जलवायु परिवर्तनको सबैभन्दा बढी असर महिलालाईः प्रदेश सांसद «

जलवायु परिवर्तनको सबैभन्दा बढी असर महिलालाईः प्रदेश सांसद

प्रदेश सांसदहरूले नेपालमा जलवायु परिवर्तनको असर डरलाग्दो बन्दै गएको भन्दै सचेत हुनुपर्ने बेला आएको बताएका छन् ।
नेपालमा पछिल्लो समय जलवायुजन्य परिवर्तनका कारण मानवजीवनमा ठूलो असर परिरहेको भन्दै त्यसतर्फ तीन वटै सरकार सचेत भएर काम गर्ने बेला भएको बताएका हुन् । जलवायु परिवर्तनको असर सबैभन्दा धेरै महिलालाई पर्ने गरेको विज्ञहरूको भनाइ छ । जलवायु परिवर्तनका कारण खानेपानीको मुहान सुक्नुले पानी लिन टाढा धाउनुपर्ने बाध्यता छ । जसकारण घरको काम गर्ने महिलाहरूमा झनै बढी कामको चाप थपिएको छ । यसको प्रत्यक्ष असर हिमाली र पहाडी भेगका महिलाहरूमा परेको छ ।
कर्णाली प्रदेश सांसद एवं कर्णाली प्रदेशकी सामाजिक विकास समितिकी अध्यक्ष देवी ओलीले जलवायु परिवर्तनको असर मानव विकासमा समेत परिरहेको बताए । उनले कर्णाली प्रदेशमा जलवायुका परिवर्तनका कारण भूक्षय, बाढीपहिरोको प्रकोप उच्च रहेको र विकासका पूर्वाधारहरू पनि पर्याप्त नभएको गुनासो गरे । अध्यक्ष ओलीले कर्णाली प्रदेशलाई हरेक हिसावमा विकास र सुसूचित पार्न गाह्रो रहेको बताए ।
उनले अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशको संस्कृति, स्थानीय भाषा, महिलाहरूको सामाजिक संरचना, कूरीति महिलाहरूप्रति सांस्कृतिक हिसाबले पनि धेरै बन्देजहरू रहेको बताए । समिति अध्यक्ष ओलीले कर्णालीमा अझै महिलालाई नेतृत्वदायी भूमिकामा विश्वास गरिहाल्ने अवस्था नरहेको भन्दै महिलाले पाए सबै काम गर्छन् भन्ने मासिकता परिवर्तन गर्न गाह्रो रहेको बताए । उनले महिलाहरू अनौपचारिक कार्यक्रममा धेरै उपस्थित हुन बन्देज रहनु अहिलेको वास्तविक समस्या रहेको बताए ।
उनले भने, ‘कर्णालीलाई अफ्ठ्यारो त पारेको छ । कर्णाली अहिले संघीयताको प्रणालीमा कस्तो छ भने हिजोको अञ्चल राप्तीका दुईवटा जिल्ला, भेरीका पनि दुईवटा जिल्ला र हिजोको कर्णाली तीनवटा अञ्चलका केही जिल्लाहरू र बाँकी कर्णाली सबै भनेर कर्णाली प्रदेश बनाइएको छ । रुकुम, दैलेखको एउटा कल्चर छ । राप्तीको र भेरीको पनि फरक छ । दैलेख र सुर्खेतमा परम्परागत कुरीतिहरू व्याप्त पाइन्छन् । अन्तरजातीय विवाहको कुरालाई लिएर हत्या भयो, यस्ता कुराहरू हाम्रो प्रदेशमा छन् । हिमाली डोल्पा, हुम्लातिर जाने हो भने बहुपति प्रथा त्यहीँ छ । कतिपय महिलाहरूले त पुरुषहरूले दुई श्रीमती ल्याउन पाउने हामीले पनि दुईजना श्रीमान राख्न पाउनुपर्छ नि । हाम्रो अधिकार हो, भन्नेपनि कति महिलाहरू छन् । त्यो हाम्रो संस्कृतिलाई हेर्दा असहज र अफ्ठ्यारो हो । महिलालाई नेतृत्वमा विश्वास गरिहाल्ने अवस्था छैन । पितृ सत्तात्मक संरचनाबाट हुर्किएको मानसिकता परिवर्तन गर्न एकदम गाह्रो छ । नेतृत्वदायी भुमिका खेलिसकेको छ भने कुनै क्षेत्रमा पनि समस्या हुँदैनन् । तर हरेक क्षेत्रमा महिलालाई सबै कुराको जिम्मेवारी सम्पादन गर्न सजिलो छैन । हामी धेरैजसो इन्फरमलमा जोडिँदै जोडिँदैनौँ । किनभने धेरै काम भनेको इन्फरमल भेटघाटबाट नै रहेछ । तर हाम्रो ध्यान औपचारिक कार्यक्रमहरूमा धेरै हुन्छ । त्यसकारणले महिलाहरूको सामाजिक संरचना, कुरीति महिलाहरूप्रति सांस्कृतिक हिसावले पनि धेरै बन्देजहरू छन् हामी नेपालीहरूसँग । बालविवाह अथाह बढीरहेको छ भन्छौँ, एकातिर प्रकृतिले अहिले बालबच्चाहरू छिटो हुर्किने अवस्था हो कि ? जलवायु परिवर्तनले त्यस्तो बनाएको हो कि ? अर्कोतिर २० वर्ष नहुँदासम्म विवाह नगर्ने कानूनि व्यवस्था छ । यौन सम्पर्ककै कुरा गर्ने हो भने विवाहपछि मात्रैलाई हाम्रो संस्कृतिले मान्यता दिने हो । नैतिकताको कुरा पनि छ त्यहाँ । त्यसैले महिलालाई नेतृत्व गरेर जान सबैलाई गाह्रो छ ।’


त्यस्तै बागमती प्रदेशकी सांसद एवं उद्योग, पर्यटन तथा वातावरण समितिकी सभापति रमा आलेमगरले पार्टीगत रुपमा नै नेतृत्व वर्गमा महिलाको बारेमा सोचाइ फरक रहेको बताए । उनले महिलालाई कुनै पनि जिम्मेवारी दिँदा पूरा गर्न सक्ने आधार तयार भइसके पनि नेतृत्व तहमा अझै महिलालाई नेतृत्व प्रदान गर्ने बुझाइमा विकास हुन नसकेको बताए । सभापति आलेमगरले निडरका साथ राम्रो काम गर्दा वयवधान आएपनि समाधान गरेर अघि बढ्ने आफ्नो कार्यको अनुभव रहेको बताए । उनले महिलाले नेतृत्व गरेको समितिमा बस्दा विषयवस्तु तयारी गरेर मात्रै बस्न बाध्य बनाउने स्थितिसम्म पु¥याएको बताए ।
उनले भने, ‘पार्टीगत रूपमा हाम्रो नेतृत्व वर्गमा महिलाको बारेमा सोचाइ फरक छ । महिलालाई जिम्मेवारी दिँदा काम गर्न सक्दैन भन्ने कुरा रहेको मैले महशुस गरेकी छु । हाम्रो पार्टीगत सिस्टमको नेतृत्व तहको दिमागमा त्यो कुरा छ । मैले काम गर्दाको अनुभूतिभन्दा काम गर्ने जिम्मेवारी र काम गर्ने ठाउँ पाउँदा, अवसर पाउँदा, महिलाले गर्न नसक्ने भन्ने चिज केही पनि छैन । किनभने महिलाले जहाँ अवसर पाउँछ, समस्या धेरै आउलान् तर त्यो समस्यालाई तहगत हिसाबले पूरा गर्दै अघि बढ्नसक्छ । मेरो समिति अन्तर्गतको मन्त्रालय मभन्दा ठूलो हो भनेर मैले उनले भन्नुभएको कुरा मान्नुपर्छ भनेको भए कहिल्यै मलाई यो आँट आउने थिएन । किनभने म सही कुरा गर्दैछु भन्ने सोचेर मैले सदैव त्यसमै दत्तचित्त भइरहेँ । निडरका साथ त्यसलाई मैले अघि बढाएँ । मैले वातावरण समितिसँग छलफलका लागि बस्दा तयारीकासाथ बस्नुपर्छ विषयवस्तुहरू भन्ने कुरासम्म मैले पु¥याएँ ।’
सभापति आलेमगरले प्रदेश सरकारले क्षणिक समाधान भन्दापनि जलवायु परिवर्तनबाट परेका असरहरू न्यूनीकरणका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताए । उनले गत वर्ष जलवायु परिवर्तका कारण मेलम्चीमा गएको बाढीको उदाहरण दिँदै यस्ता विपद्लाई कम गर्न प्रदेश, स्थानीय र संघीय सरकारले विशेष पहल गर्न आवश्यक रहेको बताए । सभापति आलेमगरले मेलम्चीमा दीर्घकालीन रूपमा धेरै तटबन्धन गर्नुपर्ने अवस्था रहेको भन्दै समयमै तटबन्धन नगरे यसको असर भयानक हुने बताए ।
उनले भने, ‘प्रदेश सरकारले छोटो समयको लागि सोच्नेभन्दा पनि दीर्घकालीन समस्या समाधानका लागि सोच बनाएको छ । क्षणिक समस्या समाधानका लागि वागमती प्रदेश सरकारले गर्नुपर्ने सहयोग राहत उपलब्ध गराएको नै मैले पाएकी छु । मेलम्चीमा दीर्घकालीन रुपमा धेरै तटबन्धन गर्नुपर्नेछ । यदी समयमै बनाइएन भने फेरिपनि त्यहाँको जमीन र संरचना त्यसलाई झनै क्षति पुग्ने अवस्था छ । तटबन्धनको रुपमा त्यसलाई अघि बढाउनुपर्छ । भत्किएका पार्क, भत्किएका खेल मैदान, भत्किएका स्वास्थ्य चौकीलाई अघि बढाउन हामीले प्रदेश सरकारलाई दीर्घकालीन रूपमा निर्देशन दिएको र त्यसमा कतिपय कुराहरूको डीपीआर तयार हुँदै र कतिपय ठाउँहरूको कार्य थालनी गर्ने प्रक्रियामा अघि बढेको छ । यो सिन्धुपाल्चोकको उदाहरण मात्रै हो । नारायणी नदीले काटेको तटबन्धनलाई संरक्षण गर्ने कुराहरूमा र अन्य ठाउँमा वर्षाका कारण भएका क्षतिलाई दीर्घकालीनरुपमा समितिबाट निर्देशनको रुपमा सरकारलाई सुझाव दिएका छौं ।’
सभापति आलेमगरले भत्किएका पार्क, भत्किएका खेल मैदान, भत्किएका स्वास्थ्य चौकीलाई अघि बढाउन पनि बागमती प्रदेश सरकारलाई निर्देशन दिएको बताए । उनले नारायणी नदीले काटेको तटबन्धनलाई संरक्षण गर्ने र अन्य ठाउँमा वर्षाका कारण भएका क्षतिलाई नियालेर दीर्घकालीन रूपमा समस्या निवारण गर्नुपर्नेमा प्रदेश सरकारले काम अघि बढाउन आवश्यक रहेको पनि बताए । जलवायु परिवर्तनका कारण नेपालमा हिमताल फुट्ने, खानेपानीको शंकट, चरणक्षेत्रहरू हराउनु, हिमालमा हिउँ नपर्नु जस्ता समस्याहरू देखिएका छन् । जलवायु परिवर्तनको असर विशेष गरेर नेपालमा महिला, दलित, आदिवासी, जनजाति, अल्पसंख्यक र सीमान्तकृत समुदायमा परेको छ । महिला तथा सीमान्तकृत समुदायहरूको जीविकोपार्जन तुलनात्मक रुपमा प्राकृतिक श्रोतमा बढी निर्भर छ । यी स्रोत जलवायु परिवर्तनका असरप्रति अति संवेदनशील रहेका कारण श्रोतहरूको उपलब्धता र गुणस्तरमा आएको क्रमिक ह्रास एवं क्षतिका कारणले ती क्षेत्रको जीवनस्तरमा प्रत्यक्ष असर पर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्