विमानस्थल हड्ताल गर्ने ठाउँ नभएको उड्डयन प्राधिकरणको भनाइ «

विमानस्थल हड्ताल गर्ने ठाउँ नभएको उड्डयन प्राधिकरणको भनाइ

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले विमानस्थल हड्ताल गर्ने ठाउँ नभएको बताए ।
मंगलवार प्राधिकरण कार्यालयमा पत्रकार सम्मेलन गर्दै महानिर्देशक अधिकारीले हवाई सेवा अत्यन्तै महत्वपूर्ण सेवा भएकाले विमानस्थल हड्ताल गर्ने ठाउँ नभएको बताए । उनले निजी वायुसेवा सञ्चालकहरु पनि अत्यन्तै जिम्मेवार भएकाले हवाइ उडान बन्द गरी नहाल्ने विश्वास रहेको बताए । महानिर्देशक अधिकारीले हड्ताल कहाँकहाँ गर्न पाइन्छ कहाँकहाँ गर्न पाइँदैन भन्ने सबै नेपाली नागरिक थाहा भएको भन्दै सञ्चालकहरुलाई सचेत गराए ।
उनले वायुसेवा सञ्चालक आफूहरुले भनेको काम गर्न पाइन भने बन्द गर्ने धम्की नगर्न आग्रह गरे । प्राधिरकणले २०५७ सालबाट अहिले १ सय रुपैयाँ सेवा शुल्क बढाउँदा बढी हुने तर हवाई भाडा २५ सयबाट १० हजार पुग्दासमेत कसैले बिरोध नगरेको उहाँले बताउनु भयो । महानिर्देशक अधिकारीले हवाई जहाज धनीले मात्रै चढ्ने भएकाले कसैले विरोध नदेखिएको समेत बताए ।
उनले भने,‘ मलाई लाग्दैन व्यवसायी साथीहरुले उडान बन्द गर्नुहुन्छ । उहाँहरु अत्यन्तै जिम्मेवार हुनुहुन्छ । उहाँहरु जिम्मेवारी पूर्वका प्रश्तुत हुनुहुनेछ । यो अतिआवश्यक सेवा हो । हड्ताल कहाँकहाँ गर्न पाइन्छ । कहाँकहाँ गर्न पाइँदैन नेपाली नागरिक सबैलाई थाहा छ । गर्नुहुन्न भन्नेमा म विश्वस्त छु । तर सबै कुरा आफूले गर्न पाइनँ भने म बन्द गरिदिन्छु भन्ने धङ्धङ्गे धम्की नपाल्दा हुन्छ । काठमाडौंबाट २०५७ सालमा विराटनगर गएको भाडा २५ सय रुपैयाँ थियो । आज १० हजार रहेको छ । प्राधिकरणले ०५७ सालमा २ सय रुपैयाँ लिएको थियो । अहिले ३ सय रुपैयाँ लिन्छ । क्षमता बढी भयो । वायु कम्पनीले २५ सय बाट १० हजार पु¥याउँदा कोही बोलेको छैन । जहाज चढ्ने भनेको पैसा भएका मान्छे चढ्ने रहेछन् । कसैले बिरोध गरेको छैन । गाडी भाडा बढ्द आन्दोलन हुन्छ ।’
महानिर्देशक अधिकारीले एउटै विमानस्थलमा सबै वायुसेवाको जहाज राख्न त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल रत्नपार्क नभएको बताए । उनले सबै विमान कम्पनीहरुले विमान थप्दै जाने हो भने विमान कसरी चलाउने भन्दै प्रश्नसमेत गरे । अधिकारीले विमानस्थल स्ट्याण्र्ड पार्किङ गर्ने ठाउँ भएकाले एउटै ठाउँमा उडान, पार्किङ हुँदा असहजता बढ्दै गएको बताए । उनले वायुसेवा कम्पनीहरुलाई उडान, पार्किङभन्दा पनि नीतिमा सहमति गर्न आग्रह गरे । उनले वायुसेवा कम्पनी पनि क्षमता र उडान समय थप्दै जानुपर्ने आवश्यकता रहेको बताए । अधिकारीले कम्पनीहरुले लाइलटहरु थपेर सेवालाई सुरक्षित बनाएमात्रै मुलुकको आर्थिक विकास रोजगारी सिर्जना हुने बताए ।

उनले भने,‘निजी वायुसेवा कम्पनीहरुले ६ बजे भन्दापछि थप पैसा तिरेर विमान सेवा दिइरहनु भएको थियो । हामीले तपाईहरु नतिर्नुस् हामी नै १२ बजेसम्म विमानस्थल खुल्ला राखिदिन्छौं भन्दा होइन १२ बजेसम्म हामी कहाँ चलाउने भन्नुभयो । जबकी उहाँहरुले पैसा बढी तिरेर चलाइराख्नु भएको थियो । यो के हो भने वायु कम्पनीहरुको पाइलट र एयरहोस्टेजको त्यही अनुसारको क्षमता ल्याउन सक्नुभएन । किनभने उहाँहरुसँग दुई सिफ्ट मात्रै छ । १२ बजेसम्म ६ घण्टा बढी विमान चलाउन तेस्रो सिफ्टमा फ्लाइलट बढी चाहियो । हाम्रो यो निर्णयले स्वदेशमा रोजगारीको अवसर पनि खोल्छ । कम्पनीहरुले पाइलट थप्नुप¥यो । क्षमता वायुसेवा कम्पनीहरुले पनि विकास गर्नुप¥यो । १८ घण्टा र २४ घण्टा विमानस्थल चलाउँदा प्राधिकरणले वार्षिक रुपमा ५० करोड खर्च गरेको अवस्था छ । कसको लागि खर्च गरेको छ, वायु कम्पनीहरुले काठमाडौंबाट नै सेवा दिनुपर्ने,१७ वटा विमानको ठाउँमा ५१ वटा कोच्न पाउनुपर्ने, दुई सिफ्टबाट तीन सिफ्ट बढाउँदिन पाइलट थप्दिन,रोजगारी दिन्न भन्न पाउनुपर्ने हो । यो सबै गरेपछि हवाई सुरक्षा बढ्यो । क्षमता र देशको अर्थतन्त्र बढ्यो । यस्ता कुरामा कुनै ध्यान छैन । यो कुरा हामीले भनिदिनुपर्ने कुरा हो । तिमी चन्द्रगण्डी, धनगडी जाउ भनेर मैले भन्नुपर्ने कुरा हो । यी सबै कुराहरुले हवाई क्षेत्रको दीर्घकालिन रुपमा क्षमता विकास नगरी नहुने कुरा हो । ल भन्नुस् अब बुद्धएयरले जहाज थप्दै हुनुहुन्छ ,यती वा अन्यले थप्दै हुनुहुन्छ । अहिले ५१ छ कोही बाहिर नजाने अब,१७को ठाउँमा ६० बनाउने ? जहाज कसरी चलाउने त ?यो विमानस्थल स्ट्याण्र्डर पार्किङ गर्ने ठाउँ हो , यो रत्नपार्क होइन । ट्याम्पो राखेजस्तो होइन यो । ट्याम्पो देख्नुभएको छ ४४ वटा बस छ । त्यो बस एउटा प्रयोग हुन्छ त्यो पनि २० मिनेट । जहाज छ एउटा बस छ दुईवटा । यात्रुहरुलाई म विमानस्थल भित्रछु भने जस्तो महशुस हुन्छ । यो अवस्थामा विमानस्थल चलाउन पाए खुशी हुने, अब हामी नीतिमा सहमति गरौं । विमानस्थलमा सेवा सुविधा थप्ने कुरा गरौँला । यो कुनै एउटा कम्पनीलाई च्यापेर गरेको निर्णय होइन सबैको लागि लागू हुन्छ ।’
महानिर्देशक अधिकारीले त्रिभुवन विमानस्थलको आन्तरिक तर्फको क्षमता १७ वटा विमान बस्ने भएको बताए । उनले १७ वटा क्षमता हुँदाहुँदै अहिले ४० वटासमेत विमान राखिने गरेको बताए । पार्किङ समस्या रहेकाले अब नेपालमा रहेका पूर्वदेखि पश्चिमसम्मका विमानस्थलमा ६६ प्रतिशत विमान बाहिर लगिने उनको भनाइ छ । अधिकारीले विमान कम्पनीहरुले जुन स्थानका लागि बेस लिएका हुन् सोही स्थानमा जानुपर्ने स्पष्ट पारे । उनले जुन विमान र होलिकोप्टर कम्पनीले एओसी लिने समयमा जुन स्थानका लागि बेस लिएका हुन् सोही स्थानमा राख्नुपर्नेमा क्यान स्पष्ट रहेको बताए ।
उनले भने,‘हाम्रो आन्तरिक विमानस्थलको क्षमता भनेको १७ वटा विमान बस्नसक्ने मात्रै हो । तर आज हाम्रोमा ३८ देखि ४० वटा जहाँ बसेको छ । एउटा जहाज नउडेसम्म अर्को जहाज उड्न नपाउने, जहाजलाई घिसारेर ल्याएर राख्नुपर्ने,पखेटा पखेटा ठोक्किने गरेको छ । हामी धेरै संवेदनशील क्षेत्रमा छौं । हवाई सुरक्षामा हामीले ध्यान दिनुपर्छ । केही भयो भने त्यसको जिम्मेवारी प्राधिकरणले बोल्नुपर्छ । अहिले जहाँ रात्रीकालिन विमानस्थल राख्नसक्ने क्षमता छन् । त्यो विमानस्थलको क्षमता अनुसार राखिनेछ । टिआइएमा ३३ प्रतिशत विमान राख्नसक्ने क्षमता छ । जसमा ६६ प्रतिशत विमान बाहिर चन्द्रगण्डीदेखि धनगडीसम्म राख्नुप¥यो ।’
महानिर्देशक अधिकारीले प्राधिकरणको निर्णय कुनै एउटा कम्पनी वा व्यक्ति विशेष नभएर समग्रलाई भएको बताए । उनले यो निर्णयले वायुसेवा व्यवसाय नै धरासाय हुने भयो भने प्राधिकरण सहयोग गर्न तयार रहेको बताए । अधिकारीले विमान कम्पनीहरुले प्राधिकरणको निर्णयमा कोसिस गर्नुपर्ने बताए ।
उनले भने,‘अहिलेको निर्णयले वायुसेवा व्यवसाय नै धरासाय हुने भयो भने अभिभावकको भूमिकाले आफूले हेर्न तयार छु । कोसिस नै नगर्ने । हवाइ क्षेत्रलाई बचाउनु सरकारको दायित्व हो त्यो गर्छ । तर उहाँहरुले प्रयास गर्नुपर्छ विगतमा कति गर्नुभयो । अब गर्ने वाला पनि छैन । निजी क्षेत्रले ४० अर्ब लगानी गर्नुभएको सम्मान गर्छु । उनीहरुलाई कुनै पनि अवस्थामा पेल्ने, प्यानिक बनाउने उद्देश्य होइन । ऋणकै कुरा गर्दा प्राधिकरण करिब ६० अर्ब ऋणमा विमानस्थलहरु बनाइरहेको छ । सरकार र निजी क्षेत्रको दुवैको लगानी भएकाले दुवैको भूमिका रहेको छ ।’
महानिर्देशक अधिकारीले नेपालको हवाई सेवा निजी र सरकार दुवैको महत्वपूर्ण योगदानको कारण अहिले यो स्थानमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्