यति एअरलाइन्स कार्बन न्यूट्रल एअरलाइन्स बन्न सफल «

यति एअरलाइन्स कार्बन न्यूट्रल एअरलाइन्स बन्न सफल

यति एअरलाइन्स नेपालमै पहिलो पटक कार्बन न्यूट्रल एअरलाइन्स बन्न सफल भएको छ । जलवायु तटस्थताका लागि संयुक्त राष्ट्र संघको ‘ग्रिनिङ द ब्ल्यु’ भन्ने अवधारणालाई आत्मसात् गर्दै सन् २०१८ मा हरितगृह ग्याँस (जीएचजी) उत्सर्जनलाई घटाउन एअरलाइन्स सफल भएको हो ।
एअरलाइन्सले संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी) द्वारा सञ्चालित स्वतन्त्र कार्बन अडिट प्रक्रियामा सहभागी भएर एअरलाइन्सको कुल कार्बन उत्सर्जनको गणना गरी त्यसलाई घटाउन योजना बनाएको थियो । स्वतन्त्र कार्बन अडिटका अनुसार यति एअरलाइन्स्ले सन् २०१८ मा आफ्नो सम्पूर्ण उडान, बाहन र अन्य साधनसमेतबाट गरी १९ हजार ६ सय ६५ टन बराबर कार्वनडाइअक्साइड उत्सर्जन गरेको छ । कुल जीएचएस उत्सर्जनको ९९.९ प्रतिशत एअरलाइन्स्को उडान सञ्चालन वापत उत्सर्जन गर्दछ ।
सन् २०१७ र २०१८ को बीचमा कम इन्धन खपत हुने विमानको प्रयोग गरी प्रतिउडान किलोमिटर २०% घट्नुका साथै प्रतियात्री १२% ले कार्बन उत्सर्जन घटेको छ । यति एअरलाइन्स्ले जेटस्ट्रीम–४१ जहाजको सञ्चालन क्रमबद्ध रूपमा कम गर्दै एटिआर ७२–५०० जस्ता कम इन्धन खपत हुने विमानको सञ्चालन गरेर कम जीएचजी उत्सर्जन उत्पादन गर्न सफल भएको हो । जेटस्ट्रीम–४१ जहाजलाई क्रमशः हटाउँदै लैजाने नीति लिइएको छ । साथै जीएभचजी उत्सर्जनलाई कम गर्न कम्पनीले अपनाएका महत्वपूर्ण रणनीतिमा दक्ष उडान सञ्चालन गर्ने, ग्राउण्ड प्रक्रिया सुधार्नका लागि विमानस्थल संरचनाको पूर्वधारको सुधार गर्ने, सार्वजनिक जागरुकता सिर्जना गर्ने र कर्मचारी प्रशिक्षण दिनेजस्ता महत्वपूर्ण कुरा पर्दछन् ।
प्रमुखकार्यकारी अधिकृत उमेशचन्द्र राईका अनुसार नेपालमा सर्वाधिक ठूलो हवाई सञ्जालद्वारा सेवा सञ्चालन गर्दै आएको यति एअरलाइन्स आफ्नो ग्राहक सेवाको स्तर बढाउँदै आफ्नो तर्फबाट वातावरण संरक्षण गर्न निरन्तर रूपमा काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्