पोखरा महानगरले कृषि एम्बुलेन्स व्यवस्था गर्ने «

पोखरा महानगरले कृषि एम्बुलेन्स व्यवस्था गर्ने

पोखरा महानगरले कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न कृषि एम्बुलेन्स व्यवस्था गर्ने भएको छ ।
पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०७९/ ०८० को वार्षिक नीति तथा कार्यक्रम बुधबार महानगरको ११औं नगरसभामा प्रस्तुतः गर्दै पोखराका मेयर धनराज आचार्यले कृषि क्षेत्रको प्रवद्र्धन र उत्थान गर्न कृषि एम्बुलेन्स व्यवस्था हुने भएको बताए ।
कृषि उपज संकलनका लागि कृषि एम्बुलेन्स व्यवस्था गरी नियमित संकलनको व्यवस्था मिलाइने र मुख्य मुख्य कृषि उपजको न्युनतम समर्थन मूल्य ग्यारेन्टी गरी कृषि उत्पादनमा लगानी गर्ने वातावरण सिर्जना गरिने मेयर आचार्यले जनाए । ‘कृषि उत्पादनमा वृद्धिः महानगरको समृद्धि’ अवधारणा अनुसार कृषि क्षेत्रको आधुनिकीकरण गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गरिने उनले जनाए । कृषि उत्पादनको बजारीकरण, मूल्य श्रृंखला र भण्डारण सहयोगका लागि बारीदेखि बजारसम्मः गोठदेखि ओठसम्म अभियान सञ्चालन गरिने भएको मेयर आचार्यले जनाए । कृषि उपज संकलन केन्द्र र कृषि बजार मार्फत स्थानीय कृषि उपज बिक्री बितरण सुनिश्चित गरिने भएको भएको छ ।
‘समुन्नत पर्यटकीय पोखरा’ स्थापना गर्न दीगो ,पर्यावरणमैत्री, योजनाबद्ध र हरित शहरी विकास, उत्थानशील पर्यटकीय पूर्वाधार विकास निर्माण, सामाजिक न्यायपूर्ण, समावेशी तथा समतामुलक समाजको निर्माण, गुणस्तरीय र प्रतिस्पर्धी मानवस्रोत विकास, विभिन्न तहका सरकार र निजी क्षेत्रसँगको समन्वय, साझेदारी र सहकार्य, सुशासन, सदाचार र पारदर्शी सेवा प्रवाह र प्रविधिमैत्री, सूचना तथा ज्ञानमा आधारित व्यवस्थापन गरिने भएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
पोखरा महानगरपालिकाको सर्वेक्षण अनुसार ग्रस म्युनिसिपल प्रोडक्ट १ खर्ब १० अर्ब ५४ करोड रहने अनुमान गरिएको मेयर आचार्यले जनाए । जस अनुसार प्रतिव्यक्ति औसत आय १ हजार ६ सय ५ अमेरिकी डलर रहेको मेयर आचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

३३ वटै वडामा कम्तिमा एक सहकारी एक व्यावसायिक उत्पादन मार्फत रोजगारी सिर्जना गरिने भएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सहकारी मार्फत उत्पादित वस्तुको प्रशोधन, भण्डारण, बजारीकरण र विविधिकरण कार्यक्रम सञ्चालन गरिने भएको छ ।
यसैगरी महानगरभित्र रहेका सम्पूर्ण साना एवं ठूला उद्योगहरुको लगत तयार पारी औद्योगिक प्रोफाइल तयार गरिने भएको छ । प्रदेश सरकारको अग्रसरतामा निर्माण हुन लागेको औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्तिमा आवश्यक सहजीकरण गरिनेछ ।
युवा तथा साना व्यवसायी प्रवद्र्धन गर्न स्वरोजगार कोषसँगको सहकार्यमा स्वरोजगार सिजना गर्न अभियान चलाइने भएको छ भने पोखरेली चामल जेठोबुढो धान लगायत आफ्ना उत्पादनहरुलाई ब्राण्डिङ गर्दै पोख्रेली व्राण्ड स्थापना गर्ने र बजार प्रवद्र्धनमा विशेष योजना बनाएर लागु गरिने भएको नीति तथा कार्यक्रममा जनाइएको छ
बैदाम (लेकसाइड) का अलावा वेगनास ताल तथा अन्य पर्यटकीय गन्तव्यहरुको सौन्दर्यीकरण तथा प्रचार प्रसारमा जोड दिइने भएको छ भने पर्यटनका थप गन्तव्य जस्तै केभ टु केभ, लेक टु लेक, कोटदेखि कोटसम्म नयाँ सर्किट सडकको सम्भाव्यता अध्ययन गरिने भएको छ । पोखरालाई धार्मिक पर्यटनको क्षेत्रमा समेत विश्वमा परिचित गराउन लुम्बिनी पोखरा बुद्ध सर्किट निर्माण गर्न आवश्यक पहल गरिने भएको छ । प्रदेश सरकारसँगगको समन्वयमा बैदाम स्थित हिमा गृह र रत्न मन्दिर व्यावसायिक तवरले खुला गर्ने र पर्यटक प्रवद्र्धनमा सहयोग पु¥याउन पहल गरिने भएको छ ।
पर्यटकको बसाइ अवधि लम्बाउने तथा सेवा, सुविधा र सुरक्षाको प्रत्याभूति गर्दै पोखरालाई पर्यटकीय हवका रुपमा विकास गर्न निजी क्षेत्रसँग साझेदारी गरिने भएको छ । पोखरालाई संसारभर चिनाउन र पोख्रेली पर्यटन उद्योगको प्रवद्र्धन गर्न एक ल्याण्डमार्कको निर्माण गरिने भएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्