बजेटभन्दा बढी व्यापारघाटा हुँदा सरकार मौन «

बजेटभन्दा बढी व्यापारघाटा हुँदा सरकार मौन

केन्द्रीय बैंक तथा सरकारले आयात नियन्त्रण तथा निषेध गरे तापनि नेपालमा आयात भने बढ्दो क्रममा नै छ । आयात नियन्त्रण गरेर विदेशी मुद्रा सञ्चितिमा परेको चाप न्यून गर्न खोजे तापनि यसको प्रभाव भने देखिएन । आयात बढेको बढ्यै गरेका कारण विदेशी मुद्रा सञ्चितिमा चाप पनि बढेको बढ्यैै छ, जसका कारण नेपालको वैदेशिक व्यापारघाटा ११ महिनामै चालू आर्थिक वर्षको बजेटभन्दा बढी पुगेको छ । चालू आर्थिक वर्षको आयातको प्रवृत्ति हेर्दा बजेटभन्दा आयात बढी हुने देखिएकै थियो । तर, सरकारले गरेको निषेधात्मक आदेशका कारण आयात केही घटेको झैं देखिए तापनि जेठ मसान्तसम्ममा मुलुकको व्यापारघाटा २५ प्रतिशतले बढेर १५ खर्ब ७७ अर्ब पुगिसकेको छ । सरकारले चालू आर्थिक वर्षको मध्यावधि समीक्षामार्फत बजेटको आकार घटाएर १५ खर्ब ४६ अर्ब २८ करोड बनाएका कारण पनि बजेटसँगको तुलनामा जेठ मसान्तसम्मको व्यापारघाटा ३१ अर्बभन्दा बढी पुगेको मान्न सकिन्छ । तर, सरकारले बजेटको आकार नघटाएको भए पनि असारमा अझै बढी आयात हुने कारणले व्यापारघाटा बढ्न जाँदा बजेटको अंकको हाराहारी पुग्ने निश्चित नै थियो । आर्थिक वर्ष सकिन एक महिना बाँकी रहेका कारण व्यापारघाटा अझै बढेर आउँदा सरकारको आयातमा कडाइको पनि कुनै उपादेयता नदेखिने पक्का छ । भन्सार विभागको तथ्यांकका अनुसार जेठ मसान्तसम्ममा नेपालबाट वस्तु तथा सेवाको निकासी ५३.३ प्रतिशतले बढेर १ खर्ब ५५ अर्ब पुगेको छ, तर आयात २७.५ प्रतिशतले बढेर १७ अर्ब ६३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । निकासी बढ्नु सकारात्मक भए पनि निकासी भएका वस्तुको सूची हेर्दा दीर्घकालीन नहुने एवं भारतसँगको भन्सारको फरकका कारण निकासी बढेको देखिन्छ, जुन नेपालको आफ्नो वशमा छैन । यस्ता वस्तुमा जुन दिन भारतले आफ्नो भन्सार दरमा हेरफेर गर्छ, त्यसपछि नेपाली निकासी तत्काल घट्न थाल्छ । त्यसैले सरकारले दीर्घकालीन निर्यात नीति बनाउने तथा आयात प्रतिस्थापनको भाषण गर्नेभन्दा पनि व्यवहारमा कडाइका साथ लागू नगर्ने हो भने नेपालको बाह्य क्षेत्रमा सुधार आउँदैन, जसका कारण विदेशी मुद्रा सञ्चितिमा परेको दबाब घट्न सक्दैन । त्यसमाथि साउनदेखि सरकारले हाल आयातमा गरेको नियन्त्रण पनि खुकुलो पार्ने बताएको छ, जसका कारण आगामी आर्थिक वर्षको सुरुवातदेखि नै फेरि आयातको भार बढ्ने देखिन्छ ।
नेपालबाट निर्यात बढाउन निर्यातयोग्य वस्तुको अभाव मात्र छैन । भएका निर्यातयोग्य वस्तुको उत्पादन लागत बढेका कारण नेपाली वस्तु अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी हुन नसक्ने हुँदै गएको छ, जसका कारण आयात झन् बढ्ने अनि निर्यात घट्ने देखिन्छ । आगामी आर्थिक वर्षमा पनि रेमिट्यान्स आय बढेन भने विदेशी मुद्रा सञ्चितिमा दबाब झन् बढ्दै जान्छ । त्यसैले नेपालले उच्च प्रतिस्पर्धी क्षमतासहित निर्यातयोग्य वस्तुको उत्पादन गर्न÷गराउन प्रोत्साहन दिन अत्यावश्यक छ । सरकारले उद्योगी–व्यवसायीलाई कम मूल्यमा उच्च गुणस्तरका वस्तु उत्पादन गर्न प्रोत्साहन गर्नुको साटो झन् जटिल परिस्थिति सिर्जना गरेर निरुत्साहित गरेका कारण नै व्यापारघाटा भयावह भएको हो । नेपालले आफ्नो प्रतिस्पर्धी क्षमता नबढाएका कारण ग्लोबल कम्पिटिटिभनेस रिपोर्टअनुसार विश्वका १ सय ४१ देशमध्ये १ सय ८ औं स्थानमा छ । नेपालमा श्रम, विद्युत् तथा लजिस्टिकजस्ता समस्या बढी रहेका कारण कम लागतमा वस्तु उत्पादन गर्न सकेको छैन भने अर्कातिर नेपालको उत्पादकत्वमा पनि ह्रास आएको छ, जसका कारण नेपाली अर्थतन्त्र पूर्ण रूपमा आयातमुखी बनेको छ । त्यसैले सरकारले बेलैमा चिन्तन नगर्ने हो भने नेपाली वस्तुको उत्पादन बिस्तारै बन्द हुने निश्चित छ । किनकि कृषिजन्य वस्तु ३ खर्ब ५० अर्बको आयात गर्ने अनि पेट्रोलियम पदार्थ करिब ३ खर्बको आयातको विकल्प नभएसम्म नेपालको निर्यातले एउटा वस्तु आयातको पैसा तिर्न पनि नसक्ने अवश्था छ । जसलाई परिवर्तन गर्न दृढ इच्छाशक्तिसहितको कठोर, अनुशासित, जवाफदेही तथा वित्तीय रूपमा पारदर्शी सरकार चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्