चितवनमा नाडाको कर र भीसीटीएस प्रशिक्षण «

चितवनमा नाडाको कर र भीसीटीएस प्रशिक्षण

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र चितवन अटोमोबाइल्स एसोसिएसन, बागमती प्रदेशसँगको सहकार्यमा चितवनमा कर, भन्सार तथा भीसीटीएससम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ ।
कार्यक्रममा नाडाका अध्यक्ष धु्रवबहादुर थापाले आर्थिक वर्ष २०७९/०८० को बजेटले सवारी साधनको महशुलमा गरेको परिवर्तनले व्यवसायीहरुमा थप अन्यौल छाएको बताए । उनले देशमा विद्यमान तरलता अभावले व्यवसाय सञ्चालन गर्न कठिन हुँदै गएकोमा चिन्ता व्यक्त गरे । अध्यक्ष थापाले विश्वमा विद्युतीय सवारी साधनको प्रयोग अपरिहार्य भएकोले यसलाई व्यवस्थित गर्न सरकारले आवश्यक नीति नियमहरुको तर्जुमा गरेर थप रोजगारी सिर्जना गर्नुपर्ने बताए ।
सो क्रममा अध्यक्ष थापाले व्यवसायमैत्री नीति नियम ल्याउन सरकारलाई नाडाले दबाब दिँदै आएको सन्दर्भमा स्वच्छ व्यवसायको लागि समेत नाडाले आवाज उठाउँदै आएको बताए ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, भरतपुरका प्रमुख घनश्याम पन्थी, वीरगञ्ज भन्सार कार्यालयका निर्देशक हरिहर पौडेल, राजस्व अनुसन्धान विभागका कम्प्युटर अधिकृत पवन बस्नेत तथा चार्टड एकाउण्टेन निकेट अग्रवालले आ–आफनो विषयमा केन्द्रित रही प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण कार्यक्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्वय अनुप बराल, निलमणि पाठक, प्रकाश कपुरी तथा सोहन श्रेष्ठ समेतको उपस्थिति थियो । नाडाले गत २७ जेठमा लुम्बिनी अटोमोवाइल्स एसोसिएसन अफ नेपाल, गण्डकी प्रदेशको सहकार्यमा सोही प्रकारको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । नाडाले यही असार मसान्तसम्म ७ वटै प्रदेशमा यस्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्