भायानेटद्वारा १५ परिवारलाई निःशुल्क इन्टरनेट जडान «

भायानेटद्वारा १५ परिवारलाई निःशुल्क इन्टरनेट जडान

भायानेट कम्युनिकेसनले आफ्नो कर्पोरेट सामाजिक दायित्व अन्तर्गतको ’गुड विथ इन्टरनेट’ अभियान यो वर्ष पनि जारी राखेको छ । यो अभियान कोभिडको महामारीका कारण भएको लकडाउनको समयमा पैसाको अभावले इन्टरनेट जोड्न नसकी शैक्षिक अवसरबाट वञ्चित भएका विद्यार्थीलाई मद्दत गर्ने उद्देश्यले सुरू गरिएको थियो ।
ह्युमन्स अफ काठमाडौंले आफ्नो सामाजिक सञ्जालमार्फत काभ्रेबाट आफ्ना छोराछोरीलाई पढाउन काठमाडौं आएकी प्रतिभा दिदीले महामारीका कारण अनलाइन गएको समयमा आफ्नो छोरालाई पढाउन नसकेको कुरा लेखेको थियो । उक्त कुरा थाहा पाएपछि भायानेटले प्रतिभा दिदीको परिवारलाई इन्टरनेट दिएर सहयोग गरेको थियो ।
यसरी इन्टरनेट र पठन–पाठनबाट वञ्चित एउटा परिवारलाई गरिएको सहयोग नै गुड विथ इन्टरनेट नामक कर्पोरेट सामाजिक उत्तरदायित्व अभियानमा परिणत भयो । जसले पैसाको अभावका कारण इन्टरनेट र पठन–पाठनबाट वञ्चित परिवार र उनीहरूका बालबालिकाको शिक्षालाई इन्टरनेट दिएर सहयोग गर्छ ।

अहिलेको अवस्थामा इन्टरनेट कनेक्टिभिटी अझ व्यापक र सर्वसुलभ बन्दै गइरहेको छ । यद्यपि अझै पनि धेरै बालबालिकाहरू इन्टरनेटकै अभावमा गुणस्तरीय शैक्षिक अवसरहरूबाट वञ्चित छन्। त्यसैले भायानेट आफ्नो क्षमताले भ्याएसम्म धेरै भन्दा धेरै यस्ता परिवारसम्म पुगि सहयोग गर्न चाहन्छ ।
त्यसैले यो अभियानको दोस्रो वर्षमा चक्रपथको सडकमा फिटकिरी बोझो लगायतका जडिबुटी बेचेर आफ्ना चार छोराछोरी पढाउन खोजिरहेकी डल्ली दिदी, कपनमा पानीपुरी बेची आफ्नो छोरा र छोरी पढाइरहेकी अमला दिदी लगायतका १५ विभिन्न परिवारलाई कम्पनीले सहयोग गरेको छ ।
आगामी वर्षमा यस्ता धेरै परिवारलाई मद्दत गर्ने योजना बनाएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्