भारतमा सामसङलाई शाओमीले उछिन्यो «

भारतमा सामसङलाई शाओमीले उछिन्यो

स्मार्टफोनको बिक्रीमा विगत ६ वर्षसम्म पहिलो स्थानमा रहँदै आएको सामसङ अब लामो समयसम्म पहिलो स्थानमा नरहने भएको छ । २०१७ को चौथो त्रैमासिक अवधिमा चिनियाँ स्मार्टफोन निर्माता शाओमीले सामसङलाई दोस्रो स्थानमा धकेल्दै पहिलो स्थानमा कायम भएको तथ्यांकले देखाएको छ ।
गत वर्षको अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा शाओमीको झन्डै ८२ लाख स्मार्टफोन बिक्री भएको अनुसन्धानमूलक फर्म क्यानालिसको अनुमान छ । यो बिक्रीसहित शाओमीले भारतमा स्मार्टफोनका कुल बजारमा २७ प्रतिशतको हिस्सा ओगटेको छ । समान अवधिमा सामसङले ७३ लाख स्मार्टफोन बजारमा पठाएको छ । यो संख्यासहित सामसङको बजार हिस्सा २५ प्रतिशत कायम भएको क्यानालिसले जनाएको छ ।
“न्यून मूल्यको उत्पादनको पोर्टफोलियो बजारमा पठाउन सामसङ असफल भएकाले सामसङले पहिलो स्थान गुमाएको छ,” अनुसन्धानमूलक फर्मका विश्लेषक रुसब दोषीले बताए ।
भारतीय स्मार्टफोन बजारमा न्यून मूल्यको वृत्तमा मूल्य संवेदनशील मानिँदै आएको उपभोक्ताको मन जित्न सामसङ संघर्षरत अवस्थाबाट गुज्रेको उनले थपे ।
“राम्रो मूल्य अन्तरको प्रस्ताव गर्ने क्षमता र अफलाइन माध्यममा लगानी गर्न सफल भए बाबजुद सामसङका फोनका लागि उपभोक्ताको माग कमजोर छ,” दोषीले बताए ।
कुनै समय भारतीय उपभोक्तामाझ आफ्नो छाप छोड्न सफल भएको दक्षिण कोरियाली प्रविधि कम्पनीले आफ्नो साख पुनः फर्काउने प्रयास गर्ने भएकाले यो वर्ष पनि सामसङ र शाओमीबीचको शक्तिसंघर्षले निरन्तरता पाउने अपेक्षा उनले गरेका छन् ।
बजार अनुसन्धानमूलक फर्म काउन्टरप्वाइन्टले पनि बिक्रीका आधारमा भारतीय बजारमा शाओमी नै अगाडि भएको जनाएको छ । शाओमीले चौथो त्रैमासिक अवधिमा २५ प्रतिशतको बजार हिस्सा ओगटेको थियो भने सामसङले २३ प्रतिशतको बजार हिस्सा मात्रै ओगटेको काउन्टरप्वाइन्टले जनाएको छ । लेनोभो, भिभो र ओपोले भारतीय बजारमा ६-६ प्रतिशतको बजार हिस्सा ओगटेको फर्मले जनाएको छ ।
तर पूरै वर्षका आधारमा भने २४ प्रतिशतको बजार हिस्सासहित सामसङ नै पहिलो स्मार्टफोन कम्पनी बन्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्