Logo

इन्टरनेट प्रविधिको विकासका कारण सूचना तथा सञ्चार प्रविधिमा निकै परिवर्तन भएको छ । एनिथिङ एन्ड एभ्रिथिङ इन्टरनेट अवधारणाको विकास भएको छ ।

वरदान तथा अभिशापको रूपमा इन्टरनेट

औपचारिक रूपमा इन्टरनेटको सुरुवात सन् १९८३ जनवरी १ मा भएको मानिन्छ, जुन बेला यसका प्रयोगकर्ताहरू नगन्य मात्रामा थिए । सन् १९५५ मा विश्वका १ प्रतिशत जनसंख्यामा सीमित इन्टरनेट सेवा भएकोमा सन् २००० मा ६.८ प्रतिशत पुग्यो । सन् २०२१ जनवरी महिनासम्ममा विश्वको सरदर ५१.५ प्रतिशत जनसंख्यामा यसको पहुँच पुग्यो । आज इन्टरनेट प्रविधिको विकासका कारण सूचना तथा सञ्चार प्रविधिमा निकै परिवर्तन भएको छ । एनिथिङ एन्ड एभ्रिथिङ इन्टरनेट अवधारणाको विकास भएको छ । वास्तवमा गुगल, विकिपिडिया, युट्युब, ट्विटर, फेसबुक, स्टाटस पोस्ट, स्काइप, भाइबर कल र इन्स्ट्राग्रामजस्ता मानवोपयोगी एप्लिकेसन इन्टरनेटको विकासका कारण सम्भव भएको हो, जसबाट प्रत्येक दिन करोडौं व्यक्तिले फाइदा लिएका छन् ।
इन्टरनेटको विकासका कारण ई–एजुकेसन, दूर शिक्षा, ई–सपिङ, भर्चुअल अफिस, कागजविहीन कार्य, आर्टिफिसियल इन्टेलिजेन्स, भिडियो कन्फरेन्स, मिति थाहा पाउन, कुनै चिज वा वस्तु प्रयोग गर्ने तरिका जान्न, कुनै चिजको भिडियो प्रयोग गर्न, मोबाइल, कम्प्युटर, ल्यापटप, आइप्याड, ट्याब्लेट आदिको प्रयोग गर्न सहज भएको छ । यति मात्र होइन, इन्टरनेटको विकासको कारण भाषा परिवर्तन गर्न, नयाँ भाषा तथा शब्दको विकास गर्न सघाउ पुगेको छ । दूरसञ्चारमा विकास भएको कारण क्यासलेस ट्रान्जेक्सन डिजिटल क्यास सम्भव भएको छ । वास्तवमा डिजिटल क्यास अवधारणाको विकास हुनु भनेको मुद्रा बनाउँदा वा कागतको नोट छाप्दा लाग्ने खर्च कटौती गर्नु हो, जसबाट राष्ट्रको धन तथा सम्पत्ति बचत हुन्छ । मानव जीवनलाई सुखी बनाउन नवीन चिजहरूको आविष्कार भएको छ । यसै सन्दर्भमा इन्टरनेटको आविष्कारले मानव जीवनमा नयाँ आशाहरू पलाएको छ ।
सन् २००५ मा विकसित मुलुकहरूमा ४४.९ प्रतिशत, विकासशील मुलुकहरूमा ९ प्रतिशत, अति कम विकसित मुलुकहरूमा ०.६ प्रतिशतसहित विश्वका औसित १८.९ प्रतिशत घरधुरीमा इन्टरनेट सेवा पुगेको थियो । सन् २०१० मा विकसित देशहरूमा ६६.३ प्रतिशत, विकासशील देशहरूमा १९.८ प्रतिशत र अतिकम विकसित मुलुकहरूको ३४ प्रतिशत घरधुरीमा इन्टरनेट सेवा पुगेको थियो । यसैगरी सन् २०२० मा विकसित मुलुकहरूमा ८७ प्रतिशत, विकासोन्मुख मुलुकहरूमा ४६.७ प्रतिशत र अति कम विकसित मुलुकहरूमा अन्दाजी ११ प्रतिशत घरधुरीहरूमा इन्टरनेट सेवा पुग्ने अनुमान गरिएको थियो ।
सन् २००५ मा विश्वको इन्टरनेट डेन्सिटी १६.८ प्रतिशत थियो भने विकसित मुलुकहरूमा ५२.८ प्रतिशत, विकासोन्मुख मुलुकहरूमा १८.१ प्रतिशत र अति कम विकसित मुलुकहरूमा १.४ प्रतिशत थियो । यसैगरी सन् २०२० मा विश्वको इन्टरनेट डेन्सिटी ५९.६ प्रतिशत पुग्यो भने विकसित मुलुकहरूमा ८६.६ प्रतिशत, विकासोन्मुख मुलुकहरूमा ४७ प्रतिशत र अति विकसित मुलुकहरूमा १९.१ प्रतिशत पुग्यो । यी तथ्याङ्कहरूले विश्वमा इन्टरनेटको पहुँच बढिरहेको आभास हुन्छ ।
वस्तुतः इन्टरनेटको स्पिड जति बढी भयो त्यति काम गर्न सहज हुन्छ । साधारणतया यसको स्पिड किलोबाइट, मेगाबाइट र टेराबाइट प्रतिसेकेन्डमा नापिन्छ । यसको गति विभिन्न देशमा फरक छ । उदाहरणका लागि यसको गति नेदरल्यान्डमा १७.३ एमबीपीएस, स्वीडेनमा १९.७ एमबीपीएस, नर्वेमा २० एमबीपीएस, जापानमा १८ एमबीपीएस, स्वीजरल्यान्डमा १८.४ एमबीपीएस, दक्षिण कोरियामा २६.३ एमबीपीएस छ भने नेपालमा र भारतमा ५ एमबीपीएसभन्दा पनि कम छ । बढी इन्टरनेट स्पिड हुने देशहरूले बढी फाइदा लिए पनि इन्टरनेट पहुँच पुगेका सबै देशहरू केही मात्रामा भए पनि लाभान्वित छन् ।
आज इन्टरनेट प्रविधिका कारण सूचना तथा सञ्चार प्रविधिमा निकै विकास भएको छ । सन् २००५ मा विश्वमा इन्टरनेट घनत्व १६.८ प्रतिशत हुँदा विकसित मुलुकमा ५२.८ प्रतिशत, विकासोन्मुख मुलुकमा १८.१ प्रतिशत र अति कम विकसित मुलुकहरूमा १.४ प्रतिशत छ । सन् २०२० मा विश्वमा इन्टरनेट घनत्व ५३.६ प्रतिशत पुग्दा विकसित मुलुकहरूमा ८६.६ प्रतिशत, विकासोन्मुख मुलुकहरूमा ४७ प्रतिशत र अति कम विकसित मुलुकहरूमा १९.१ प्रतिशत मात्र छ ।
हाल इन्टरनेटको धेरै विकास भए पनि यसको पहुँचमा लिङ्गीय विभेद छ । किनकि सन् २०१८ मा विश्वव्यापी रूपमा इन्टरनेट उपयोगमा महिलाहरूको पहुँच १२ प्रतिशतभन्दा कम थियो । जुन पुरुषहरूले उपभोग गर्नेभन्दा निकै नै कम मानिन्छ । सन् २०१९ मा विश्वको कुल जनसंख्यामध्ये ४.२५ अर्ब सहरमा र ३.५० अर्ब ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले इङ्गित गरेको छ । जबकि थ्रीजीको प्रयोग सहरी क्षेत्रमा ८९ प्रतिशत पुग्दा ग्रामीण क्षेत्रमा २९ प्रतिशत मात्र पुग्यो ।
सन् २००५ मा १.११ अर्ब व्यक्तिले इन्टरनेट प्रयोग गर्ने गरेकोमा सन् २०२० मा उक्त संख्या ४ अर्ब १३ करोड पुग्यो, जसमा विकसित मुलुकमा ३.०२ अर्ब, विकासोन्मुख मुलुकहरूमा १.११ अर्ब र अतिकम विकसित मुलुकहरूमा १९.०८ करोड मात्र प्रयोग गरेका थिए ।
एक अन्तर्राष्ट्रिय तथ्याङ्कअनुसार सन् २०२० सम्ममा ६६.४ प्रतिशत व्यक्ति इन्टरनेटको पहुँचबाट टाढा रेको देखिन्छ, जसमा अफ्रिकामा ७८ प्रतिशत, अरब क्षेत्रमा ४८.३ प्रतिशत, एसिया तथा प्रशान्त क्षेत्रमा ४७ प्रतिशत, कमनवेल्थ इन्डिपेन्डेन्ट क्षेत्रमा २४.१ प्रतिशत, युरोपमा १८ प्रतिशत र दक्षिण अमेरिकामा २९.१ प्रतिशत मानिस इन्टरनेट सेवाबाट वञ्चित रहेको देखिन्छ । वर्तमान समयमा क्लाउड आफैंमा बिग डाटा मानिन्छ । तर, यसको व्यवस्थापन, सञ्चालन, टिकाउपन र एक्सप्लोजन आफंै चिन्ताको विषय बनेको छ ।
क्लाउडका विज्ञहरूको भनाइअनुसार यो फुकुसीको आणविक भट्टीसरह विस्फोटकीय रहेको छ । यसले डाटा सेक्युरिटी, क्लाउड सेक्युरिटी र साइबर सेक्युरिटी गर्न निकै चुनौतीपूर्ण भएको छ । यसैगरी भ्वाइस सेक्युरिटी, क्रेडिट कार्डबाट भुक्तानी, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ पासवर्ड संरक्षण, फेसबुकबाट हुन सक्ने स्क्यान्डल आदि चुनौतीपूर्ण बन्दै गएको छ । यथार्थतः कुनै पनि एप्लिकेसनको नाजायज प्रयोग रोक्न कठिन भएको छ । यसैले विगतमा सामाजिक सन्जालका कारण रसियाको चुनाव प्रभावित भएको कुरा सर्वविदितै छ । इन्टरनेटको स्पिडमा विश्वका सबै देशमा समानता छैन । विशेषतः विकासोन्मुख तथा अति कम विकसित देशहरूमा उक्त स्पिड सन्तोषप्रद छैन । यसैले यी देशहरूमा उपभोक्ताहरूले इन्टरनेटबाट आजसम्म पनि ठोस फाइदा लिन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्