‘दलको सत्तामोहले जनताले दुःख पाए’ «

‘दलको सत्तामोहले जनताले दुःख पाए’

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको बा¥हौं नगरसभा उद्घाटन गरेका छन् ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले नगरसभा पूर्ण सफलताको कामना गर्दै भूगोल, इतिहास, राजनीतिशास्त्र, अर्थशास्त्र आदि विषयबारे विद्यार्थीलाई जानकार गराउन शिक्षकहरूले जोड दिनुपर्ने बताए । शासक दलको सत्ता मोहले गर्दा जनताले दुःख पाइरहेको उल्लेख गर्दै उनले मन्त्रीले ऐन लागू गर्ने भन्दा पनि नीतिगत काममा जोड दिनुपर्छ बताए । नेपालका युवालाई सही राजनीतिक ज्ञान नदिँदा विदेशी संस्कृतिले प्रभाव जमाइरहेकोेमा चिन्ता व्यक्त गर्दै उनले एसियामा तेस्रो विश्वयुद्ध हुने सम्भावना प्रवल रहेको दाबी गरे ।
विश्वविद्यालयको सञ्चालन नगर राज्यबाटै सुरु भएको बताउँदै अध्यक्ष बिजुक्छेँले ख्वप विश्वविद्यालय सञ्चालनले देशभरिका विद्यार्थी लाभान्वित हुने बताए । भक्तपुर नपाले चित्रकला विषयको अध्यापनमा जोड दिनुपर्ने उनको भनाइ थियो । आध्यात्मिक विकास नभई भौतिक विकास सम्भव नहुने बताउँदै नेपालमा राजनीतिक संगठन र बन्दोबस्त सही नहुँदा राणाशासन पतन भएको उनको जिकिर थियो ।

नेमकिपाका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भारतीय एकाधिकार पुँजीले नेपाललाई अघोषित नाकाबन्दी गरिरहेको बताउँदै नेपाल सरकारको बजेट जनमुखी नभई पुँजीपति वर्गको हितमा रहेको बताए ।
भक्तपुर नगरलाई सफा, स्वच्छ, सांस्कृतिक र पर्यटकीय गन्तव्यस्थल बनाउन जनप्रतिनिधि निरन्तर क्रियाशील हुनुपर्ने बताउँदै उनले विकास निर्माणमा उपभोक्ता समितिमार्फत आर्थिक अनुशासनमा बसी पारदर्शी ढंगले सम्पन्न गर्ने कार्यलाई नगरपालिकाले चालू राख्नुपर्ने बताए ।
कुहिने र नकुहिने फोहर अलग अलग संकलन गर्न सके ८० प्रतिशत फोहोर स्रोतमै घट्ने बताउँदै उनले अस्पताल र उद्योगबाट निस्कने फोहोरको विशेष रूपमा संकलन गर्ने बन्दोबस्त नगरपालिकाले गर्नुपर्ने बताए ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको आव २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर र नगरबासीहरूको हितलाई केन्द्रमा राखी काम गर्ने प्रतिबद्धता जनाए । उनले ख्वप विश्वविद्यालय विधेयक पारित गर्न निरन्तर पहल गर्ने र विश्वविद्यालय सञ्चालन गर्न विज्ञहरूको टोलीसमेत गठन गरी आवश्यक तयारी गर्ने उल्लेख गर्दै ख्वप अस्पतालमा प्रसूति सेवा सञ्चालनमा जोड दिने बताए ।
नगरपालिकाद्वारा प्रवाह गरिने सेवा सुविधालाई सरल, छिटो बनाइने र अनलाइनबाट कर तिर्ने र नक्सापासको प्रक्रिया अगाडि बढाइने योजना रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्