५ करोड रुपैयाँसम्मको लगानी सुनिश्चित गर्ने गरी आन्तरिक तयारी गरिरहेका छौं ।

राष्ट्रिय योजना आयोगले स्टार्टअप कार्यविधि बनाएको छ । त्यसमा परिसंघको पनि योगदान थियो नै । त्यो कार्यविधिले स्टार्टअपमा लागेकालाई लगानीका लागि सहज रूपमा पैसाको व्यवस्था गरिदिन्छ ? वा यसमा परिमार्जन आवश्यक छ ?
राष्ट्रिय योजना आयोग, युवा स्वरोजगार परिषद् र भारतीय दूतावासहरू को–अर्गनाइजरका रूपमा आएका छन् । राष्ट्रिय योजना आयोगसँग यसभन्दा आगाडि धेरै कार्यक्रम तथा छलफल गरेका छौं । मुख्य भनेको नेपालमा स्टार्टअप के हो ? यसको नीति के हो ? स्टार्टअप भनेको कस्तो हो ? यसमा सरकारी तवरले प्रस्ट हुनुपर्ने भएकाले गर्दा स्टार्टअप के हो भनेर नछुट्याएसम्म सरकारले सहजीकरण गर्न सक्ने अवस्था छैन । नेपाल सरकारलाई सहयोग गर्ने गरी स्टार्टअप भनेको यो हो, यसले सीमा क्षेत्र यो–यो हुन्छ भनेर व्याख्यासहितको कार्यविधि बुझाएका छौं । त्यसको घोषणा भने हुन बाँकी छ । तर, यसका लागि मस्यौदा भने तयार भएर राष्ट्रिय योजना आयोगले अध्ययन गरिरहेको छ ।

स्टार्टअप कार्यविधि बन्न पनि धेरै समय लाग्यो । यसको कार्यान्वयन कत्तिको सहज छ कार्यविधि लागू हुन्छ भन्नेमा ?
स्टार्टअपको परिभाषा तयार भएर आएपछि मात्र यसको कार्यविधि कार्यान्वयनको कुरा आउँछ । कस्तोलाई स्टार्टअप भन्नेबारेमा नै हामी प्रस्ट नभएकाले गर्दा यसमा ढिलाइ भएको हो । यो लागू हुनेमा हामी पूर्ण विश्वस्त छौं । स्टार्टअपको परिभाषा आएपछि नै कसरी, कहाँ लगानी गर्ने, यसका लागि आधार र मापदण्ड केके हुने भन्नेबारेमा प्रस्ट हुने भएकाले गर्दा हामीले राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा मस्यौदा बनाएर बुझाएका हौं । अब चाँडै यसको आधारपत्र बनेपछि लागू हुने क्रममा जानेछ ।

व्यवसाय गर्न चाहने युवा उद्यमीलाई कस्तो खालको सहयोग, सहुलियत राज्यको तर्फबाट आवश्यक हो ?
सरकारले आफ्नो आय वृद्धि गर्नका लागि स्टार्टअप आउन सहजीकरण गर्नुपर्छ । व्यापार, उद्योग–व्यवसाय सञ्चालनमा आएपछि मात्र सरकारलाई कर तिरेर सरकारको आयमा वृद्धि हुने हो । देशमा उद्योग–व्यवसाय नै सञ्चालन भएन भने सरकारको आयमा नै कमी आउँछ । सरकारले स्टार्टअप व्यवसायलाई सहुलियत दिनुपर्छ । स्थापनाको पाँच वर्ष वा १० वर्षसम्म करमा छुट दिने वा सहुलियत दिने, जसमा ट्याक्स होलिडे दिने । दोस्रोमा कुनै स्टार्टअपको लागि कार्यालय दिने र सीमित समयपछि मात्र त्यसको भाडा लिने जस्ता सुविधा दिनसक्छ । कर्जा प्रवाहमा सहुलियत, अन्य देशसँगको सहकार्य गराएर पनि सरकारले सहजीकरण गर्नसक्छ ।

तपार्इं नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्ष हुनुहुन्छ । तपाईंको नजरमा नेपालमा उद्योगको विकास हुन नसक्नुमा केके कारण रहेका छन् ?
यसका लागि युवालाई पहिले जगाउनु जरुरी छ । युवाले यो गर्छु भनेर सरकारसँग माग गरेपछि मात्र सरकारले त्यसका लागि सहजीकरण गर्ने हो । युवाले अहिलेसम्म मागेकै छैन । पहिले युवामा स्टार्टअप गर्नुपर्छ भन्ने सोच आउन जरुरी छ ।

स्टार्टअपका लागि आगामी दिनमा केकस्तो कार्यक्रम ल्याउने योजना बनाउनुभएको छ ?
यो पहिलो इभेन्ट हो । हामीले स्टार्टअपका लागि गर्न लागेकाले यसले पक्कै पनि युवाहरूमा जागरण ल्याउन सहयोग गर्ने ठानेका छौं । हामीसँग यसका लागि ५० करोड रुपैयाँको कोष छ । केही सहयोगी संस्थाहरू पाइपलाइनमा रहेका छन् । हाम्रो सोच भनेको यो कार्यक्रमपछि पनि निरन्तरता दिने योजना छ । यसका लागि हामीले सरोकारवाला निकायसँगको सहकार्यमा मासिक वा साप्ताहिक रूपमा नेपाल उद्योग परिसंघकै कार्यालयमा नयाँ सोच भएका स्टार्टअपको धारणा बुझ्न सक्छौं । यसका लागि कोषको पनि विस्तार हुँदै जाने योजना छ ।

नेपालमा स्टार्टअपका लागि सम्भावित क्षेत्र केके हुन् ?
जति धेरै व्यवसाय भयो त्यति नै हेल्दी कम्पिटिसन हुन्छ । म अनलाइन व्यवसाय गर्र्दै आएको भएकाले अनलाइन व्यवसायका लागि अझ ठूला कम्पनीको खाँचो छ । नेपालमा २ प्रतिशतमात्र व्यवसाय अनलाइनले ओगटेको छ । अरू ९८ प्रतिशत भनेको खुद्रा व्यवसायले नै बजार ओगटेको छ । दोस्रो भनेको नेपालको दायाँ र बायाँ (चीन र भारत) करिब विश्वको आधा जनसंख्या रहेको छ । आयात मात्र गरिरहेको नेपालले आगामी दिन उद्योगको विकास गरेर ती देशमा निर्यात गर्न सक्ने प्रशस्त सम्भावना छ ।

पछिल्लो समय कोभिड–१९ पछि अनलाइन व्यवसाय फस्टाएको छ । के अब नेपाली समुदाय विस्तारै अनलाइन व्यापारमा आकर्षित भएको हो ?
अनलाइन र इकमर्स व्यवसाय नेपालमा तीव्र रूपमा विस्तार भइरहेको व्यवसायमा पर्छ । संसारका विकासोन्मुख देशको तथ्यांक हेर्ने हो भने नम्बार १ र २ मा नै अनलाइन व्यवसाय रहेको छ । नेपालमा भने पछिल्लो तीन वर्ष अझ कोभिड–१९ को पहिलो महामारीदेखि तीव्र रूपमा यो व्यवसायको विस्तार भइ नै रहेको छ, हुने क्रममा नै रहेको छ । एक अध्ययनले के भन्छ भने नेपालमा ८० देखि १ सय मिलियन अमेरिकन डलरको बजार रहेको जनाएको छ । रेट सियर कम्पनीको रिपोर्टले भनेको छ, यसको विस्तार भने अबको पाँच वर्षपछि १० गुणाले वृद्धि हुने आकलन गरिएको छ । अनलाइन व्यवसायको बजार भने विस्तारै बिलियन डलरमा परिणत हुँदैछ । यस्तो ठूलो बजारमा अनलाइन व्यवसाय गर्नेहरूको संख्यामा भने कमी रहेको छ । यसको विस्तार भने तीव्र रूपमा भइरहेको छ । आँकडामा नै हेर्ने हो भने पनि प्रत्येक वर्ष अनलाइन व्यवसायको विस्तार र कम्पनीको संख्यामा वृद्धि भने २ सय प्रतिशतसम्म भएको पाइन्छ ।

नेपालमा युवा उद्यमीको नजरमा लगानीको अवस्था कस्तो छ ?
नेपालमा १० वर्षअगाडि भने शून्य नै थियो । अहिले भने धेरै नै सुधार भएको छ । भेन्चर क्यापिटल (भीसीपी) फन्ड धेरै मात्रामा आएको छ नेपालमा । हाम्रो लगानी रहेको डोल्मा इन्प्याक्ट फन्डको ५०–६० मिलियनको फन्ड रहेको छ, जुन नेपालमा नै लगानी गर्न भनेर आएको फन्ड हो । सेबनमा पाँचदेखि सात ठूला कम्पनीले अनुमतिका लागि आवेदन दिएका छन् । यसरी बजेटमा नै अनुमति दिनु भनेको छ । त्यो लाइसेन्स प्राप्त गरेपछि भने बजारमा पाँच सय करोडभन्दा बढीको लगानी बजारमा आउने देखिन्छ ।
लगानीकर्ताको हिसाबले हेर्दा लगानी गर्न अवसर र वातावरण छ । नेपालमा के छैन भने नयाँ स्टार्टअपहरूका लागि सहजीकरण छैन । नयाँ आएका स्टार्टअप कम्पनीहरू सुरुवाती चरणमा रहेका छन् । पाँचदेखि दस वर्षको अवधि पार गरेका राम्रो अवस्थामा भएका कम्पनीहरू एकदमै कम रहेका छन् । यहाँ नेपालमा आपूर्ति धेरै छ भने माग कम रहेको अवस्था छ ।

स्वदेशमै केही गरौं भन्ने युवाहरूलाई राज्यले कत्तिको प्रोत्साहन गरेको छ ? वा कस्तो व्यवहार गरिरहेको छ ?
सरकारको नीति तथा कार्यक्रमदेखि हरेक तहमा उद्योगलाई प्राथमिकतामा राखेर स्वदेशमा रोजगारीको वातावरण तयार गर्ने भनिएको छ । तर, अध्ययन तथा तथ्यांक हेर्दा भने रेमिट्यान्सबाट नै देशको अर्थतन्त्र चलेको छ । यसबाट के देखिन्छ भने सरकारको नीतिनियम एकतिर छ भने व्यवहार र कार्यान्वयन शून्य रहेको देखिन्छ । स्वदेशमा नै रोजगारी दिने तथा युवालाई नेपालमा उद्यमशीलता विकास गर्ने कुरामा सरकारी तबरबाट धेरै काम गर्न बाँकी छ । हिजोमात्र हामीले एक कार्यक्रम गरेका थियौं, सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग सो कार्यक्रममा प्रस्तुत भएको तथ्यांकले नेपालको आईटी क्षेत्रले नेपालको अर्थतन्त्रको निर्यातमा २० प्रतिशत योगदान गर्न सक्ने क्षमता भए पनि हामीले हाल ३ प्रतिशतमात्र योगदान पु¥याउन सकेका छौं । आईटी नै नेपालकोे ठूलो वैदेशिक मुद्रा आर्जनको स्रोत हुनसक्छ पर्यटन व्यवसायभन्दा । तर, आईटीमा हामी कसैले काम गर्न तत्परता र लगानी गरेको छैन, न सरकारी तबरमा, न निजी क्षेत्रको तर्फबाट । अबको क्षेत्र भनेको आईटी नै हो, अब ढिला गर्नु हुँदैन भनेर हामीले पनि सरकारलाई तथा निजी क्षेत्रलाई घचघच्याइरहेका छौं । आजकै तथ्यांक हेर्ने हो भने पनि रेमिट्यान्सले चलेको अवस्था छ । नेपालमा अझ पनि वातावरण विकास भएको छैन, सरकारको पनि चाहना छ, तर कार्यान्वयन भने भएको छैन ।

पछिल्लो समय युवा उद्यमीहरूको संख्यामा वृद्धि आएको देखिन्छ । विशेषगरी सूचना प्रविधि, सेवा क्षेत्रमा उनीहरू आकर्षित भएका हुन् ? के कारणले समयकै माग हो ?
यो भनेको समयकै माग हो । संसारभर नै आईटीको विस्तार तीव्र रूपमा भएको छ । पछिल्लो समय आईटीले नै संसार चलेको छ । इन्टरनेटको प्रयोगबिना हामीले हाम्रो दैनिक जीवनयापन गर्न गाह्रो (असहज) हुने अवस्था आएको छ । अहिलेको समयमा आईटीसँग जोडेर कुनै काम गरिएन भने जति नै पुरानो कम्पनी भए पनि निरन्तरता दिन नसक्ने अवस्था छ । आईटीमा जोडेर काम नगरेपछि गाह्रो पर्ने अवस्था छ । नयाँ आएका कम्पनीहरू भने अवश्य पनि आईटी पे्र्रmन्ड्ली रहेका छन् । आईटीसँग सहकार्य नगरेका कम्पनी पछिल्लो समय बजारबाट हराउने अवस्थामा रहेका छन् ।

नेपालका उत्पादन भएका आईटीका जनशक्तिले विश्वभरका कम्पनीमा नै आफ्नो दक्षता देखाउन सक्ने सीप छ कि नेपालमा नै सीमित भएको अवस्था छ ?
नेपाल सानो देश हो । नेपाललाई मात्र बजार मानेर व्यवसाय गर्न थालियो भने त्यतिले पुग्दैन । अन्य व्यवसायमा जस्तो आईटीमा कुनै सीमा हुँदैन । नेपालमा बसेर विश्वभर नै काम गर्न सकिने हुन्छ । यसमा अलिकति असहज भनेको नेपाल सरकारले लगानी बाहिर गर्न नदिने रहेको छ । त्यो नीतिले गर्दा आईटी व्यवसाय गर्ने कम्पनीलाई एकदम गाह्रो भएको छ । यता बाहिरका मल्टिनेसनल कम्पनीले भने नेपाल आएर काम गर्ने गरिरहेको अवस्था छ । यहाँको बजारमा बाहिरको कम्पनीले बजार ओगटेका कारण लोकल कम्पनीलाई यहाँ प्रतिस्पर्धा गर्न गाह्रो भएको छ । सरकारको नीतिगत समस्याका कारण यहाँका लोकल कम्पनीले बाहिरको काम गर्नबाट वञ्चित भएको अवस्था छ, जुन न्यायोचित छैन ।

नयाँ युवा उद्यमीका लागि केही सन्देश दिनुहुन्छ ?
मुख्य कुरा भनेको विभिन्न बहानाबाजी गरेर बस्नुभन्दा दीर्घकालीन सोच राखेर व्यवसाय सुरु गर्नुपर्छ । यसका लागि करिब १० वर्षको दीर्घकालीन सोच दिनुपर्छ । केही समय कठिन छ तर असम्भव छैन भनेर निरन्तर लाग्नु जरुरी छ । यसका लागि इमानदारी, धैर्य र फरक सोचको विकास हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्