रवि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी «

रवि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी

सञ्चारकर्मी रवि लामिछाने राजनीतिमा होमिएका छन् । मंगलबार राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरेर उनले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ खोल्ने घोषणा गरेका छन् ।
आगामी संसदीय निर्वाचनमा उम्मेदवारी दिने सोच बनाएर केही दिन अघिमात्रै सञ्चार कर्म छाडेका उनले मंगलबार दल घोषणा गरेका हुन् । दल घोषणासभालाई सम्बोधन गर्दै उनले अहिलेका राजनीतिक दलहरुबाट आशा मरिसकेकाले नयाँ दल घोषणा गर्नुपरेको बताए ।
उनले प्रश्न सोध्ने ठाउँबाट उत्तर दिने गाह्रो ठाउँमा आइपुगेको बताए । ‘फेसबुकको लाइकलाई भोटमा कन्भर्ट गर्न सहज छैन । प्रश्न सोध्ने सजिलो काम छोडेर उत्तर दिने गाह्रो काममा आइपुगेको छु । तर यो गाह्रो काम म सहजै फत्ते गर्न सक्छु,’ उनले भने ।
व्यवस्था परिवर्तन नभएर अवस्था बदल्न आफू राजनीतिमा होमिएको उनले बताए । दलहरुसँग कुराकानी गरे पनि अहिलेका दलबाट अपेक्षा नै नभएकाले धन्यवाद भन्ने अवस्थामा पुगेको उनको भनाइ छ । ‘म यहाँ अवस्था परिवर्तन गर्न आएको छु। मलाई कुनै व्यवस्था बदल्नु छैन, तपाईंहरुको अवस्था बदल्न आएको हुँ । राजनीतिक दलहरुसँग कुराकानी नगरेको होइन तर दलहरुलाई हेर्दा धन्यवाद भन्नुबाहेक अर्को विकल्प रहेन । मलाई प्रचण्ड, शेरबहादुर, केपी ओलीजीसँग केही प्रश्न छैन । जनयुद्धका योद्धा, मधेश आन्दोलनका योद्धासँग मेरो कुनै प्रश्न छैन । सबै राजनीतिक दलहरुसँग मेरो केही न केही कुरा भएको थियो । म आजका मितिसम्म नेपालमा दर्ता भएका कुनै पनि राजनीतिक दलमा प्रवेश गर्दिनँ,’ उनले भने ।

उनले प्रत्येक राजनीतिक दलभित्र राम्रा मान्छे भएको र तिनीहरुको सम्मान गर्न आफू नचुक्ने बताए । तर, ती राम्रा मान्छेहरुले हिम्मत गर्न नसकेको उनको भनाइ छ ।
उनले पार्टी सञ्चालनका लागि उद्योगी–व्यापारीसँग कहिलै चन्दा नलिने घोषणा गरेका छन् । व्यापारिक घरानाको चन्दाबाट होइन, सर्वसधारणबाट चन्दा संकलन गरेर पार्टी चलाउने योजना उनले सुनाएका छन् । यस्तै, उनले निर्वाचनमा उठ्न चाहने विकासको मोडल र सुशासनको मोडल देखाएन भने भोट नहाल्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्