पर्यटन व्यवसायीद्वारा मन्त्री आलेको राजीनामा माग «

पर्यटन व्यवसायीद्वारा मन्त्री आलेको राजीनामा माग

पर्यटन व्यवसायीहरूले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको राजीनामा माग गरेका छन् ।
नेपाल पर्यटन व्यवसायी संघ (निट)का अध्यक्ष दीपक महत, नेपाल पर्यटन व्यवसायी संगठन संयोजक नमराज दाहाल, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष पूर्णबहादुर कुवँरद्वारा सोमबार हस्तलिखित संयुक्त वक्तव्य जारी गर्दै मन्त्री आलेको राजीनामा माग गरेको हो ।
संयुक्त वक्तव्यमा भनिएको छ, “आफ्नो पदयि मर्यादासम्मको याद नगर्ने, आफ्ना मान्छेहरूलाई जागिर खुवाउन अनावशयक दबाब दिने, अश्लील गालीगलौज गर्ने र हातपातसम्मका घटना घटाउने जस्ता दुष्कार्य गरेर गैरजिम्बेवार बनेका मन्त्री आलेलाई उनको पदीय जिम्बेवारीबाट तत्काल बर्खास्त गरी सरकार र पार्टीको छवि बचाउन प्रधानमन्त्री र सम्बन्धित पार्टीलाई अनुरोध गर्छांै ।”

आफ्ना कर्मचारीलाई गाली गर्ने, हातपात गर्ने जस्ता कार्य मन्त्रीबाट भएकाले नैतिकताको आधारमा तत्काल राजीनामा दिन पर्यटन व्यवसायीहरूको छाता संगठनहरू एक साथ सुझाव दिएका छन् ।
अतिथि देवो भव को मूल नारासहित सभ्यताको विकासद्वारा नेपाली जनताको जीवनस्तर उकास्ने उद्देश्य परिकल्पनाका साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई राज्यको तर्फबाट स्थापना गरिएको मन्त्रालयका मन्त्रीको व्यवहार नै यस्तो भएको प्रतिव्यवसायीहरूले खेद व्यक्त गरेका छन् ।

यस्तो महत्वपूर्ण मन्त्रालयको मन्त्री गरिमामय पदसम्म पुगेका वर्तमान मन्त्री प्रेम आलेले विगतदेखि वर्तमानसम्म प्रदर्शन गर्दै आएको हरकत सर्वसाधारणदेखि आफैं मातहतका कर्मचारी माथि व्यक्त गरेको असभ्य र अश्लील गाली बेइज्जती गुन्डागर्दी, पदीय मर्यादा र जिम्बेवारीलाई चटक्कै बिर्सेर आफ्ना कार्यकर्ताहरूलाई जागिरमा नलगाएको भन्दै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गर्नु दुव्र्यवहार अनैतिक कार्यले गर्दा नेपाल सरकारका मन्त्री प्रेम आले एकपछि अर्को विवादमा मुछिँदै स्वयम् इतिहासकै बदनाम मन्त्री बनेको वक्तव्यमा उल्लेख छ ।
यस घटनाले सरकार र हामी निजी क्षेत्रले समेत शिर निहिराउनु पर्ने लज्जास्पद अवस्था सिर्जना भएको भनेको छ । । समाजलाई सुसंस्कृत र असल आचरण सिकाउनुपर्ने मन्त्रीबाटै देखिने गरेका यस्ता अश्लील र अराजक अभिव्यक्ति र गुन्डागर्दीको व्यवहार सभ्य समाजका लागि स्वीकार्य नसकिने वक्तव्यमा भनिएको छ ।
आफू अध्यक्ष रहेको लुम्बिनी विकास कोषको गुरुयोजनाअनुसार आध्यात्मिक अभ्यासका लागि छुट्ट्याइएको लुम्बिनी ग्रामको चार बिघा क्षेत्रलाई मन परेको व्यवसायी कम्पनीसँग सिधै प्रस्ताव माग गरेर कुनै प्रक्रियाने पूरा नगरी व्यावसायिक रिसोर्टको अनुमतिको ठाडो आदेश दिने मन्त्री आलेको नियतमाथि पनि निजी क्षेत्र ससंकित रहेको भनिएको छ ।

यसर्थ केही समय पहिले आफ्नो विवादास्पद अभिव्यक्ति मात्रको कारण तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएको घटना ताजै भएकाले मन्त्री आलेले पनि राजीनामा दिनुपर्ने माग गरिएको छ ।

यसअघि उड्डयनसम्बन्धी विभिन्न प्राविधिक विषयको ज्ञान भएको भन्दै निजी वायुसेवा संघले प्रधानमन्त्री कार्यालयमा पत्रमार्फत मन्त्री आलेको अभिव्यक्तिप्रति ध्यानाकर्षण गराएका दिए । संघले पत्रमार्फत जानकारी नभएको विषयमा नबोल्न र प्राविधि ज्ञान लिएरमात्र बोल्न सुझाएको थियो । मन्त्री आलेले केही समयअघि संसदीय समितिमा पुराना विमान मात्र नेपालमा आयत भएको विवादस्पद अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्