सार्वजनिक यातायातमा ७.७ प्रतिशतसम्म बढ्यो भाडा «

सार्वजनिक यातायातमा ७.७ प्रतिशतसम्म बढ्यो भाडा

सरकारले अन्तरप्रदेश लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा ७.७ प्रतिशत भाडा वृद्धि गरेको छ । एक प्रदेशबाट अर्काे प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीमा ५.३० देखि ७.७ प्रतिशतसम्म भाडा बढेको हो ।
निगमले पेट्रोलियम पदार्थमा आइतबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य समयोजन गरेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायात यात्रुवाहक तथा मालवाहक सवारीमा ७.७ प्रतिशतसम्म भाडा समायोजन गरेको छ । विभागले सोमबार इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा समायोजन गर्दै भाडा समायोजन गरेको हो । यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९४ प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.७ प्रतिशत भाडा समायोजन गरेको जनाएको छ ।
सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले भाडा समायोजन गर्दै आएको छ । विभागले वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था ०७८ चैतदेखि लागू गरिएको थियो । नेपाल आयल निगमले आइतबार १६.३६ प्रतिशतसम्म मूल्य वृद्धि गरेकाले विभागले सोमबारबाट लागू हुने गरी भाडा समायोजन गरेको जनाएको हो । सरकारले वैज्ञानिक भाडादर (स्वचालित रुपमा) समायोजन हुने निर्णय सँगै इन्धनको मूल्यमा घटबढ हुनासाथ सवारीको भाडा समायोजन हुँदै आएको छ । ०७८ चैत १७ देखि ५ रुपैयाँसम्म इन्धनको मूल्यमा वृद्धि हँुदा सवारी भाडामा पनि वृद्धि हुने र इन्धनको मूल्यमा कमी आउँदा सवारीको भाडादरमा कम हुने गरी स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गर्ने निर्णय गरेको छ । यसो गर्दा इन्धनको मूल्यमा ५ रुपैयाँ तलमाथि हुनासाथ सार्वजनिक भाडादरमा परिवर्तन हुँदै आएको छ ।
दुई वा सोभन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली लागू हुने विभागले जनाएको छ । निगमले पेट्रोलियम पदार्थमा आइतबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको थियो । पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेल तथा मटीतेलमा प्रतिलिटर २७ रुपैयाँ वृद्धि गरेको निगमले एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । समायोजनसँगै पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजेल तथा मटीतेल प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १८५ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनको १०० डलरले वृद्धि गरी प्रतिकिलोलिटर १६४५ डलर कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्