पाठेघर क्यान्सर घटाउन कार्यबोझ न्यूनीकरणमा जोड «

पाठेघर क्यान्सर घटाउन कार्यबोझ न्यूनीकरणमा जोड

जुम्लाका ग्रामीण महिला पाठेघर क्यान्सरकै रोगबाट ग्रसित भएका छन् । बालविवाह, कार्यबोझ, समस्या लुकाउने कारणले ग्रामिण महिला पाठेघर क्यान्सरको पिडाबाट महिला ग्रसित भएका हुन् । गएको हप्ता जुम्लाको हिमा गाउँपालिकामा सञ्चालित स्वास्थ्य शिविरमा ४ सय ७४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्य १ सय २६ जना महिलामा पाठेघरसम्बन्धी समस्या देखिएको छ । २ सय ७० जनाको हाडजोर्नीसम्बन्धी समस्या देखाएको थियो । भने, ७८ जनाको भिडियो एक्सरे गरिएको थियो ।
तुलनात्मक रुपमा गाउँका महिला पाठेघर मुखको क्यान्सरबाट पीडित भएकाले कार्यबोझ घटाउने खालका कार्यक्रम ल्याउन जोड दिइने हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले बताए । उनले भने, “बालविवाह गर्ने, सानैमा बच्चा जन्माउने, कार्यबोझले महिला पीडित छन् । सबै उपचार गराउन अस्पतालमै जान सम्भव सक्दैनन् । त्यसैले नागरिकको आवश्यकतालाई मध्यनजर गरी गाउँमै शिविर सञ्चालन गरिएको हो ।”

ग्रामिण महिलाको कार्यबोझ नघटाई पाठेघर क्यान्सरको समस्या नघट्ने भएकाले आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा महिलासँग जोडेर उत्पादनशील क्षेत्रमा लगानी बढाउने नीति ल्याउने अध्यक्ष शाहीको भनाई छ ।
शिविरमा जचाएका १ सय २६ जना महिलाको महिलाको पाठेघरबाट सेतो पानी बग्ने, ढाड दुख्ने र तल्लो पेट दुख्ने र पाठेघरको मुखमा क्यान्सको सम्भावना रहेका जस्ता समस्या रहेको स्त्रीरोग विषशज्ञ डा.सोनम गुरुङले बताइन् । उनका अनुसार स्थानीय सरकारले बालबिवाह अन्त्य र कार्यबोझ घटाउने नीति ल्याएमा पाठेघर क्यान्सरको समस्या अन्त्य हुन्छ । भौगोलिक विकटता र अभिभावकै लापरबाहिका कारण जुम्लामा हाडजोर्नीका बिरामीहरु बढ्ने गरेका छन् । हिमामा संचालित शिविरबाट पनि सबैभन्दा बढी २ सय ७० जना हाडजोर्नीका समस्या भएका बिरामी भेटिएका छन् । पाठेघर क्यान्सरको सम्भावना देखिएका र जटिलखाले हाडजोर्नीका बिरामीलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि रेफर गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ डाक्टर पुजन रोकायाले बताए ।
हिमा सरकारले हरेक ३÷३ महिनाको फरकमा गाउँमै स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । गाउँमै संचालन भएको शिविर आगामी दिनमा नियमित शिविर सञ्चालन हुने कुराले स्थानीय उत्साहित भएका छन् । असारको ६ र ७ गतेका दिन निःशुल्क आँखा शिविर सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्