Logo

जिसस म्याग्दीमा एमालको प्यानल विजयी

जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा एमालेको प्यानल विजयी भएका छन् । जिसस प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।
आइतबार सम्पन्न निर्वाचनबाट जिसस प्रमुखमा नेकपा एमालेका उम्मेदवार राजकुमार थापा र उपप्रमुखको उम्मेदवार दिलकुमारी खत्रीले ७ मत प्राप्त गरी निर्वाचित भएको मूख्य निर्वाचत अधिकृत तेजनारायण पौडेलले जानकारी दिए ।
यसैगरी नेपाली कांग्रेस र माओवादीको गठबन्धनका तर्फबाट प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार मनकुमारी विश्वकर्मा र उपप्रमुखका उम्मेदवार सोहन श्रेष्ठले ५ मत प्राप्त गरेका थिए । गठबन्धनले अन्य जिसस सदस्यहरूमा मनोनयन दर्ता नगरेकाले एमालेका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।

एमालेको तर्फबाट प्रमुख पदमा निर्वाचित थापा बेनी नगरपालिका १ रत्नेचौरबाट वडा सदस्यमा निर्वाचित भएका थिए। यसैगरी उपप्रमुख पदको उम्मेदवार खत्री मंगला गाउँपालिका १ कुुहुँबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।
निर्विरोध निर्वाचित हुने सदस्यहरूमा कृष्णदत्त पौडेल पाध्या, श्रीप्रसाद गर्बुजा, देब गर्बुजा पुन महिला सदस्यहरू कविता वि.क, गौमति चपाई धनकुमारी सुनार र दलित वा अल्पसंख्यकबाट जानकी विश्वकर्मा निर्विरोध चयन मुख्य निर्वाचित अधिकृतको कार्यालयले जनाएको छ । जिसस प्रमुख निर्वाचित भएपछि थापाले संविधानले दिएको अधिकार प्रयोग गरेर सबै राजनीतिक दल र सबै पालिकासंग समन्वयकारी भूमिकामा जिल्लालाई अघि बढाउने प्रतिबद्धता जनाएका थिए ।
निर्वाचित प्रमुख, उपप्रमुख र सदस्यहरूको सोमबार सपथग्रहणका साथै पदभारग्रहणको कार्यक्रम राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक नगरपालिका सहित ६ वटा स्थानीय तह रहेको म्याग्दीमा १२ मतभार थियो । एमालेको ७ मत, गठबन्धनतर्फ कांग्रेसको ३ र माओवादीको २ मतभार रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्