बाढीपहिरोबाट सचेत बनौं «

बाढीपहिरोबाट सचेत बनौं

यो वर्ष मनसुन अगाडि नै आएको छ । निरन्तर वर्षाका कारण बाढीपहिरोको उच्च घटना बढ्दै गइरहेको छ । यतिबेला आममानिस सचेत हुनुपर्ने समय आएको छ । लगातार वर्षाका कारण सडक राजमार्ग अवरुद्ध हुन थालेका छन् । पहिरोले घरबारविहीन हुने अवस्था सिर्जना भएको छ । यसकारण वर्षाको सिजनमा पहिरोले भयावह अवस्था बनाउँदै आइरहेको छ ।
नेपाल पहिरोको उच्च जोखिममा रहेको छ । यहाँको भूबनोट निकै कमजोर भइसकेको छ । जलवायु परिवर्तन र असरका कारण समयमा पानी नपर्ने, परे तापनि अतिवृष्टि हुने हुँदा पहिरोका घटना बढ्दै गइरहेको छ, जुन यो वर्षको वर्षाले पनि पुष्टि गर्छ । हाम्रो मुलुकमा वर्षाको सिजनमा ८० प्रतिशतसम्म वर्षा हुने हुँदा हाम्रो जमिन एकदमै कमजोर बन्ने गरेको छ । विभिन्न समयमा जाने विनाशकारी भूकम्प, त्यस्तै स्थानीय सरकार बनेसँगै बिनाअध्ययन जथाभावी रूपमा गाउँगाउँ सडक खन्दै जाँदा जमिन अत्यन्त कमजोर बन्दै गइरहेकाले पहिरोका घटना पनि बढ्दै गइरहेका हुन् भनेर अनुमान गर्न गाह्रो पर्दैन ।
बर्सातको समयमा तराईमा हुने डुबान अनि पहाडमा पहिरोसँगसँगै जाने बाढीले बर्सेनि जनधनको ठूलो क्षति पु¥याइरहेको हुन्छ, जसको ज्वलन्त उदाहरणका लागि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकालाई हेर्न सकिन्छ । त्यो भेगमा २०७८ सालको बर्सातमा पहिरोसँगै बाढी आउनाले निकै ठूलो धनजनको क्षति बेहोर्नुपरेको थियो । भौतिक रूपमा क्षति भएका घरहरू अहिलेसम्म पनि उठ्न सकेका छैनन् । घटनालाई बिस्तारै बिर्संदै स्थानीय नियमित कार्यमा त लागेका छन् तर त्यो चोट बिर्सन सकेका छैनन् । सो सालको बर्सात कस्तो हुने हो भन्ने चिन्ताले सताइरहेको छ ।
हुन त पहिरोका विभिन्न प्रकार हुन्छन् । पहिरो भन्नेबित्तिकै वर्षामा मात्र जान्छ भन्नु गलत हुन सक्छ, किनकि हाम्रो मुलुकमा सुक्खा पहिरोसमेत जाने गर्छ । सुक्खा पहिरोका कारण पनि निकै क्षति बेहोर्नुपरेको घटना हामीसामु रहेका छन् । गत वर्षको बर्सातमा पहिरोका घटना निकै भएका थिए, जसबाट मुलुकले ठूलो मात्रामा धनजनको क्षति बेहोर्नुपरेको थियो । विपद्लाई निगरानी गर्ने निकाय भनेको सरकारका तर्फबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण रहेको छ, जसले विभिन्न विपद्लाई न्यूनीकरण गर्न पहलकदमी गर्ने गरे तापनि विपद्का घटना न्यूनीकरण हुन सकिरहेको छैन । झन् यो बर्सातको समयमा पहिरोका घटना निकै घटेका छन् । नागरिकलाई पहिरो सम्भावित क्षेत्रमा पहिरो जान सक्ने जानकारीसहित पूर्वसूचना प्रणालीको व्यवस्था मात्रसमेत गर्न सक्ने हो भने पनि क्षतिलाई कम गर्न सकिन्छ, जुन सम्बन्धित निकायले समयमा नै यस्ता विषयमा ध्यान दिनुपर्ने देखिन्छ ।
हामीले सरकारको मात्र बाटो हेरिरहने भन्दा पनि आफ्नो स्थानबाट गर्न सकिने कार्यहरूलाई तत्परता देखाउनुपर्ने हुन्छ । किनकि त्यसबाट हामी पहिरोबाट सुरक्षित हुन सक्छौं । जस्तै आफ्नो वरपरको जमिन चिरा परेको ठाउँमा पानी नछिर्ने गरी टाल्ने वा त्यस स्थानबाट सुरक्षित स्थानमा स्थानान्तरण हुने हो भने पहिरोबाट बच्न सक्छौं । त्यस्तै नदी खोलामा बाढी आएमा माथिल्लो भेगका मानिसहरूले तल्लो भेगका मानिहरूलाई सूचना प्रदान गर्ने कार्य नागरिकस्तरबाट गर्न सक्ने हो भने पनि हामीले पहिरो रोकथाममा सहजीकरणको भूमिका निर्वाह गर्न सक्छौं ।

प्रतिक्रिया दिनुहोस्