मधेस प्रदेशमा तीन जना उद्योगी व्यवसायी नगर प्रमुखको नेतृत्वमा «

मधेस प्रदेशमा तीन जना उद्योगी व्यवसायी नगर प्रमुखको नेतृत्वमा

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा मधेस प्रदेशका तीन वटा स्थानीय तहमा उद्योग वाणिज्य संघको नेतृत्व गरेका तीन जनाले स्थानीय सरकार प्रमुखको नेतृत्व सम्हालेका छन् ।
मधेस प्रदेशको ३ वटा जिल्लाको तीनवटा स्थानीय तहको नगर प्रमुखमा उद्योग वाणिज्य संघमा नेतृत्व गरेकाहरुले स्थानीय तहको सरकारको नेतृत्व तहमा पुगेका हुन् । बारा उद्योग वाणिज्य संघका अध्यक्ष विनोदप्रसाद साह कलैया उपमहानगरपालिकामा विनोदप्रसाद साह नगर प्रमुखमा निर्वाचित भएका छन् । रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष कण्ठमणीप्रसाद जयसवाल गरुडा नगरपालिकाका नगर प्रमुखमा निर्वाचित भएका छन् ।
त्यस्तै प्रहलादकुमार क्षेत्री महोत्तरीको बर्दिवास नगरपालिकाका नगर प्रमुखमा निर्वाचित भएका छन् । क्षेत्री स्वतन्त्र उम्मेदवारी दिएर नगर प्रमुखमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसबाट नगर प्रमुखका आकांक्षी भएपनि उनलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका हुन् ।
कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह नेकपा एमालेबाट निर्वाचित भएका हुन् । उनी नेकपा एमाले बाराका अध्यक्ष पनि हुन् । रौतहटको गरुडा नगरपालिका कानगर प्रमुख कण्ठमणी जयसवाल पनि नेकपा एमालेबाट निर्वाचित भएका हुन् । निजी क्षेत्रमा नेतृत्व गरिसकेका व्यक्तिहरु जनप्रतिनिधि निर्वाचित भई नेतृत्व तहमा आएपछि उद्योगी व्यावसायीहरु पनि निकै उत्साहित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष गणेश लाठ निजी क्षेत्रबाट नीति निर्माण तहको नेतृत्वमा पुग्नु खुशीको विषय भएको बताए ।

उनले भने, “संघ संस्थाको नेतृत्व गरिसकेका अनुभवी व्यक्ति स्थानीय सरकारको नेतृत्व गर्न पुग्नुभएको छ । उद्योगी व्यवसायीहरुको पक्ष र हितमा काम गर्नुहुन्छ भन्ने विश्वास छ ।” उद्योग वाणिज्य संघलगायत विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध भएर काम गरिसकेको अनुभव भएकाले स्थानीय तहको विकासमा तुलनात्मक परिवर्तन देख्न पाइने अपेक्षा गरेको अध्यक्ष लाठको भनाइ छ । लाठले भने, “उहाँहरु आफंै उद्योगी व्यवसायीको समस्या, आवश्यकताहरु बुझेका व्यक्ति हुनुहुन्छ । आर्थिक कारोबार पनि गरेको अनुभवहरु पनि छ । त्यसैले आफूले नेतृत्व गरेको स्थानीय तहको विकास र उद्योग, व्यापार क्षेत्रको उन्नतीका लागि काम गर्नुहुन्छ भन्ने अपेक्षा छ ।”
मधेस प्रदेशका खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्मा पनि निजी क्षेत्रबाट जनप्रतिनिधिको रुपमा नेतृत्वमा आउनेहरुले अरुले भन्दाविकास गर्न सक्छन् भन्ने विश्वास गर्छन् । उनी भन्छन्, “निजी क्षेत्रको संगठनमा एकैपटक पुग्नसक्न सकिदैन त्यहाँ एउटा पद्धतिको विकास गरिएको छ कि सदस्यबाट पदाधिकारी हुँदै नेतृत्वमा पुग्नुपर्छ । त्यसैले स्थानीय तहको सरकारको नेतृत्वमा गएपछि कतिपयले गर्न सक्लान कतिपयले नसक्लान त्यो पाँच वर्षपछि देख्न पाइन्छ ।
तर, उद्योग वाणिज्य संघहरुले अहिलेसम्म उद्योगी व्यवसायीको मात्रै नभएर समग्र आर्थिक विकासको मुद्दा उठाउने गरेकाले पनि स्वभाविक रुपमा नेतृत्व सफल हुन सक्छन् ।” निजी क्षेत्रको संगठन एउटा सामाजिक सेवा गर्ने थलो भएर कुनै आम्दानी र लाभको पछि नलाग्ने, जनतासँग प्रत्यक्ष र परोक्ष सरोकार राख्ने विषयका मुद्दाहरु नै उठान गर्ने भएको हुँदा निजी क्षेत्रको नेतृत्वबाट जितेकाहरुले राम्रै काम गर्ने अपेक्षा राख्न सकिने मन्त्री शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्