झापाका १५ वटै स्थानीय तहमा बजेटको तयारी «

झापाका १५ वटै स्थानीय तहमा बजेटको तयारी

आर्थिक वर्ष २०७९/ ०८० का लागि झापाका १५ वटै स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधि बजेट बनाउन व्यस्त छन् ।
वडागत रुपमा त्यहाँका समस्या र प्राथमिकतालाई पहिचान गर्दै नवनिर्वाचित जनप्रतिनिधिले बजेटको सिलिङ बनाइरहेका छन् ।
स्थानीय तहले १० असारमा बजेट ल्याउनैपर्ने कानूनी प्रावधान रहेकाले सोही अनुसार झापाका १५ वटै स्थानीय तहले बजेटको खाका तयार गरिरहेका छन् । उनीहरुले प्राथमिकताका विषयलाई सम्बोधन गरेर बजेट तयार गरीरहेका छन् ।
बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईं यस वर्षको बजेट जनमुखी हुने बताउँछिन् । शिक्षा, स्वास्थ, कृषि, युवालाई स्वरोजगार बनाउन कर्जा, अनुदान, प्रविधि उपलब्ध गराइने, पूर्वाधार विकासलगायतलाई प्राथमिकतामा राखेर बजेट बनाइएको उनी बताउँछिन् ।
कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल विकास निर्माणलाई प्राथमिकता दिएर बजेट बनाएको बताउँछन् । कनकाईवासीले अपनत्व गर्ने किसिमको बजेट आउने बताउँदै उनले विकास निर्माण, शिक्षा, स्वास्थ्य आदिले यसपटकको बजेटमा स्थान पाउने दावी गरे ।
बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं अब आउने बजेट जनप्रिय र किसान लक्षित हुने बताउँछन् । कृषि, स्वास्थ्य र शिक्षालाई समेत विशेष महत्व दिएर बुद्धशान्ति गाउँपालिकाको बजेट बनाएको उनले बताए ।
कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले कृषि बिमा र स्वास्थ्य बिमालाई प्राथमिकता दिँदै बजेट बनाएको बताएका छन् । कृषि बिमा र स्वास्थ्य बिमालाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको उनी बताउँछन् ।
झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले किसानलाई राहतसहितका कार्यक्रम, युवा र महिलालाई स्वरोजगार बनाउन तालिम, सडक, शिक्षालाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको बताए ।
बाह्रदशी गाँउपालिकाका अध्यक्ष देवीन्द्रप्रसाद चौलागार्इँ कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर बजेट बनाइएको बताउँछन् ।

कक्षा १२ सम्म निःशुल्क शिक्षा, गाउँपालिकामा एमबीबीएस डाक्टरको सुविधा, गर्भवती महिलाको निःशुल्क भिडियो एक्स–रे, सुत्केरी महिलालाई पोषणयुक्त आहारको व्यवस्था, स्वास्थ्य संस्थामा एक्स–रेको व्यवस्था, अशक्त, ज्येष्ठ नागरिक र वृद्धवृद्धाको उपचारमा विशेष ध्यान दिएर बजेट निर्माण गरिएको उनले बताए ।
गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलमती राजवंशीले गौरीगञ्जबासीको आवश्यकतालाई मध्यनजर गर्दै बजेट ल्याउने बताएकी छन् ।
हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले पूर्वाधारको विकाससँगै यसपटक घरभेट कार्यक्रमलाई बजेटमा जोड्ने बताएका छन् । घरभेट कार्यक्रम अन्तर्गत रोगी, अशक्त र ज्येष्ठ नागरिकलाई घर–घरमै स्वास्थ्य सेवा प्रदान गर्ने, सुत्केरी महिलालाई भत्ताको व्यवस्था, कक्षा १२ सम्म निःशुल्क शिक्षा, जनता उपचार कोषमार्फत पु¥याइँदै आएको स्वास्थ्य सेवा, पशु सुत्केरी भत्ता, प्राविधिक शिक्षालाई बजेटमा प्राथमिकता दिइएको उनले बताए ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले किसानमुखी कार्यक्रम बजेटमा राखिएको बताए ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल विकासमुखी बजेट निर्माण गरिएको बताउँछन् । भौतिक पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, स्वरोजगार बनाउन तालिमलगायतलाई यसपटकको बजेटमा प्राथमिकता दिइएको उनी बताउँछन् ।
दमक नगरपालिकाका प्रमुख राम थापाले आगामी बजेट शिक्षा, स्वास्थ्य र विपन्न समुदायका नागरिकको प्राथमिकतामा रहने बताए ।
अबको बजेटमा दमक नगरमा रहेका सबै सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तरमा व्यापक सुधार ल्याउने, विपन्न वर्गका नागरिकको दैनिक जिवनयापन र स्वास्थ्यका क्षेत्रमा यो वर्ष कम्तीमा १ हजार विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने, विपन्न परिवारको पहिचान गरी खाद्यान्नको व्यवस्था गर्ने, दमकका गौरवका योजनालाई प्राथमिकतामा राखिएको उनले बताए ।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले भौतिक पूर्वाधार विकास, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर बजेट बनाइएको बताए ।
शिवसताक्षी नगरपालिकाका नगर प्रमुख रोशन थोप्राले स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकतामा राखेर यस पटकको बजेट निर्माण गरिएको बताए । स्वास्थ्य सेवाको गुणस्तर तथा क्षमता अभिवृद्धि गर्ने, कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, गुणस्तरीय शिक्षा प्रदान गर्ने, उद्यमशिलता विकास र आयआर्जन गर्ने, जनशक्ति परिचालन र रोजगारी सिर्जना गर्ने, सेवा प्रवाहमा प्रभावकारिता र सुशासन कायम गर्ने, आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्ने कार्यलाई प्राथमिकतामा राखेर यस पटकको बजेट निर्माण गरिएको उनले बताए ।
अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देनले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारलाई प्राथमिकतामा राखेर यसपटकको बजेट निर्माण गरिएको बताएका छन् ।
गौरादह नगरपालिकाको मेयर छत्रपति सुवेदीले रोजगारी सृजना, उत्पादन वृद्धि, कृषि तथा पशु विकास, घरेलु तथा लघु उद्यममा जोड, शिक्षा र स्वास्थ्य, खानेपानी लक्षित वर्गको जीवनस्तर उकास्ने, दिगो पूर्वाधार विकास, सुशासन तथा सूचना प्रविधि, निजी क्षेत्रसँग सहकार्यलगायतलाई प्राथमिकतामा राखेर बजेट तयार गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्