दुई अस्पतालले उपचार सेवा बन्द गर्ने चेतावनी «

दुई अस्पतालले उपचार सेवा बन्द गर्ने चेतावनी

स्वास्थ्य बिमा गरेका नागरिकको उपचार रकम सरकारले असार २० गतेसम्म भुक्तानी नगरे दुई अस्पतालले उपचार सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।
बुधबार बीएण्ड सी र नोबेल मेडिकल कलेजले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले स्वास्थ्य बिमा गरेका बिरामीले उपचार गरेको रकम असार २० गतेसम्म भुक्तानी नगरे उपचार सेवा बन्द गर्ने बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै बीएण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले सरकारले असार २० गतेसम्म रकम भुक्तानी नगरे स्वास्थ्य सेवा बन्द गर्ने बताए । उनले सरकारी अस्पतालमा ८ करोड पुग्दा सेवा बन्द गर्ने निर्णय गरिसकेकाले आफूहरूले पनि बन्द गर्न सरकारले बाध्य बनाएको आरोप लगाए । सञ्चालक प्रसाईंले सरकारले ल्याएको बिमा नीतिमा जनतालाई सबै कुरा निःशुल्क भनेर भ्रम छरिएको बताए । उनले सरकारले अहिले स्वास्थ्य बिमामा छुट्याएको रकममध्ये ३ अर्ब बीएन्ड सीलाई दिए पूर्वका ३२ लाख जनतालाई घरसम्म नै एम्बुलेन्स सेवा पु¥याउने गरी उपचार दिने बताए ।

उनले भने, ‘सरकारले स्वास्थ्य बिमामा १ खर्ब ३ अर्ब छुट्याउनु तलदेखि माथिसम्म मिलाएर खान हो । त्यहाँ एउटै काम हुँदैन । स्वास्थ्य बिमाको लागि मेची अञ्चललाई सरकारले ३ अर्ब दियो भने त्यो क्षेत्रका सबै जनता बिरामी हुँदा निको बनाउने काम मेरो भयो । सरकारले स्वास्थ्य बिमा बापतको रकम असार २० गतेसम्म भुक्तानी नदिए स्वास्थ्य बिमा सेवा बन्द गरिन्छ । सरकारी अस्पताल टिचिङमा ८ करोड रकम पुग्दा सेवा बन्द गर्ने भयो । त्यहाँ सबै तलवभत्ता सरकारले खुवाउँछ, धरानको सरकारले खुवाउँछ बन्द गर्ने भयो । हामीलाई कसले दिन्छ । सरकारले स्वास्थ्य बिमा मेचीका ३२ लाख जनतालाई घरबाट एम्बुलेन्स लिएर गएर घरमा नै पु¥याउने गरी उपचार दिन तयार छु । किन सरकारले १ खर्ब बजेट छुट्याउनु हुन्छ । ५० अर्बमा हामी काम गरिदिन्छौं । बिरामी भएका जनताले उपचार गर्ने हो नभएकाले होइन । जनतालाई एउटा भ्रम छरिएको छ । स्वास्थ्य बिमा गरेपछि सबै निःशुल्क उपचार भनिएको छ । बिमाको एउटा कुन औषधी दिने सीमा रहेको छ । अब सरकारले स्वास्थ्य बिमामार्फत अस्पतालमा उपचार गर्दा १ लाख रकम लाग्दा ५० हजार सरकारले तिर्ने र सिधै अस्पतालमा जाने वातावरण बनाउनुपर्छ ।’
सञ्चालक प्रसाईंले आगामी ५ वर्षमा नेपालमा सञ्चालनमा रहेका निजी अस्पताल बन्द हुने दाबी गरे । उनले सरकारको नीतिले आगामी वर्षभित्र सबै निजी लगानीका अस्पताल बन्द हुने बताए । प्रसाईंले गोविन्द केसीले अनसन बसेर ल्याइएको पछिल्लो ‘चिकित्सा शिक्षा ऐन’ का कारण यी सबै कलेज बन्द हुने तरखरमा रहेको दाबी गरे । उनले अब नेपालमा नर्सिङसमेत पढ्नै नपाइने अवस्था आउन लागेको बताए ।
उनले भने,‘अबको पाँच वर्षमा नेपालका सबै अस्पतालहरू बन्द हुँदैछन् । किन बन्द हुँदैछ भन्दा गोविन्द केसी अनसन बसेर चिकित्सा शिक्षा ऐन आयो । त्यो ऐनले देशमा सञ्चालनमा रहेका १५० नर्सिङ कलेजमध्ये १३७ वटा नर्सिङ कलेज बन्द ग¥यो । भएका कलेज बन्द भएकाले नर्सिङ नेपालमा पढ्न नपाउने भएका नर्सहरू विदेश जाने गरिएको छ । नर्स उत्पादन हुने अवस्था छैन । अबको ७ वर्षमा उत्पादन भएका नर्स सकिँदै जान्छन् । त्यसपछि भारत र फिलिपिन्सबाट नर्स ल्याउनुपर्ने हुन्छ । मैले अहिले शुरुवात गरिसके । अहिले नेपालका शिक्षण अस्पताल बन्द गरेर पढ्न विद्यार्थीलाई बाहिर पठाइरहेका छौं । अब नेपालमा भएका नर्सलाई पनि बाहिर पठाउँदैछौं । यसपछि, नेपालका सबै अस्पताल बन्द भएपछि बिरामीलाई पनि विदेश पठाउनु पर्छ ।’
प्रसाईंले नेपालमा नर्सिङ पढाई नहुने र भएका नर्स विदेशतर्फ जानेक्रम बढेपछि ५ वर्षपछि नेपालले भारत वा अन्य तेस्रो मुलुकबाट नर्स ल्याउनुपर्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्