बोइङसँगको मुद्दामा बमबार्डियर विजयी «
Logo

बोइङसँगको मुद्दामा बमबार्डियर विजयी

बोइङसँगको मुद्दामा क्यानेडियन वायुयान निर्माता कम्पनी बमबार्डियर विजयी भएको छ । यो विजयसँगै बमबार्डियर निर्मित सी–सिरिजका विमानमा २ सय ९२ प्रतिशतको भन्सार फिर्ता भएको छ । यो विमानको केही अंश बेलायतमा पनि निर्माण गरिन्छ ।
यो विमानको निर्माणका लागि बेलायत र क्यानडाले पक्षपातपूर्ण सहुलियत दिएको अमेरिकी वाणिज्य विभागले डिसेम्बरमा जनाएको थियो ।
बेलायती प्रधानमन्त्री थेरेसा मेले यो आदेशको स्वागत गरेकी छन् । यो आदेशले उत्तरी आयरल्यान्डमा हजारौ रोजगारी दिँदै आएको छ ।
तर, यो आदेशलाई अमेरिकी राष्ट्रपति ट्रम्पको ‘अमेरिका फस्ट’ व्यापार नीतिका लागि धक्का मानिएको छ ।
अमेरिकी प्रतिद्वन्द्वी बोइङले उजुरी दर्ता गरेपछि अगाडि बढेको यो मुद्दामा बमबार्डियरले हार्ने अपेक्षा सबैतिर गरिएको थियो ।
तर आश्चर्यजनक रूपमा अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोग (आईटीसी) ले क्यानेडियन फर्मको पक्षमा आदेश सुनाएको छ । मेले यो बेलायती उद्योगका लागि सुखद समाचार भएको बताएकी छन् ।
“बमबार्डियर र उसको आविष्कारीय कार्यबलले उत्तरी आयरल्यान्डको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ,” उनले बताइन् ।
आईटीसीले बमबार्डियरको पक्षमा ४–० ले मतदान गरेको छ । यसले अमेरिकी म्यानुफ्याक्चररलाई कुनै पनि चोट नपुराउने आईटीसीले जनाएको छ ।
अब अमेरिकी विमान सेवा कम्पनीले सी–सिरिजको विमान अर्डर गर्दा २ सय ९२ प्रतिशतको भन्सार लाग्नेछैन ।
बेलायतका झन्डै ५० कम्पनीले सी सिरिजको विमानका लागि पार्ट्सको आपूर्ति गर्दै आएका छन् ।
विमानको पंखा निर्माण हुने बेलफास्टमा विमानको सफलतामा १ हजार रोजगारी निर्भर रहँदै आएका छन् ।
यो निर्णय आविष्कार, प्रतिस्पर्धा र कानुनी शासनको दृष्टिकोणबाट विजय भएको बमबार्डियरका प्रवक्ताले बताए ।

प्रतिक्रिया दिनुहोस्