पेट्रोलियम पाइपलाइन असार मसान्तभित्र सम्पन्न हुने

रक्सौलदेखि अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन विस्तारको काम असार मसान्तभित्र सम्पन्न हुने भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले रक्सौलदेखि अमलेखगञ्जसम्मको ३६ दशमलव दुई किलोमिटर लामो पाइपलाइन विछ्याउन कार्य ८७ प्रतिशत सम्पन्न भएको जनाएको हो । बिहिबारि बसेको प्रतिनिधि सभामा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकलाई जानकारी गराउदैं उद्योग मन्त्रालयकी सचिव याम कुमारी अतिवडाले आउदो असार मसान्तभित्र अमलेखगञ्ज डिपोमा तेल खसाल्ने तयारी गरेको जानकारी दिइन् । उनले ३१ दशमलव पाँचकिलोमिटर लामो पाइपलाइन विछ्याउन काम सम्पन्न भइसकेको भन्दै पर्सा वन्यजन्तु आरक्षण क्षेत्रमा पाइपलाइन विछ्याउन काम सुरु भएको पनि जानकारी दिइन् । वन मन्त्रालयले पाइप विछ्याउने रुटमा पर्ने रुख कटानका लागि स्वीकृति नदिंदा पाइपलाइन विस्तारको काम लामो समय सम्म अलपत्र परेको थियो । मन्त्रालयकी सचिव खतिवडाले वन क्षेत्रमा पर्ने रुटहरुमा खाल्टो खन्ने काम सुरु भएको बताइन् । उनले ४ दशमलव पाँच किलोमिटर वन क्षेत्र मध्य एक किलोमिटर खाल्डो खन्ने काम सम्पन्न भएको जानकारी पनि दिइन ।
पाइपलाइन विछ्याउनका लागि ४ अर्ब ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएकामा ३ अर्ब २० करोड भारतले व्यहोर्ने सम्झौता भएको थियो । यस्तै, मन्त्रालयकी सचिव खतिवडाले मोतीहारी अमलेखगञ्ज एल पि ग्याँस पाइपलाइन निमार्ण एवमं गोरखपुरको सुनौली देखि भैरहवा सम्म प्राकितिक ग्याँस पाइपलाइन विस्तारको लागि भारत सरकारसँग छलफल सुरु गरेको पनि जानकारी दिइन् । उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले भारत भ्रमणको बेला एल पि ग्याँस पाइपलाइन निमार्णको प्रस्ताव गरेको बताइन् । उनले भारतसँग सर्लाही, चीतवन र धनुषालगायतका स्थानमा पेट्रोलियम पदार्थ भण्डारण क्षमता बढाउने विषयमा छलफल सुरु भएको पनि बताइन् ।
तर, बैठकमा समितिका सदस्यहरुले सरकारले नीतिगत समस्या समाधान नगर्दा पाइपलाइन विस्तार आयोजना लामो समयसम्म अलपत्र पर्ने गई ढिलो भएको भन्दै आलोचना गरेका छन् । यस्तै, समितिले पेट्रोलियम पाइपलाइन निमार्ण तथा भण्डारण स्थल अवलोकनका लागि व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिएको छ । सचिवालयले समितिले गर्ने अनुगमनमा बजेटको व्यवस्था गर्ने गरेको भएपनि समितिका सभापति विमलप्रसाद श्रीवास्तबले भने सबै व्यवस्था मन्त्रालयलाई मिलाउन निर्देशन दिएका छन् ।