Logo

आगामी आर्थिक वर्ष २०७९-०८० का लागि आयोजना हेरेर बजेट थपघट

गौरवका आयोजनामा बजेट घट्यो

सरकारले आगामी आर्थिक वर्ष २०७९-०८० का लागि आयोजना हेरेर बजेट थपघट गरेको छ । बजेटको अभावमा आयोजना कार्यान्वयन हुन नसकेको गुनासो आएपछि सरकारले आयोजना हरेर बजेट थपघट गरेको हो ।
सरकारले केही आयोजनामा देखिने गरी बजेट बढाए पनि केहीको बजेट कटौती गरिएको छ भने केहीमा सामान्य वृद्धि गरिएको छ । बजेट बढाउनु सकारात्मक भए पनि कुन आयोजनामा कति बजेट बढाइयो भन्ने कुरा महत्वपूर्ण हुने अर्थविद्हरु बताउँछन् ।
सरकारले आगामी आर्थिक वर्षका लागि दु्रत मार्गमा सबैभन्दा धेरै बजेट विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा ८ अर्ब ७५ करोड रुपैयाँ बराबरको बजेट रहेको दु्रत मार्गलाई आगामी वर्षका लागि ३० अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । आगामी तीन वर्षमा सम्पन्न गर्ने गरी सरकारले उक्त बजेट विनियोजन गरिएको हो । यसरी एक आयोजनालाई सम्पन्न गर्ने गरी बजेट बढाउनु भने सकारात्मक रहेको अर्थविद्हरुको तर्क छ ।
त्यस्तै सरकारले पुष्पलाल राजमार्गमा पनि १ अर्ब भन्दा बढीले बजेट बढाएको छ । चालू वर्षमा ८ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरिएको आयोजनामा आगामी वर्षका लागि ९ अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरिएको छ । अन्य आयोजनामा भने सरकारले निकै थोरै बजेट बढाएको छ । चालू वर्षमा ४ अर्ब ११ करोड विनियोजन गरिएको पूर्व–दक्षिण राजमार्गमा आगामी वर्षका लागि ४ अर्ब ६९ करोड बजेट छुट्याइएको छ भने मोनोरेल तथा मेट्रोरेल विकास कार्यक्रमका लागि छुट्याइएको बजेट भने घटाइएको छ । सरकारले चालू वर्षमा ६ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको आयोजनाको बजेट घटाएर ५ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
साथै बूढीगण्डकी जलविद्युत आयोजनामा समेत सरकारले बजेट घटाएको छ । उच्च प्राथमिकताका साथ हेरिएको आयोजनालाई सरकारले चालू वर्षमा ७ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको थियो । तर, आगामी आर्थिक वर्षका लागि केही घटाएर ७ अर्ब ९३ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै भेरी बबई बहुद्देश्यीय आयोजनामा पनि सरकारले बजेट कटौती गरेको देखिन्छ । ३ अर्ब ६ करोड रुपैयाँ विनियोजन गरिएको आयोजनामा बजेट कटौती गरी आगामी वर्षका लागि २ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
सरकारले हुलाकी राजमार्ग तथा पशुपति क्षेत्र विकास कोषको बजेटसमेत घटाएको छ । चालू वर्षमा ६ अर्ब ३९ करोड विनियोजन गरिएको हुलाकी राजमार्गलाई आगामी वर्षका लागि ६ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
निकै चासोका साथ हेरिएको निजगढ विमानस्थललाई समेत बजेटमा प्राथमिकतामा नराखिएको पाइएको छ । चालू वर्षमा ३६ करोड रुपैयाँ विनियोजन गरिएको विमानस्थलका लागि आगामी वर्षमा २६ करोड विनियोजन गरिएको छ । यसलाई लिएर पर्यटन मन्त्री प्रेम आलेले समेत असन्तुष्टि व्यक्त गरेका छन् ।
गल्छी–त्रिशुली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक, बबई सिँचाइ आयोजना, सिक्टा सिँचाइ आयोजना, रानी जमरा कुलरिया सिँचाइ आयोजना, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, लुम्बिनी विकास कोष जस्ता राष्ट्रिय गौरवका आयोजनाहरुमा भने सामान्य बजेट बढाएको छ ।
अर्थशास्त्री प्रा.डा. शिवराज अधिकारी बजेटको अभावमा नै ठूला आयोजनाहरु नबन्ने भएकाले प्राथमिकतामा राखेर सकिन लागेका आयोजनालाई धेरै बजेट र सुरुवाती चरणका आयोजनामा धेरै बजेट विनियोजन गर्नुपर्ने बताउँछन् । आयोजनाहरुमा कनिका छरेजस्तो बजेट छर्दा बजेट खर्च हुन पनि नसक्ने र भएको खर्चले आयोजना सम्पन्न गर्न समेत नसकिने उनको तर्क छ । “केही आयोजनाहरुमा बजेट बढेको त देखिन्छ तर के त्यो पर्याप्त छ भन्ने कुरा महत्वपूर्ण हो।” उनी भन्छन्, “केही आयोजनामा आवश्यकता अनुसारको बजेट विनियोजन गरेर सम्पन्न गर्नतर्फ लाग्नुपर्ने थियो ।”
राष्ट्रिय योजना आयोगका सदस्य डा. राम कुमार फुयाँल भने त्यसरी नै बजेटको विनियोजन गरिएको बताउँछन् । त्यसैले नै कुनै आयोजनामा बजेट बढेको र कुनैमा घटेको उनको तर्क छ । “हामीले सम्पन्न हुन लागेका आयोजनाहरुमा बजेट बढाएका छौं र भर्खर सुरुवाती चरणमा रहेका आयोजनाहरुमा बजेट घटाएका छौं,” उनले भने । सुरुवाती चरणमा धेरै बजेटको खाँचो नपर्ने भएकाले केही आयोजनाहरुको बजेट घटेको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्